Technology Khabar ११ पुष २०८१, बिहीबार
काठमाडौं ।
इरानी अधिकारीहरूले मेटाको मेसेजिङ प्लेटफर्म ह्वाट्सएप र गुगल प्लेमाथिको प्रतिबन्ध हटाएका छन्। यो इन्टरनेट प्रतिबन्धलाई कम गर्नतर्फको पहिलो कदम भएको इरानको राज्य सञ्चारमाध्यमले मंगलबार जनाएको छ।
इस्लामिक गणतन्त्र इरानमा विश्वकै कडा इन्टरनेट पहुँच नियन्त्रण छ। तर फेसबुक, ट्विटर र यूट्युबजस्ता अमेरिकी सामाजिक मिडियामा लगाइएको प्रतिबन्ध प्रायः प्रविधिमा निपुण इरानीहरूले भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) को प्रयोग गरी पार गर्दै आएका छन्।
“ह्वाट्सएप र गुगल प्ले जस्ता केही लोकप्रिय विदेशी प्लेटफर्महरूमा पहुँचमा लगाइएको प्रतिबन्ध हटाउन सकारात्मक बहुमत प्राप्त भएको छ,” इरानको आधिकारिक समाचार एजेन्सी आईआरएनएले राष्ट्रपतिमा भएको बैठकलाई उद्धृत गर्दै जानकारी दिएको छ। यो बैठक राष्ट्रपति मसुद पेजेश्कियानको नेतृत्वमा भएको थियो।
इरानका सूचना तथा सञ्चार प्रविधि मन्त्री सत्तार हसिमिले भने, “इन्टरनेट प्रतिबन्ध हटाउन आज पहिलो कदम चालिएको छ।”
इरानमा सरकारविरोधी प्रदर्शनहरूमा सामाजिक मिडिया प्लेटफर्महरूको व्यापक प्रयोग गरिएको थियो। सेप्टेम्बरमा संयुक्त राज्य अमेरिकाले इरानजस्ता इन्टरनेट कडा नियन्त्रण गर्ने देशहरूमा अनलाइन सेन्सरसिपलाई पन्छाउन सहयोग गर्न ठूला प्रविधि कम्पनीहरूलाई आग्रह गरेको रोयटर्सले उल्लेख गरेको छ।
प्रकाशित: ११ पुष २०८१, बिहीबार