Technology Khabar १३ पुष २०८१, शनिबार
काठमाडौं ।
नेपाल टेलिभिजन र रेडियो नेपाल एकीकृत रूपमा सार्वजनिक सेवा प्रसारण संस्था (पिएसबी) मा रूपान्तरण भएसँगै प्रसारण गरिने सामग्रीको प्राथमिकता र एकरूपताका बारेमा संयुक्त रूपमा छलफल सुरू भएको छ।
सार्वजनिक सेवा प्रसारणमार्फत पस्कने विषयवस्तुलाई कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा नेपाल टेलिभिजन र रेडियो नेपालका समाचारकर्मीले शुक्रबार छलफल गरेका हुन् । दुवै संस्था एकीकृत भएर पिएसबीमा परिणत भएसँगै समाचार कक्षको प्राथमिकता, संरचना र शैलीमा एकरूपता ल्याउन गर्नेुपर्ने कामका बारेमा आजको छलफल केन्द्रित थियो।
‘सार्वजनिक सेवा प्रसारणमा समाचार : विषयवस्तु जिम्मेवारी र जवाफदेहिता’ विषयक एक दिने कार्यशालाको सुरु गर्दै सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा महेन्द्र विष्टले पिएसबीको उद्देश्य र नीति अनुरूप समाचार सामग्री परिमार्जन गर्न दुवै निकायका समाचारकर्मीलाई सुझाव दिए। प्रसारणको विषयवस्तु संस्थाको नीतिले मार्गदर्शन गर्ने बताउँदै उनले अब प्रसारण हुने सामग्री जनताप्रति केन्द्रित हुनुपर्नेमा जोड दिए।
सार्वजनिक सेवा प्रसारण नेपालका नवनियुक्त निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले सार्वजनिक सेवा प्रसारणको उद्देश्यअनुसार समाचारको प्राथमिकता निर्धारण गर्न पुरानो सोचाइलाई हटाएर दृष्टिकोण नै नयाँ बनाउनुपर्ने बताए।
सार्वजनिक सेवा प्रसारण नेपालअन्तर्गत रेडियो नेपालका नायब कार्यकारी निर्देशक खगेन्द्र खत्रीले पिएसबीको उद्देश्य पूरा गर्न जनसरोकारका विषयलाई महत्व दिनुपर्ने विचार राखे।
सार्वजनिक सेवा प्रसारण र समाचारका प्राथमिकता, सम्पादकीय स्वतन्त्रता, जनउत्तरदायित्व, संरचना, प्रस्तुति र शैलीलगायत विविध आयामका बारेमा सञ्चार विज्ञ रघु मैनालीसँग समाचारकर्मीले अन्तरक्रिया गरेका थिए। विज्ञ मैनालीले समाचारमा ‘हाइरेकी ब्रेक’ गर्दै जनता केन्द्रित बन्ने अवसर पिएसबीले जुटाएको बताए।
सरकारले नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभेर सार्वजनिक सेवा प्रसारण ऐन ल्याएसँगै अहिले यी दुवै संस्थाभित्र पिएसबी अनुरूपको आन्तरिक परिवर्तन र संस्थागत संरचनाको बारेमा व्यापक तयारी भइरहेको जनाइएको छ। रासस
प्रकाशित: १३ पुष २०८१, शनिबार