Technology Khabar ११ पुष २०८१, बिहीबार
काठमाडौं ।
कम्प्यूटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले पहिलो पटक महिला अध्यक्ष प्राप्त गर्ने भएको छ। क्यान महासंघको ३१ औं वार्षिक साधारणसभा तथा १५ औं महाधिवेशनबाट संस्थाले पहिलो महिला अध्यक्षको रुपमा सुनैना घिमिरे पाण्डेलाई पाउने भएको हो।
क्यान महासंघको आशन्न निर्वाचनका लागि अध्यक्ष पदमा बुधबार ३ बजेसम्म नाम दर्ता गर्ने समय भित्र पाण्डेको मात्र नाम दर्ता भएको निर्वाचन समितिले उल्लेख गरेको छ।
यस महाधिवेशनबाट क्यान महासंघले नयाँ नेतृत्व हासिल गर्नेछ। जसको लागि निर्वाचन प्रकृया जारी रहेको र शुक्रबारसम्म नाम फिर्ता गर्ने अवधि तोकिएको छ।
यस पटक क्यान महासंघको नेतृत्वका लागि पाण्डेको मात्र उम्मेदवारी परेसँगै उनी निर्विरोध निर्वाचित हुने भएकी हुन्।
उनि निर्विरोध भएपनि औपचारिक घोषणा भने पुस १३ गते हुने निर्वाचनपछि मात्र हुनेछ।
तत्कालिन समयमा उपाध्यक्ष रहेकी पाण्डेले २०७६ सालको निर्वाचनमा नवराज कुँवरसँग अध्यक्ष पदका लागि प्रतिस्पर्धा गरेकी थिईन्। त्यस समयमा पाण्डेकै समूहमा रहेका रणजित पोद्दार हाल अध्यक्ष रहेका छन्।
पोद्दार २०७९ मा भएको निर्वाचनमार्फत निर्विरोध निर्वाचित भएका थिए। अध्यक्ष पोद्दारले अर्को साता नयाँ अध्यक्षको रुपमा निर्विरोध निर्वाचित पाण्डेलाई पद हस्तान्तरण गर्नेछन्।
अध्यक्ष पद बाहेकका लागि भने निर्वाचन प्रतिस्पर्धा हुने देखिएको छ। निर्वाचन यहि पुस १३ गते शनिबार दिउँसो २ बजेपछिको समयका लागि तोकिएको छ।
क्यानको संरचनाअनुसार पदाधिकारीहरुका लागि सदस्य पदमा निर्वाचित हुनुपर्नेछ भने त्यसपछि मात्र सदस्यहरु बीच अन्य पदहरुका लागि निर्वाचन हुनेछ।
सूचना प्रविधिको क्षेत्रमा २५ वर्षभन्दा लामो समयदेखि कार्यरत पाण्डे कम्प्युटर एसोसिएसन महासंघ (क्यान महासंघ)की पहिलो महिला उपाध्यक्ष भईसकेकि छन्।
उनी जनरल टेक्नोलोजी प्राइभेट लिमिटेडकी प्रबन्ध निर्देशक हुन्।
क्यान महासंघमा बार्षिक साधारण सभा तथा महाधिवेशनबाट निर्वाचित गर्नु पर्ने ३९ सदस्यीय कार्य समिति मध्ये अध्यक्ष– १ प्रत्यक्ष निर्वाचनबाट हुने गर्दछ भने सदस्यहरु ३८ मध्ये ब्यक्तिगत समूह सदस्यहरुबाट १० जना, सँस्थागत समूह सदस्यहरुबाट १० जना, बिषयगत समूहबाट ४ जना र जिल्ला शाखाबाट प्रदेशगत रुपमा १४ गरि जम्मा ३८ जना तथा लेखा समिति सदस्यहरु ३ मध्ये ब्यक्तिगत समूह सदस्यहरुबाट १ जना, सँस्थागत समूह सदस्यहरुबाट १ जना र जिल्ला शाखा समूहबाट १ निर्वाचित हुनेछन्।
यस्तो छ उम्मेद्वारहरुको नामावली-
उम्मेदवारको नामाबली प्रकाशन सम्बन्धमा । - 25 Dec 2024प्रकाशित: ११ पुष २०८१, बिहीबार