Technology Khabar २१ पुष २०८१, आईतवार
काठमाडौं ।
सामसङ ग्यालेक्सी एस२५ सिरिजको लन्चले ग्राहकहरूलाई ठूलो सरप्राइज दिनसक्ने देखिएको छ। कम्पनीले सार्वजनिक गर्ने मिति पुष्टि गर्न बाँकी भए पनि धेरैले यो जनवरी २०२५ मा हुने अनुमान गरेका छन्। यसैबीच यो ब्रान्डले चाँडै आधिकारिक रूपमा प्रस्तुत गर्ने तयारीमा उत्पादनलाई अन्तिम रूप दिइरहेको बुझिएको छ।
नयाँ रिपोर्टका अनुसार, सामसङले ग्यालेक्सी एस२५ सिरिजलाई एक प्रिमियम एआई सेवासँग बन्डल गर्नेछ। यो सेवा प्रयोगकर्ताहरूलाई ग्यालेक्सी एआई सुविधाहरूको फाइदा उठाउन मात्र नभई, नयाँ फोनमा लगानी गरिएको ठुलो रकमको लागि थप मूल्य प्रदान गर्नेछ।
न्युज १८ का अनुसार हालका वर्षहरूमा सामसङ र गुगलले विभिन्न उत्पादनहरूको लागि सहकार्य गर्दै आएका छन्। ग्यालेक्सी एस२५ फोनहरूमा जेमिनी एआईको प्रिमियम संस्करण उपलब्ध गराउनु उनीहरूको साझेदारीको अर्को संकेत हुनसक्छ।
यो सम्भावित अफरको विवरण एन्ड्रोइड अथोरिटीले सार्वजनिक गरेको छ। रिपोर्टका अनुसार गुगलको अप्रकाशित एपको बीटा संस्करणमा यो बन्डलको संकेत फेला परेको छ। रिपोर्टले थप उल्लेख गरेको छ कि जेमिनी एआई प्रिमियम बन्डल ग्यालेक्सी एस२५ का मोडेलहरू अनुसार फरक हुनेछ जसमा ३ महिनादेखि १ वर्षसम्मको अवधि समावेश हुनेछ जुन सम्भवतः अल्ट्रा भर्सनका लागि हुनेछ।
प्रकाशित: २१ पुष २०८१, आईतवार