Technology Khabar १९ पुष २०८१, शुक्रबार
काठमाडौं ।
मानव जीवन फस्टाउने र बस्ती बसाउन सकिने सम्भावना भएको ट्रापिस्ट१ ग्रहको बाहिरी वायुमण्डल कार्बनडाइअक्साइडले भरिपूर्ण हुनसक्ने वैज्ञानिकहरुले आकलन गरेका छन्।
ट्रापिस्ट-१बी प्रणालीको सबैभन्दा भित्री पृथ्वी-जस्तो ग्रहले अन्ततः बाक्लो वायुमण्डललाई समर्थन गर्न सक्छ भन्ने नयाँ अनुसन्धानले देखाएपछि वैज्ञानिकहरुको यो आकला बाहिरिएको हो छ।
स्पेस डटकमका अनुसार एक आपसमा नजिकै रहेका सातवटा पृथ्वी आकारका ग्रहहरूको यो प्रणाली सन् २०१७ मा पत्ता लागेको थियो। पृथ्वीबाट केवल ४० प्रकाशवर्षको दूरीमा रहेको यस प्रणालीमा यी ग्रहहरू सन्तुलित रूपमा एकअर्कासँग नजिक छन्।
खगोलविदहरूले यी ग्रहहरूमा वायुमण्डल छ कि छैन भनेर पत्ता लगाउन प्रयास गर्दै आएका छन्, किनभने वायुमण्डल जीवको अस्तित्वका लागि महत्त्वपूर्ण हुन्छ।
जेम्स वेब स्पेस टेलिस्कोप (जेडब्लूएसटी) बाट भएका पहिलेका अवलोकनहरूले होस्ट तारा (मुख्य तारा) द्वारा निस्किएको हिंसात्मक विकिरणले यी ग्रहहरूको वायुमण्डल नष्ट गरिसकेको हुन सक्छ, जसले तिनीहरूलाई निरा, वायुमण्डलविहीन चट्टान बनाएको छ भन्ने संकेत गरेका थिए।
तर ट्रापिस्ट-१बी प्रणालीको सबैभन्दा भित्री ग्रह ट्रापिस्ट-१बी सम्बन्धी जेडब्लूएसटीको डाटा नयाँ तरिकाले विश्लेषण गर्दा यो ग्रहसँग हल्का धुवाँले भरिएको कार्बन डाइअक्साइड-युक्त वायुमण्डल हुन सक्ने सम्भावना देखिएको छ।
अर्कोतर्फ नयाँ मापनले ट्रापिस्ट-१बी को सतहको अप्रत्याशित रूपमा उच्च तापक्रम पनि देखाएको छ, जसले यो ग्रहमा ज्वालामुखी क्रियाकलाप सक्रिय रहेको हुन सक्ने सङ्केत दिन्छ।
ट्रापिस्ट-१बी र शनि ग्रहको चन्द्रमा टाइटनबीच समानता?
ट्रापिस्ट-१बी ग्रह र शनि ग्रहको सबैभन्दा ठूलो चन्द्रमा टाइटनबीच समानता हुन सक्छ भन्ने प्रश्नले नयाँ खोजहरूको ध्यान खिचेको छ।
यसअघि जेम्स वेब स्पेस टेलिस्कोपबाट १५ माइक्रोमिटरको तरङ्ग लम्बाई अर्थात् वेभलेन्थमा गरिएको मापनले ट्रापिस्ट-१बी मा कार्बन डाइअक्साइड-युक्त बाक्लो वायुमण्डलको सम्भावना अस्वीकार गरेको थियो। कार्बन डाइअक्साइडले यस तरङ्ग लम्बाई प्रकाशलाई बलियो रूपमा सोस्ने भएकाले यो अवलोकनमा विकिरणको मात्रा घटेको देखिनुपर्ने थियो।
यस आधारमा ट्रापिस्ट-१बी वायुमण्डलविहीन चट्टानी ग्रह भएको र यसमा तारकीय अर्थात् स्टेलर विकिरण र उल्का प्रहारहरूले जीवन-अनुकूल वातावरणलाई समाप्त गरिसकेको निष्कर्ष निकालिएको थियो।
तर हालै १२.८ माइक्रोमिटर तरङ्ग लम्बाईमा गरिएको नयाँ मापनले यस ग्रहमा केवल कार्बन डाइअक्साइड-युक्त वायुमण्डल हुन सक्ने मात्रै देखाएको छैन बरु त्यस वायुमण्डलमा अत्यधिक बाक्लो तुवाँलो पनि हुन सक्छ भन्ने संकेत गरेको छ।
वैज्ञानिकहरूको भनाइमा उक्त तुवाँलोले ग्रहको माथिल्लो वायुमण्डललाई तल्लो तहहरूको तुलनामा बढी तातो बनाउँछ। यसले कार्बन डाइअक्साइडलाई प्रकाश उत्सर्जन गर्न उत्प्रेरित गर्न सक्छ, जसले गर्दा पहिलेका अवलोकनहरूमा अपेक्षित प्रकाश कमी नदेखिएको लाइभसाइन्सले उल्लेख गरेको छ।
बेल्जियमका वैज्ञानिक केयु ल्युभेन र अध्ययनका सह-लेखक लीद्द डेसिन ले भने, “ट्रापिस्ट-१बी का दुई अलग-अलग तरङ्ग लम्बाईमा अवलोकनले हामीलाई यसको वायुमण्डलको सम्भावनाबारे वैकल्पिक परिदृश्यहरू अन्वेषण गर्न अनुमति दिएको छ।”
ट्रापिस्ट-१बी को वायुमण्डलको गतिको तुलना टाइटनसँग गरिएको भए पनि अध्ययनका सह-लेखक मिचेल मिनले भने, “ट्रापिस्ट-१बी को वायुमण्डलको रसायन टाइटन वा सौर्यमण्डलका अन्य चट्टानी पिण्डहरूसँग पूर्ण रूपमा फरक हुने अपेक्षा गरिएको छ। यो यस्तो प्रकारको वायुमण्डल हुन सक्छ, जुन हामीले कहिल्यै देखेका छैनौं।”
अनुसन्धाताहरूले अहिले ग्रहको सतहमा तापक्रम कसरी वितरण भइरहेको छ भन्ने अध्ययन गरिरहेका छन्। यसले वायुमण्डलको अस्तित्व पुष्टि गर्न मद्दत गर्नेछ। युनिभर्सिटी अफ लिइज बेल्जियमका खगोलशास्त्री र ट्रापिस्ट-१बी ग्रहहरू पत्ता लगाउने टोलीका प्रमुख मिचेल गिलनले भने, “यदि वायुमण्डल छ भने, ग्रहको दिनपक्षीय भागबाट रातपक्षीय भागसम्म तापक्रम वितरण हुनुपर्छ। वायुमण्डल नभए तापक्रम वितरण न्यूनतम हुने थियो।”
यो अनुसन्धान “नेचर एस्ट्रोनोमी” जर्नलमा सोमबार डिसेम्बर १६ मा प्रकाशित भएको लाइभसाइन्सले उल्लेख गरेको छ।
प्रकाशित: १९ पुष २०८१, शुक्रबार