Technology Khabar २२ पुष २०८१, सोमबार
काठमाडौं ।
दक्ष युवाहरु स्वदेशमै बसेर काम गर्न अवसर र संभावनाहरु प्रसस्त रहेको नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष प्रा.डा. पदम बहादुर शाहीले बताएका छन्। स्वदेशमा प्राविधिक जनशक्तिहरुको माग दिनप्रतिदिन बढिरहेको बताउँदै काउन्सिल अध्यक्ष शाहीले हरेक क्षेत्रमा मेहनत र संघर्ष गर्ने युवाहरुले सफलता प्राप्त गर्ने बताए।
मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक) बाट सिभिल तथा सिभिल एण्ड रुरल इन्जिनियरिङ उत्तिर्ण १९ औं ब्याचका विद्यार्थीहरुलाई विदाई गर्दै प्रा.डा. शाहीले प्राविधिक जनशक्ति खासगरी इन्जिनियरहरुले स्वदेशमै राम्रा अवसरहरु पाउने जिकीर गरे।
‘विगतमा भन्दा अहिले इन्जिनियरिङ क्षेत्रमा स्कोप छ । तर, तपाईहरुले कलेजमा अध्ययन गरेको भन्दा बढ्ता मेहनत व्यवसायिक जीवनमा गर्नुपर्छ। इन्जिनियरिङ अध्ययन गर्दैगर्दा असाइनमेन्ट सब्मीट गर्नु भयो, रिपोर्ट बनाउनु भयो भाइबा गर्नुभयो। हामीले पनि त्यही गरेर आएका हौं । तर, तपाईको अबको जीवन भनेको नम्बरमा मुल्यांकन हुँदैन अब तपाईको जीवन एस र नोट हो। कि तपाई पास हुनुहुन्छ कि फेल हुनुहुन्छ,’ प्रा.डा. शाहीले भने।
आफ्लाई सफल बनाउन समाज र समय अनुसार व्यवसायिक रुपमा ज्ञान अनुसार सीप हुनुपर्ने भन्दै प्रा.डा. शाहीले विश्वविद्यालयको अध्ययनले ज्ञान दिन सकेपनि सीप नदिएको बताए।
‘विश्वको कुनैपनि विश्वविद्यालयले ज्ञान दिन्छ सीप दिँदैन, सीप सिक्नका लागि हरेक दिन आफ्नो फिल्डमा पढ्नु पर्छ । नयाँ कुरा जान्नैपर्छ।’
पूर्वसचिव तथा नेकका पुर्वप्राध्यापक मनिराम गेलालले नेपालको विकासमा इन्जिनियरहरुको भुमिका रहेको भएपनि सरकारी सेवामा पर्याप्त इन्जिनियरहरु नरहेको बताए। नयाँ जनशक्तिलाई अनुभवको अभाव भन्दै अवसर नदिँदा उनीहरु अवसरको खोजीमा बाहिरिँदै गएकोमा चिन्ता व्यक्त गर्दै उहाँले नयाँलाई पनि अवसर दिइनुपर्ने बताए।
‘हाम्रो पोलिसीमा कमजोरी छ। कन्सल्टिङ सर्भिसेसका लागि जनशक्ति माग गर्दा पनि १५/२० वर्ष सम्बन्धित विषयमा काम गरेको अनुभव चाहिने मापदण्ड राख्छौं। नयाँ गोल्डमेडलिस्ट र टपरहरु भने बजारमा काम खोज्दै बस्नुपरेको अवस्था छ। यसलाई चेञ्ज गर्न आवश्यक छ,’ उनले भने।
सुखी नेपाली समुन्नत नेपाल निर्माणका लागि दक्ष प्राविधिक जनशक्ति नै चाहिने भएकाले नयाँलाई अवसर दिइनुपर्ने उनको जोड छ।
गेलालले कामको मुल्यांकन गर्नेहरुको संख्या बढि र काम गर्नेहरुको संख्या कम हुँदा देशलाई घाटा भइरहेको बताए।
कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले कलेजबाट उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरुले व्यवसायिक क्षेत्रमा प्राप्त गर्ने सफलता नै कलेजको सफलता भएको बताउँदै व्यवसायिक क्षेत्रमा मर्यादा र अनुशासन कायम गरेर अगाडी बढ्न अनुरोध गरे।
कार्यक्रममा विद्यार्थीहरुलाई विभिन्न अवार्ड र पुरस्कारबाट सम्मानित गरिएको थियो । चेयरमेयर गोल्ड अवार्ड राजेन्द्र पौडेल र शीतल पाण्डेले प्राप्त गर्दा प्रोग्राम टपर अवार्ड भने राजेन्द्र पौडेल र शीतल पाण्डेले संयुक्त रुपमा र बिबेक भण्डारीले प्राप्त गरेका थिए।
प्रकाशित: २२ पुष २०८१, सोमबार