Technology Khabar २१ पुष २०८१, आईतवार
काठमाडौं ।
एफवान सफ्ट इन्टरनेसनल प्रालिको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडमा रहेको खाता ह्याक गरी रकम चोरी गरेको आरोपमा २४ जनाविरुद्ध मुद्दा दायर भएको छ।
एफवान सफ्ट इन्टरनेसनल प्रालिको सिटिजन बैंकमा रहेको खाताबाट गत असोजमा ३ करोड ५१ लाख ५० हजार ३७२ रुपैयाँ ह्याक गरेर विभिन्न व्यक्तिहरूको खातामा लगिएको बारेमा प्रहरीको साइबर ब्यूरोले गरेको अनुसन्धान गरिरहेको छ।
सिस्टम ह्याक गरेर चोरी गरेको आरोपमा ब्युरोले २४ जनालाई प्रतिवादी बनाउँदै जिल्ला अदालतमा शुक्रबार मुद्दा दायर गरेको हो।
कम्पनीको खाताबाट अनधिकृतरूपमा रकम निकालिएको भन्दै एफ वान सफ्टका तर्फबाट धीरजकुमार भुजेलले प्रहरीमा निवेदन दिएका थिए।
एफवान सफ्ट इन्टरनेसनलले बैंक तथा वित्तीय संस्थाको सफ्टवेयर निर्माण गर्दै बिक्री वितरण गर्दै आएको छ। सिटिजन्स बैंकको सफ्टवेयर पनि यही कम्पनीले तयार गरेको थियो। यसबापत प्राप्त हुने रकम जम्मा गर्नका लागि त्यही बैंकको दरबारमार्ग शाखामा खाता खोलिएको थियो।
एफवान सफ्ट ईसेवा वालेटको मूल कम्पनी हो भने यसले बैंकिङ लगायतका सफ्टवेयरहरु निर्माण गर्ने गर्दछ।
असोज १५ देखि १८ गतेको बीचमा आफ्नो खाताको रकम ह्याक गरेर निकालिएको कम्पनीको दाबी छ।
कम्पनीको निवेदनपछि अनुसन्धान गरेको साइबर ब्युरोले यसमा संलग्न रहेको आरोपमा ललितपुर १६ की ४० वर्षीय त्रिगुणरत्न वज्राचार्य, सिरहाको गोलबजारका २० वर्षीय राहुल ठाकुर, १९ वर्षका पुरुषोत्तम साह, सप्तरीको हनुमाननगरका २१ वर्षीय कृष्ण रमण राउत, राजविराजका ३१ वर्षीय सञ्जीवकुमार शर्मा, उदयपुरका २० वर्षीय कमल थापा मगर, २७ वर्षका दीपक थापा मगर, सुनसरीको धरानका २४ वर्षीय सन्देश राई, सुनसरीकै देवानगञ्जका २२ वर्षीय सागर कुमार साहलाई पक्राउ गरेको थियो।
ब्यूरोकाअनुसार विदेशबाट ह्याकरले सिस्टममै प्रवेश गरेर रकम चोरेको भेटिएको छ। तर प्रहरीले ह्याकरसम्म नपुगि हाल उक्त रकम आफ्नो खातामा ट्रान्सफर गर्नेहरुका विरुद्धमा मात्र मुद्दा दायर गरेको हो।
घटनामा संलग्न रहेका अरू १५ जना फरार रहेको ब्युरोले जनाएको छ। उनीहरूका विरुद्ध पनि मुद्दा दर्ता भएको छ। यसरी सिस्टम ह्याक गरेर विभिन्न व्यक्तिको खातामा ट्रान्सफर गरेको प्रहरीको दाबी छ।
प्रहरीकाअनुसार यसरी रकम ट्रान्सफर गर्न ५०० भन्दा धेरै वालेटहरु तथा खाताहरु प्रयोग गरिएको भेटिएको छ।
उनीहरूलाई विद्युतीय माध्यमबाट ठगी गरेको कसुरमा कारबाही गर्न र पीडितको रकम भराइदिन अदालत समक्ष माग गरिएको छ। यस कसुरमा ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
प्रकाशित: २१ पुष २०८१, आईतवार