लाइसेन्स छपाइ तथा वितरणको काम प्रदेशस्तरबाटै हुन आवश्यक छः मन्त्री दाहाल

Technology Khabar ९ पुष २०८१, मंगलवार

लाइसेन्स छपाइ तथा वितरणको काम प्रदेशस्तरबाटै हुन आवश्यक छः मन्त्री दाहाल
Global IME Bank

काठमाडौं ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सवारी चालक अनुमतिपत्र तथा वितरणको काम अब प्रदेशस्तरबाटै गरिनुपर्ने बताएका छन्।

यातायात व्यवस्था विभागले सोमबार आयोजना गरेको यातायात क्षेत्रमा देखापरेका समस्या समाधान एवम् विगतमा भएका निर्णयको कार्यान्वयन विषयक कार्यक्रममा उनले यस प्रक्रिया सहज र सरल बनाउन यससम्बन्धी कार्य गरिनुपर्नेमा जोड दिए।

मन्त्री दाहालले भने, “यातायात व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारको समेत भएकाले सवारी चालक अनुमतिपत्र छपाइ, नवीकरण एवम् वितरणजस्ता कार्य अब प्रदेशस्तरबाटै हुनुपर्छ। बरु एउटा ‘कटअप डेट’ तोकेर त्यसपछिको काम प्रदेशबाटै हुने गरी सबै प्रदेशले यससम्बन्धी कार्य गर्ने तयारी गर्नुपर्छ।”

मन्त्रालयका सचिव केशवकुमार शर्माले सवारी चालक अनुमतिपत्र छपाइमा रहेका जटिलताको अन्त्य गरी प्रदेशस्तरबाटै छपाइ र वितरणको व्यवस्था गर्न यातायात विभाग र प्रदेशबीच समन्वय हुनुपर्ने बताए। यस्तै छपाइ भएका ‘ईम्बोस्ड नम्बर प्लेट’ जडान कार्यलाई तीव्रता दिन उनले आग्रह गरे।

विभागका महानिर्देशक राजिव पोखरेलले यातायात क्षेत्रको सेवा प्रवाहमा सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वयका लागि कार्यक्रम आयोजना गरिएको बताए। कार्यक्रममा सबै प्रदेशका यातायात क्षेत्र हेर्ने मन्त्रालयका सचिवको सहभागिता रहेको थियो।-रासस

Sajilo Visa

प्रकाशित: ९ पुष २०८१, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार