Technology Khabar २३ पुष २०८१, मंगलवार
काठमाडौं ।
ब्रसेल्सले सोमबार इलन मस्कको यस हप्ता एक्समा जर्मन चरम–दक्षिणपन्थी नेतासँग प्रत्यक्ष कुराकानी गर्ने विवादास्पद योजनालाई युरोपेली सङ्घ (इयु) कानून अन्तर्गत अनुमति दिइएको तर चुनावी हस्तक्षेप नियमहरूको सम्भावित उल्लङ्घनका लागि छानबिन गरिने बताएको छ।
एक्स सामाजिक मिडिया प्लेटफर्मका मालिक समेत रहेका विश्वका सबैभन्दा धनी व्यक्ति मस्कले जर्मन चान्सलर ओलाफ स्कोल्जसहित महादेशका नेताहरूमाथि शृङ्खलाबद्ध आक्रमणहरू गरेर युरोपभर आक्रोश निम्त्याएका छन्।
मस्कले फेब्रुअरी २३ मा हुने जर्मनीको आकस्मिक चुनावअघि अति–दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (एएफडी) लाई बलियो समर्थनको प्रस्तावन गरेका छन र बिहीबार पार्टी नेत्री एलिस वाइडेलसँग एक्समा छलफलको आयोजना गर्नेछन्।
उनको एक्स प्लेटफर्म पहिले नै इयुको ऐतिहासिक सामग्री कानून डिजिटल सर्भिसेज एक्ट (डिएसए) अन्तर्गत गैरकानूनी सामग्री र सूचना हेरफेरको प्रसारलाई कसरी सम्बोधन गर्दछ भन्ने बारेमा जाँचको दायरामा छ।
इयुका डिजिटल प्रवक्ताले एक्समा प्रत्यक्ष छलफल इयु नियमहरूको उल्लङ्घन नभएको बताए र डिएसएले ‘कुनै पनि प्रकारको सामग्री सेन्सर नगर्ने’ कुरामा जोड दिए।
“डिएसएको कुनै पनि कुराले प्लेटफर्मको मालिक वा कसैलाई पनि लाइभ स्ट्रिम होस्ट गर्न र आफ्नो व्यक्तिगत विचार व्यक्त गर्न निषेध गर्दैन”, प्रवक्ता थोमस रेग्नियरले ब्रसेल्समा पत्रकारहरूलाई भने, “श्री मस्कलाई इयुमा अनलाइन र अफलाइनमा आफ्नो व्यक्तिगत विचार, आफ्नो राजनीतिक विचार व्यक्त गर्ने अनुमति छ।”
तथापि रेग्नियरले एक्सको चलिरहेको जाँचमा ‘नागरिक संवाद र निर्वाचन प्रक्रियाहरूसँग सम्बन्धित क्षेत्रहरूमा शङ्कास्पद उल्लङ्घन समावेश छ’ भन्ने उल्लेख गरे।
उनले इयुले लाइभ स्ट्रिमको ‘सावधानीपूर्वक’ मूल्याङ्कन गर्नेछ र कुनै जोखिमहरू पहिचान भएमा यसलाई आफ्नो वर्तमान अनुसन्धानमा समावेश गर्न सक्ने बताए।
उनका अनुसार प्लेटफर्म मालिकहरूले ‘दुरुपयोग नभएको वा केही प्रकारका सामग्रीहरूलाई विशेषाधिकार नदिएको, वा एक प्रकारको सामग्रीलाई मात्र बढी दृश्यता नदिएको’ सुनिश्चित गर्नुपर्छ।
डिएसए अन्तर्गत प्रयोगकर्ताहरूलाई केही सामग्री नहेर्ने अधिकार छ । यसको अर्थ एक्सले प्रयोगकर्ताहरूलाई चाहेमा एएफडी वार्ताको कुनै पनि उल्लेख नदेख्ने विकल्प दिनुपर्छ । इयुले एक्सले अति–दक्षिणपन्थी सन्देशहरूलाई बढावा दिन आफ्नो एल्गोरिदम प्रयोग गर्छ कि भन्ने जान्न चाहन्छ।
जनवरी २४ मा इयुको कार्यकारी शाखा युरोपेली आयोगले जर्मन अधिकारी, नागरिक समाज सङ्गठनहरू र एक्सलगायत विश्वको सबैभन्दा ठूला डिजिटल प्लेटफर्महरूसँग जर्मनीको चुनावअघि अनलाइन जोखिमहरूबारे छलफल गर्नेछ।
इयुले सन् २०२३ डिसेम्बरमा एक्स विरुद्ध जाँच सुरु गरेको थियो।
सन् २०२४ जुलाईमा इयुले प्लेटफर्मलाई प्रमाणित खाताहरूका लागि नीलो चेकमार्कहरूले प्रयोगकर्ताहरूलाई भ्रममा पारेको, विज्ञापन पारदर्शिताको कमी भएको र अनुसन्धानकर्ताहरूलाई प्लेटफर्मको डाटामा पहुँच दिन असफल भएको औपचारिक आरोप लगाएको थियो। रासस/एएफपी
प्रकाशित: २३ पुष २०८१, मंगलवार