Technology Khabar २३ पुष २०८१, मंगलवार
काठमाडौं ।
भूकम्पको धक्कालाई सामान्यतया रेक्टर स्केल वा म्याग्निच्युडले अंकित गरिन्छ। आज बिहान पनि तिब्बत केन्द्रबिन्दु भएर करिब ७ म्याग्निच्युडको भूकम्प आयो। नेपालबाट ७ म्याग्निच्युड भनिए पनि चीनले ६.८ म्याग्निच्युडको बताएको छ। यसअघि २०७२ सालमा आएको विनाशकारी भनेर चिनिएको भूकम्प ७.८ म्याग्निच्युडको रहेको थियो।
भूकम्प मापनका लागि प्राय सबै देशहरुले आफ्ना उपकरण अर्थात् सिस्मोमिटर राख्ने र भूकम्पको केन्द्र नजिक वा टाढा रहेका उपकरणले मापन गर्दा म्याग्निच्युड वा रिच्टर स्केलको अंक फरक देखिने हुन्छ।
सामान्यतया अमेरिकाको यूएसजीएस (युनाइटेड स्टेट्स जिओलोजिकाल सर्भे) लाई बढी आधिकारिक मान्ने चलन भए पनि आज तिब्बतमा आएको भूकम्पको आकार चीन वा तिब्बतकै भूकम्पमापन केन्द्रको तथ्याङ्कलाई आधिकारिक मान्नु पर्छ।
यसैलाई नेपालबाट एउटा, चीनबाट अर्को र अमेरिकाबाट अर्को आकार वा सामर्थ्यमा मापन हुन जान्छ। त्यसैले एउटै भूईँचालोको सामर्थ्य र आकारको अंक फरक फरक ठाउँमा फरक फरक देखिन सक्छ।
भूकम्पको धक्कालाई जनाउन कसैले म्याग्निच्युड र कसैले रेक्टर स्केलको प्रयोग गर्छन्। के यी दुवै एउटै हुन्? वा यी दुईमा केही तात्विक भिन्नता छन्? आउनुस् जानौं।
वैज्ञानिकहरूले सन् १९३० को दशकमा धेरै संवेदनशील भूकम्पमापक यन्त्र (सिस्मोमिटर) विकास गरे जसले छिटो चल्ने कम्प्युटरहरूको सहायताले व्यापक भूकम्पीय संकेतहरूलाई रेकर्ड र व्याख्या गर्न सक्षम बनायो। त्यस समयमा रिच्टर (जसलाई रेक्टर स्केलका नामले पनि चिनिन्छ) मापन विधि विकास गरिएको थियो।
रिच्टर वा रेक्टर स्केल नाम रहनुको पछाडि तत्कालीन वैज्ञानिक चार्ल्स एफ रिच्टरको योगदान रहेको छ। उनले सन् १९३५ मा भूकम्पको म्याग्निच्युड अर्थात् आकारका बारेमा पहिलोपल्ट कार्यपत्र प्रस्तुत गरेका थिए जसको नाम एन इन्स्ट्रुमेन्टल अर्थक्वेक म्याग्निच्युड स्केल थियो। यसै हिसाबले भूकम्पको आकार वा सामर्थ्यलाई रिच्टर स्केलमा मापन गर्न थालियो। उनको यो कार्यपत्र त्यस समयमा दक्षिणी क्यालिफोर्नियामा आएको भूकम्प मापनका आधारमा बनाइएको थियो।
यस्तो छ फरक
आइरिश डट ईडीयूका अनुसार रिच्टर स्केलको मापन सामान्यतया म्याग्निच्युड ५ भन्दा ठूला नहुने क्षेत्रीय भूकम्पहरूको लागि प्रभावकारी हुन्छ जुन १ हजार किलोमिटरभन्दा नजिकबाट आएका हुन्छन्।
उता मोमेन्ट म्याग्निच्युड भने ठूला भूकम्पहरूको लागि बढी प्रभावकारी हुन्छ। मोमेन्ट म्याग्निच्युडले ऊर्जा गणना गर्न धेरै तथ्याङ्कहरू (सिस्मिक मोमेन्ट) प्रयोग गर्छ। सिस्मिक मोमेन्टले सिस्मिक ऊर्जा, फल्ट लाइनको सरुवा, र चट्टानको कडा पनलाई संयोजन गर्छ।
म्याग्निच्युड भन्ने शब्द चार्ल्स एफ रिच्टरलाई एच ओ वुडले इन्टेन्सिटी स्केलभन्दा फरक हुने हिसाबले सुझाएका थिए। यो शब्दले अलग अलग ठाउँमा राखिएको सिस्मोमिटरले महसुस गरेको कम्पनको मात्रा र आकलन गरिएको क्षतिको आधारमा भूकम्पको अतिपनालाई वर्गीकरण गर्छ।
सिस्मोमिटरले यो सिद्धान्तमा काम गर्छ
सिस्मोमिटर इनर्शियाको सिद्धान्तमा आधारित उपकरण हो जसले भूकम्पीय तरंग वा कम्पन मापन गर्छ। यसले पेन्डुलम घडी जस्तो काम गर्छ।
यसमा भारी वजन भएको वस्तु (जसलाई इनर्शियायुक्त वस्तु भनिन्छ) स्प्रिङको सहायताले फ्रेममा झुन्ड्याइन्छ। जब जमिन भूकम्पका कारण हल्लिन्छ, फ्रेम पनि सँगै हल्लिन्छ। तर, भारी वजन भएको वस्तु इनर्शसियाका कारण स्थिर रहन्छ।
जमिनको हल्लाइ र इनर्शियायुक्त वस्तुको स्थिरताको बीचको सापेक्ष गति सिस्मोमिटरले रेकर्ड गर्छ। यो गति विद्युतीय संकेतमा रूपान्तरण गरिन्छ, जसलाई भूकम्पीय तरंगको परिमाण, आवृत्ति, र अन्य विशेषता पत्ता लगाउन प्रयोग गरिन्छ।
प्रकाशित: २३ पुष २०८१, मंगलवार