Technology Khabar १७ पुष २०८१, बुधबार
काठमाडौं ।
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमा ‘अनलाइन जागिर’ को आवरणमा आउने विभिन्न धोखाधडीपूर्ण लिंकहरुबारे सचेत रहन सबैमा आग्रह गरेको छ। ब्युरोले आज एक विज्ञप्ति जारी गर्दै प्रविधिको सुरक्षित प्रयोग गर्न सबैमा अनुरोध गरेको हो।
ब्युरोका अनुसार हिजोआज फेसबुक, इन्स्टाग्राम, टेलिग्राम, व्हाट्सएप मेसेञ्जर भाइबर लगायतका सोसल प्लेटफर्महरुमा अनलनाइन जबको आवरणमा प्रायोजित विज्ञापनहरू मार्फत विभिन्न किसिमका लिंकहरु पठाइने गरेको छ।
यसरी ती लिंकहरुमार्फत् धोकापूर्ण तरिकाले प्रलोभनमा पारी ठगी हुने घटनाहरू अत्याधिक रुपमा बढिरहेको प्रति साइबर ब्यूरोको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।
यसबाहेक ईसेवा तथा खल्तीजस्ता विभिन्न वालेट तथा बैङ्क/वित्तिय संस्थाबाट बोलेको भनेर ओटीपी मागी पैसा ट्रान्सफर गर्ने, गिफ्ट प्याकेज, अपुताली, अनलाइन मार्केटप्लेस/ अनलाइन शपिङ/ अनलाइन पीटीई डेट बूकिङ, अनलाइनमा कोठा भाडामा खोजिदिने लगायतका अन्य विभिन्न अनलाइन सेवाहरू प्रदान गरिदिने बहानामा ठगी गर्ने प्रवृत्ति पनि बढ्दो छ।
‘ठगीका क्रममा व्यक्तिगत बैङ्किङ खाता भाडामा दिने (मनी म्यूल एकाउन्ट) जस्ता प्रवृत्ति समेत बढिरहेकोले आम जनमानसमा यस्ता विज्ञापनहरूमा विश्वास नगर्न, आ-आफ्ना व्यक्तिगत बैङ्किङ खाताको सही सदुपयोग गर्नका साथै प्रविधिको सुरक्षित प्रयोग गर्न सम्पूर्ण सचेत नागरिकहरूमा साइबर ब्यूरो हार्दिक अनुरोध गर्दछ’, ब्यूरोले विज्ञप्तिमा उल्लेख गरेको छ।
प्रकाशित: १७ पुष २०८१, बुधबार