Technology Khabar २१ पुष २०८१, आईतवार
काठमाडौं ।
नयाँ वर्षको शुरुवातमा एउटा रोचक खगोलीय घटना हुन गइरहेको छ। अन्तरिक्ष घटनाहरूमा रुचि राख्नेहरूले यस वर्षको सुरुमा ग्रहहरूको परेड हेर्न पाउनेछन्। यसलाई प्लानेटरी परेड भनेर चिनिन्छ।
यो घटना त्यसबेला हुन्छ जब सबै ग्रहहरू एक सिधा रेखामा देखिन्छन्। उनीहरुलाई हेर्दा परेडमा हिँडिरहेको जस्तो लाग्छ। त्यसैले यसलाई प्लानेटरी परेड पनि भनिन्छ।
यो परेड नेपालमा पनि देखिनेछ र यसलाई सो समयावधिमा हेर्न सकिनेछ।
प्लानेटरी परेड के हो?
ग्रहहरूको विशेष स्थितिमा ग्रहीय परेडहरू बन्दछन। जब पृथ्वी सहित धेरै ग्रहहरू सूर्यको एक छेउमा आउँछन्, आकाशमा एक रेखा देखा पर्दछ, जसलाई ग्रह संरेखण वा प्लेनेटरी अलाइनमेन्ट भनिन्छ। यसैलाई प्लानेटरी परेड भनिन्छ।
प्लानेटरी परेड कहिले हुनेछ?
नासाकाअनुसार, यो वर्ष अर्थात २०२५ मा ग्रहहरुको परेड दुई पटक देखिने छ। पहिलो पटक जनवरीमा देखिने छ भने दोस्रो पटक मार्चमा मात्रै देखिने छ।
प्लानेटरी परेड जनवरी २०२५
जनवरी २१ बाट ६ ओटा ग्रहको परेड करिब चार हप्तासम्म अन्तरिक्षमा देखिनेछ। यो परेडमा शुक्र, मंगल, बृहस्पति, शनि, वरुण (नेप्च्युन) र अरुण (युरेनस) ग्रहहरू समावेश हुनेछन्। यस अवधिमा यी सबै ग्रहहरू एकसाथ देखिनेछन् अर्थात यी सबै ग्रहहरु एउटै रेखामा देखिन्छन्।
नासाकाअनुसार यो महिनाभरी यी ग्रहहरुलाई हेर्न सकिनेछ। शुक्र, मंगल, बृहस्पति र शनिलाई कुनै उपकरणबिना नै हेर्न सकिने भएपनि वरुण (नेप्च्युन) र अरुण (युरेनस) हेर्न टेलिस्कोपको आवश्यकता पर्ने नासाले उल्लेख गरेको छ।
नेपालमा कहिले देखिन्छ प्लानेटरी परेड?
यदि तपाइँ नेपालबाट प्लानेटरी परेड हेर्न चाहनुहुन्छ भने, यो २१ जनवरी अर्थात माघ ८ गते पछि हेर्न सकिनेछ। यो रातीको पौने ९ बजेपछि देख्न सकिने बताइएको छ।
तर, यस्तो दृश्य नेपाललगायत विश्वका सबै भागमा समान रूपमा र अवस्थामा देखिनेछ।
प्लानेटरी परेड मार्च २०२५
दोस्रो पटक, ग्रहहरुको परेड मार्च २०२५ मा देख्न सकिन्छ। यस परेडमा बुध, शुक्र, मंगल, बृहस्पति, शनि, वरुण (नेप्च्युन), अरुण (युरेनस) ग्रहहरू समावेश हुनेछन्। यो प्लानेटरी परेड मार्च ८ अर्थात फागुन २४ गते हेर्नका लागि उपयुक्त समय हुनेछ।
नासाकाअनुसार राती भएसँगैको पहिलो दुई घण्टामा, तपाईंले दक्षिणपश्चिममा शुक्र र शनि, बृहस्पति उच्च माथि र पूर्व भागमा मंगल भेट्टाउनुहुनेछ।
नासाकाअनुसार ग्रहहरू सधैं आकाशमा लामो रेखामा देखिने “पङ्क्तिबद्धता” कुनै विशेष होईन। “कम सामान्य कुरा भनेको चार वा पाँचओटा चम्किलो ग्रहहरू एकैपटक देख्नु हो, जुन हरेक वर्ष हुँदैन,” नासाले भनेको छ।
नासाले प्लानेटरी परेडलाई खगोल विज्ञानमा प्राविधिक शब्द नभएको बताएको छ।
“के यो “प्लानेटरी परेड” हो? यो खगोल विज्ञानमा एक प्राविधिक शब्द हैन, त्यसैले यसलाई तपाईं के चाहनुहुन्छ सम्बोधन गर्नुहोस्!” नासाले भनेको छ।
प्रकाशित: २१ पुष २०८१, आईतवार