Technology Khabar ९ पुष २०८१, मंगलवार
काठमाडौं ।
तनहुँका पालिकाका बडाबाट नागरिकताको सिफारिस अनलाइनबाटै हुने भएको छ। अनलाइनबाट सिफारिस गर्नका लागि जिल्ला प्रशासन कार्यालयले पालिकामै पुगेर प्रशिक्षण प्रदान गरिरहेको छ। १० पालिकामध्ये ६ पालिकामा प्रशिक्षण प्रदान भइसकेको छ भने चार वटामा तालिम दिने तयारी गरिएको छ।
व्यास नगरपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकामा प्रशिक्षण सकिएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए। थापाका अनुसार देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र भानु नगरपालिकामा तालिम दिने तयारी भइरहेको छ।
प्रअिज थापाले भने, “यहाँ पुस १५ देखि सबै पालिकाका वडाबाट अनलाइनबाटै सिफारिस
हुने व्यवस्था मिलाउन लागेका छौं, त्यसका लागि धमाधम तालिम प्रदान भइरहेको छ।” जिल्ला प्रशासन कार्यालयबाट प्रवाह गरिने नेपाली नागरिकताको प्रमाणपत्र वितरणसम्बन्धी सेवा छिटो, छरितो, त्रुटिरहित र प्रविधिमैत्री बनाउने ध्येयका साथ नेपाली नागरिकता प्रमाणपत्र प्राप्तिका लागि स्थानीय तहबाट गरिने अनुसूची सिफारिसलाई अनलाइन प्रणालीबाट गराउन थालिएको हो।
सेवाग्राहीले सिफारिसका लागि आवश्यक कागजपत्र लिएर बडामा गएपछि वडा कार्यालय आफैँले जिल्ला प्रशासन कार्यालयको अनलाइनमा नागरिकता अनुसूचीको फाराम भरेर अपलोड गरिदिने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ।
विद्युतीय व्यवस्थाले सबै प्रणालीलाई एकीकृत गर्न र दस्ताबेज कायम गर्न सहज हुने प्रजिअ थापाले बताउनुभयो। थापाका अनुसार तत्काललाई नयाँ नागरिकताको मात्र सिफारिसका लागि यो सेवा नियमित गरिने र चाँडै नै प्रतिलिपिको सेवा सुरु गर्ने तयारी गरिएको छ।
आजको गोरखापत्रबाट
प्रकाशित: ९ पुष २०८१, मंगलवार