तनहुँमा यातायात व्यवस्था कार्यालयको भवन बन्दै, भवन निर्माणका लागि पाँच रोपनी जग्गादान

Technology Khabar २१ पुष २०८१, आईतवार

तनहुँमा यातायात व्यवस्था कार्यालयको भवन बन्दै, भवन निर्माणका लागि पाँच रोपनी जग्गादान
Global IME Bank

काठमाडौं ।

यातायात व्यवस्था कार्यालय तनहुँको भवन निर्माणका लागि यहाँको एक परिवारले पाँच रोपनी जग्गा निःशुल्क दान गरेको छ। जिल्लाको बन्दीपुर गाउँपालिका–१ रिमाल्नी निवासी कृष्णराज अधिकारी र राधिका अधिकारीले रु दुई करोड मूल्य पर्ने जग्गा दान गरेका हुन्।

हालको चलनचल्तीको मूल्यअनुसार रु दुई करोड बढी मूल्यको जग्गा सहयोग गरेर अतुलनीय योगदान गरिएको कार्यालय प्रमुख गोपाल ओलीले बताए। “कार्यालय भाडामा रहेकाले नयाँ भवन बनेपछि सेवाग्राहीलाई सहज रूपमा सेवा प्रवाह गर्न सक्नेछौँ”, उनले भने, “जग्गा प्राप्तिका लागि मन्त्रिपरिषद्बाट निर्णय भएर आइसकेको छ।”

जग्गा अभावका कारण हाल भएको कार्यालयबाट सवारी जाँच र प्रदूषण जाँच पास गर्न नसकिएकाले जग्गा प्राप्तपछि सहज हुने कार्यालय प्रमुख ओलीले बताए। उनका अनुसार भूमि आयोगमा अभिलेखीकरण भइसकेकाले मालपोत कार्यालयमा रजिष्ट्रेसन पास गर्ने कार्य बाँकी छ। अधिकारी परिवारले यसअघि बन्दीपुर गाउँपालिका–१ को कार्यालय स्थापनका लागि आठ आना जग्गा निःशुल्क दान गरेको थियो।

गाउँ ठाउँमा विकास हुने र आमनागरिकलाई सेवा प्रवाहमा सहज गराउने उद्देश्यले पारिवारिक सहमतिमा जग्गा प्रदान गरिएको अधिकारीका छोरा रवीन्द्र अधिकारीले जानकारी दिए। उनले चारवटा सडकले जोडिएको र पृथ्वीराजमार्ग छेउमा जग्गा रहेकाले सेवाग्राहीलाई सेवा लिन सहज हुने विश्वास लिइएको बताए।

“हाम्रो परिवार शून्य तह (जिरो लेबल)बाट सङ्घर्ष गर्दै आएका हौँ”, अधिकारीले भने, “जग्गा जमिन प्रशस्त भएर दिएका होइनौँ, पुस्तौँसम्म परिवारको नाम रहने भएकाले मन फुकाएर दिएका हौँ।”

बुबा र दुई दाजुभाइले गरी २८ वर्ष साउदी, कतारलगायत देशमा काम गरेको बताउँदै उनले भने, “अहिले हामी दुवै दाजुभाइ कपडा फेन्सी पसल सञ्चालन गर्दै आएका छौँ, बुबाआमा कृषि पेसामा आबद्ध हुनुहुन्छ।”-रासस

Sajilo Visa

प्रकाशित: २१ पुष २०८१, आईतवार

तपाइको प्रतिक्रिया