Technology Khabar २१ पुष २०८१, आईतवार
काठमाडौं ।
एप्पलले आफ्नो भ्वाइस-असिस्टेन्ट सिरि प्रयोगकर्ताहरूको गोपनीयता उल्लङ्घन गरेको आरोपमा प्रस्तावित सामूहिक मुद्दा मिलाउन साढे ९ करोड डलर नगद तिर्न सहमति जनाएको छ।
मङ्गलबार राति क्यालिफोर्नियाको ओकल्यान्डस्थित संघीय अदालतमा प्रारम्भिक सम्झौता पेश गरिएको छ, जसलाई अमेरिकी जिल्ला न्यायाधीश जेफ्री ह्वाइटको अनुमोदन आवश्यक पर्छ।
रोयटर्सका अनुसार मोबाइल उपकरणका मालिकहरूले सिरि अनपेक्षित रूपमा सक्रिय भएपछि एप्पलले तिनका निजी कुराकानी रेकर्ड गरेको र विज्ञापनदाता जस्ता तेस्रो पक्षलाई ती कुराकानी पठाएको आरोप लगाएका छन्।
दुई मुद्दाकर्ताहरूले एअर जोर्डन जुत्ता र अलिभ गार्डन रेस्टुरेन्टको उल्लेख गर्दा ती उत्पादनका विज्ञापन देखा परेको बताए। अर्को व्यक्तिले आफ्नो चिकित्सकसँग निजी रूपमा छलफल गरेको सर्जिकल उपचारको ब्रान्ड नामको विज्ञापन देखेको बताए।
सामूहिक मुद्दाको अवधि १७ सेप्टेम्बर २०१४ देखि ३१ डिसेम्बर २०२४ सम्म रहनेछ। यो अवधि सिरिले “हे, सिरी ” सुविधा समावेश गरेपछि शुरु भएको थियो। यसले अवैध रेकर्डिङ गरेको आरोप लगाइएको छ।
मुद्दामा संलग्न करोडौँको हाराहारीमा रहेका सदस्यहरूले आइफोन र एप्पल वाचजस्ता प्रत्येक सिरि-सक्षम उपकरणका लागि २० डलरसम्म क्षतिपूर्ति पाउन सक्ने बताइएको छ। एप्पलले सहमतिमा कुनै गल्ती स्वीकारेको छैन।
क्युपरटिनो, क्यालिफोर्नियामा आधारित यो कम्पनी र यसको वकिलहरूले बिहीबार कुनै प्रतिक्रिया दिएका छैनन्। मुद्दाकर्ताका वकिलहरूले पनि तत्काल प्रतिक्रिया दिएका छैनन्। ती वकिलहरूले पौने ३ करोड डलरसम्मको शुल्क र ११ लाख खर्चका लागि रकम माग्न सक्नेछन्।
साढे ९ करोड डलर एप्पलको करिब नौ घण्टाको नाफासँग बराबर छ। एप्पलले आफ्नो पछिल्लो आर्थिक वर्षमा ९३ ७४ करोड डलरको शुद्ध आम्दानी गरेको थियो।
यस्तै प्रकृतिको मुद्दा गुगलको भ्वाइस-असिस्टेन्ट प्रयोगकर्ताहरूको तर्फबाट क्यालिफोर्नियाको सान होजे संघीय अदालतमा विचाराधीन छ। उक्त मुद्दामा पनि एप्पल मुद्दामा संलग्न कानूनी फर्महरूले प्रतिनिधित्व गरेका छन्।
प्रकाशित: २१ पुष २०८१, आईतवार