Technology Khabar १० पुष २०८१, बुधबार
काठमाडौं ।
भिभो वाई२९ फाइभजी भारतमा आधिकारिक रुपमा सार्वजनिक भएको छ। यो एक इन्ट्रि–लेभल फाइभजी फोन यस वर्षको जनवरीमा आधिकारिक भएको भिभो वाई२८ फाइभजीको उत्तराधिकारीको रूपमा आइपुगेको बताइएको छ।
भिभो वाई२९ फाइभजीको स्पेसिफिकेसन र फिचर
भिभो वाई२९ फाइभजीमा ६.६८ इन्चको एलसीडी पञ्च–होल स्क्रिन रहेको उल्लेख छ जसले एचडी+ रिजोल्युसन र १२० हर्ज रिफ्रेस दर प्रदान गर्दछ। त्यसैगरी सुरक्षाको लागि, यसमा साइड माउन्टेड फिङ्गरप्रिन्ट स्क्यानर समावेश गरिएको छ।
वाई२९ मा सेल्फी र भिडियो कलहरूको लागि ८ मेगापिक्सेलको क्यामरा समावेश गरिएको छ। साथै वाई२९ को पछाडिको भर्टिकल क्यामरा सेटअपमा ५० मेगापिक्सेलको मुख्य क्यामरा, ०.०८ मेगापिक्सेलको अक्सिलरी लेन्स र डायनामिक लाइट एलईडी फ्ल्यास रहेको छ। यस बाहेक वाई२९ फोन फनटच ओएस १४ मा आधारित एन्ड्रोइड १४ मा चल्ने उल्लेख गरिएको छ।
वाई२९ फाइभजीमा डाइमेन्सिटी ६३०० चिपसेट र ८जीबी सम्मको र्याम समावेश गरिएको छ। साथै फोनमा २५६ जीबी सम्मको आन्तरिक स्टोरेज (भण्डारण) र अतिरिक्त स्टोरेज (भण्डारण) को लागि समर्पित माइक्रोएसडी कार्ड स्लट रहेको छ। यस फोनमा ४४वाट द्रुत चार्जिङलाई समर्थन गर्ने ५,५००एमएएच ब्याट्री रहेको उल्लेख गरिएको छ।
वाई२९ फाइभजी एक आईपी६४–रेटेड डस्ट–एण्ड वाटर–रेसिस्टेन्ट भएको यस फोनको मापन १६५.७५ × ७६.१ × ८.१ एमएम र १९८ ग्राम तौल रहेको छ। त्यसैगरी यो फोन डुअल सिम, फाइभजी, वाई–फाई, ब्लुटुथ ५.४, यूएसबी–सी पोर्ट र ३.५ एमएम अडियो ज्याक जस्ता अन्य फिचर्सहरूको साथ आउने उल्लेख गरिएको छ।
भारतमा भिभो वाई२९ फाइभजीको मूल्य
भिभो वाई२९ फाइभजी भारतमा चारवटा कन्फिगरेसनहरूमा उपलब्ध हुने बताइएको छ। भिभो वाई२९ फाइभजीको ४जीबी+१२८जीबी भेरियन्टको मूल्य १३,९९९ भारु (१६५ अमेरिकी डलर), ६जीबी+१२८जीबी भेरियन्टको मूल्य १५,९९९ भारु (१९० अमेरिकी डलर), ८जीबी+१२८जीबी भेरियन्टको मूल्य १६,९९९ भारु (२०० अमेरिकी डलर) र ८जीबी+२५६जीबी भेरियन्टको मूल्य १९,९९९ भारु (२३५ अमेरिकी डलर) कायम गरिएको छ। यो फोन डायमण्ड ब्ल्याक, ग्लेशियर ब्लू र टाइटेनियम गोल्ड जस्ता रङ्गहरूमा उपलब्ध हुने गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: १० पुष २०८१, बुधबार