अन्तरङ्ग साथीबाटै अनलाइन हिंसामा किशोरकिशोरी तथा युवायुवती पर्ने गरेको रिपोर्ट सार्वजनिक

Technology Khabar ११ पुष २०८१, बिहीबार

अन्तरङ्ग साथीबाटै अनलाइन हिंसामा किशोरकिशोरी तथा युवायुवती पर्ने गरेको रिपोर्ट सार्वजनिक
Global IME Bank

काठमाडौं ।

पछिल्लो समय अनलाइनमार्फत नजिकका व्यक्ति (अन्तरङ्ग साथी) बाट हुने हिंसा र यौन दूर्व्यवहार बढ्दो क्रममा रहेको देखिएको छ। यस्तो किसिमको अनलाइन हिंसाको बारेमा बालबालिका तया युवाहरु बेखबर रहेको तथ्यांक सार्वजनिक भएको छ।

बालबालिका लागि सुरक्षित इन्टरनेट बारे काम गर्दै आएको संस्था चाइल्डसेफनेटले बिहीबार सार्वजनिक गरेको “अनलाइन इन्टिमेट पार्टनर भ्वाइलेन्स एगेन्स्ट टिन्स एण्ड योङ्ग पिपुल इन नेपाल” नामक रिपोर्टले सुनसरी जिल्लामा अनलाइन मार्फत अन्तरङ्ग साथीद्वारा हुने हिंसा अधिक रहेको देखाएको छ। सुनसरीमा ५८ प्रतिशत किशोरकिशोरी र युवायुवतीले अन्तरङ्ग साथीबाट धेरै हिंसा भोगेका उल्लेख छ।

१६ वर्षदेखि २४ वर्षसम्मका ४ हजार ३५२ जना किशोरकिशोरी तथा युवायुवतीहरूलाई समावेश गरिएको सर्वेक्षण रिपोर्टले अनलाइनमार्फत अन्तरङ्ग साथीबाट हिंसामा परेको देखाएको हो।

संस्थाकाअनुसार सातै प्रदेश अन्तर्गत १० जिल्लाका १३ पालिका छनोट गरेर उक्त हिंसाबारे अनुसन्धान गरिएको थियो। अनुसन्धान गरिएका जिल्लाहरुमा सुनसरी, पर्सा, काठमाडौँ, चितवन, दाङ, झापा, लमजुङ, कास्की, डोटी र सुर्खेत रहेका छन्।

उक्त रिपोर्टमा १६ देखि १८ वर्षसम्मकालाई किशोरकिशोरी र १८ देखि २४ सम्मकालाई युवा मानेर अनुसन्धान गरिएको छ। १८ वर्षमुनिका किशोरकिशोरीहरू हिंसाबाट धेरै पीडित रहेको तथ्याङ्क देखिएको छ। यस्तै हिंसा भोग्नेमा महिला भन्दा बढी पुरुष रहेको पाइएको छ। यसअनुसार २७ प्रतिशन पुरुष रहेका छन भने २१ प्रतिशत महिला रहेका छन्।

किशोरकिशोरी वा युवायुवतीहरूलाई उनीहरूका पूर्व प्रेमी वा प्रेमिकाले धम्क्याएको, गाली गलौज गर्ने गरेको लगायतका हिंसा अधिक हुने गरेको उल्लेख छ।

यस्तो हिंसामा परेका किशोरकिशोरी वा युवायुवतीहरूले त्यसलाई हिंसा नमान्ने गरेको र हिंसामा पर्दा पनि सामान्य रुपमा लिने गरेको तथ्यांकले देखाएको छ।

यसैगरी सोसल मिडियामा पासवर्ड साटासाट गर्नु, यौनजन्य कार्यको लागि सिमित समयको लागि सम्बन्धमा रहनु लगायतले उच्च हिंसा बढाउने देखाएको छ।

अध्ययनले पीडितलाई उल्टै दोष दिने प्रवृत्ति, पीडित केन्द्रित दृष्टिकोण र सहायताको अभाव, र अपर्याप्त तथा फितलो कानुनी संरचनालगायतका प्रणालीगत कमजोरीहरू उजागर गरेको छ । यसले बहु–क्षेत्रीय जिम्मेवार निकायहरू र सरोकारवालाहरूलाई किशोर किशोरी र युवाहरूलाई अनलाइन आईपीभीबाट सुरक्षित राख्नका लागि आआफ्ना भूमिका निर्वाह गर्न आग्रह गर्दै सिफारिसहरू प्रस्तुत गरेको छ।

यसले शिक्षा, चेतना अभियानहरू, नीतिगत सुधारहरू, र बलियो कानुनी संरचनाहरूको साथै अभिभावक र विद्यालयहरूले अनलाइन सुरक्षाको लागि प्रभावकारी काम गर्नुपर्ने सिफारिस गरेको छ।

एसभीआरआइसँगको सहकार्यमा चाइल्डसेफनेटले उक्त अध्ययन गरेको हो। कार्यक्रममा चाइल्डसेफनेटका संस्थापक अध्यक्ष अनिल रघुवंशीले यस्तो प्रकारको अनुसन्धान नेपालमा मात्र नभई विश्वमानै पहिलो भएको जानकारी दिएका थिए।

अध्ययनका मुख्य निष्कर्षहरू
  • सम्बन्धको स्थितिः ४०.५% सहभागीहरूले हाल वा विगतमा अनलाइनको माध्यमबाट अन्तरंग सम्बन्ध भएको बताएका थिए ।
  • अनलाइन IPV को गम्भीरता : अन्तरंग सम्बन्धमा रहेका चारमध्ये एक व्यक्तिले आफूमाथि अनलाइन IPV भएको बताएका थिए ।
  • वयस्क र नाबालिगबीचका सम्बन्धहरू : ११% सहभागीहरूले वयस्क र नाबालिगबीचको सम्बन्ध रहेको जनाएका थिए ।
  • भौगोलिक प्रवृत्ति : सुनसरी जिल्लामा उच्चतम अनलाइन IPV रहेको पाइयो । अध्ययनमा सहभागीमध्ये सुनसरी जिल्लाका ३८% ले आफूमाथि अनलाइन IPV भएको जानकारी गराएका थिए ।
  • उमेर र जोखिम : किशोरकिशोरीहरु (१६–१७ वर्ष) र युवाहरु (१८–२४ वर्ष) दुवै उमेर समूहका सहभागीहरु समान रुपमा अनलाइन IPV को जोखिममा थिए । तर तुलनात्मक रुपमा युवा सहभागीहरूमा दुव्र्यवहार र हिंसाका व्यवहारलाई पहिचान गर्न र तिनबाट जोगिन सक्ने क्षमता रहेको पाइयो ।
  • सम्बन्धको अवधि : लामो सम्बन्धको तुलनामा ६ महिनाभन्दा कम समय सम्बन्धमा रहेकाहरू IPV को उच्च जोखिममा रहेको पाइयो ।
  • हिंसाको निरन्तरता : अध्ययनका ४६% सहभागीले अनलाइन र अफलाइन दुवै प्रकारका IPV को सामना गरको बताए ।
  •  LGBTIQA+ समुदाय : यस समुदायका युवाहरु विशेष रूपमा अनलाइन डेटिङ एपहरू चलाउने गरेको कारण जोखिममा पर्ने गरेका छन् ।
Sajilo Visa

प्रकाशित: ११ पुष २०८१, बिहीबार

तपाइको प्रतिक्रिया