के सामाजिक सञ्जाल र इन्टरनेटमा राखिएका तस्बिरहरूले हाम्रो सोचाइमा असर पार्छन्?

Technology Khabar १७ पुष २०८१, बुधबार

के सामाजिक सञ्जाल र इन्टरनेटमा राखिएका तस्बिरहरूले हाम्रो सोचाइमा असर पार्छन्?
माइक्रोसफ्ट कोपाइलट डिजाइनरद्वारा बनाइएको
Global IME Bank

काठमाडौं ।

सोशल मिडिया र इन्टरनेटमा हामीले हेर्ने तस्बिरहरूले हाम्रो संसारलाई हेर्ने दृष्टिकोणमा ठूलो प्रभाव पार्छ। दैनिक रूपमा हामी डिजिटल तस्बिरहरूले घेरिएका हुन्छौं। यी तस्बिरहरू हाम्रो सोशल मिडिया फिड, सर्च नतिजा, र ब्राउज गरिने वेबसाइटहरूमा देखिन्छन्।

मेसेजिङ एप्स र इमेलमार्फत पनि मानिसहरूले हामीलाई तस्बिरहरू पठाउँछन्। एक अनुमान अनुसार दिनभरमा अर्बौं तस्बिरहरू इन्टरनेटमा अपलोड र सेयर गरिन्छ। इन्टरनेट प्रयोगकर्ताले औसतमा प्रतिदिन ६ घण्टा ४० मिनेट समय बिताउने एउटा रिपोर्टले देखाएङ्को छ।

तस्बिरहरूले धारणामा पार्ने प्रभाव

हालैको अनुसन्धानले तस्बिरहरूले हाम्रो सोचाइ र धारणामा असर पार्न सक्छ भन्ने देखाएको छ। यो वर्षको सुरुमा प्रकाशित एउटा अध्ययनमा गूगल, विकिपीडिया, र इन्टरनेट मुभी डाटाबेस (आईएमडीबी) मा भएका तस्बिरहरूको विश्लेषण गरिएको थियो।

बीबीसीका अनुसार विशेष गरी “किसान”, “सीईओ”, र “टीभी रिपोर्टर” जस्ता पेशाको खोजी गर्दा कुन लिंगका व्यक्तिको तस्बिर बढी देखिन्छ भन्ने अध्ययन गरिएको थियो। नतिजा चकित पार्ने खालका थिए।

महिलाको प्रतिनिधित्व निकै कम थियो भने पुरुष र महिलाप्रति रूढिवादी सोच झल्किने खालका तस्बिरहरू देखिन्थे। जस्तै, प्लम्बर, डेभलपर, र सर्जनजस्ता पेशामा पुरुषका तस्बिर बढी थिए भने नर्स, हाउसकीपर, र डान्सरजस्ता पेशामा महिलाका तस्बिर बढी देखिए।

एआईमा पनि पूर्वाग्रह

अनलाइनमा रहेका तस्बिरहरू एआई (आर्टिफिसियल इन्टेलिजेन्स) मा पनि प्रयोग हुने भएकाले समस्याले थप गम्भीर रूप लिन्छ। उदाहरणका लागि एक पटक च्याटजीपीटीलाई विभिन्न पेशाका तस्बिरहरू बनाउन अनुरोध गर्दा अधिकांश नतिजामा गोरा, जवान पुरुषका तस्बिरहरू मात्र देखिएका थिए।

यो समस्या एआई मोडेलले पहिले नै पक्षपाती डाटाहरू प्रयोग गरेर नतिजा देखाउने हुँदा झनै बलियो बन्दै जान्छ।

समाधान के?

यो समस्याको समाधानका लागि प्राविधिक कम्पनीहरूले ध्यान दिनुपर्छ। तर कम्पनीहरूले सुधारको प्रयास गरे पनि कहिलेकाहीँ समस्याको समाधान झन् जटिल देखिन्छ। व्यक्तिगत रूपमा हामीले पनि सचेत हुनुपर्छ। विविध पृष्ठभूमिका व्यक्तिहरूलाई फलो गर्ने, सामाजिक सञ्जाल प्रयोगमा नियन्त्रण गर्ने, र अनलाइनमा समय कम बिताउने जस्ता कदमले केही हदसम्म सहयोग पुर्‍याउन सक्छ।

डिजिटल डिटक्सको महत्त्व

कला उद्यमी मरीन ट्याङ्गुईले डिजिटल डिटक्सको महत्त्वमा जोड दिँदै “द भिजुअल डिटक्स” पुस्तकमा सामाजिक सञ्जाल प्रयोग सीमित गर्न सुझाव दिएका छन्। यसमा अनावश्यक एप्स हटाउने, स्क्रीन टाइम घटाउने, र बाहिरी वातावरणमा समय बिताउने उपाय सुझाइएको छ।

तसर्थ, सचेत भई इन्टरनेट र सामाजिक सञ्जालको प्रयोगलाई सीमित गर्न सकिएमा हाम्रो सोचाइ र धारणालाई सकारात्मक दिशामा लैजान सकिन्छ।

Sajilo Visa

प्रकाशित: १७ पुष २०८१, बुधबार

तपाइको प्रतिक्रिया