Technology Khabar ८ पुष २०८१, सोमबार
काठमाडौं ।
एउटा अवकाशप्राप्त सैन्य मौसम उपग्रह अन्तरिक्षमा टुक्रिएर ५० भन्दा बढी टुक्रा फैलिएको छ। यो घटनाले यस्तै प्रकृतिका अन्य उपग्रहहरूसँग सम्बन्धित श्रृंखलालाई थप निरन्तरता दिएको छ।
अमेरिकी स्पेस फोर्सले डिसेम्बर १९ मा DMSP-5D2 F14 उपग्रहसँग सम्बन्धित “कम गतिको टुक्रिने घटना” भएको जानकारी दिएको छ। यो घटना डिसेम्बर १८ मा राति ९:१० बजे (पूर्वी समय) ८४० किलोमिटरको उचाइमा भएको बताइएको छ। तर, घटनाबाट कति मात्रामा टुक्रा बनेको हो भन्ने जानकारी खुलाइएको छैन।
स्पेसन्युज डटकमका अनुसार दुई वाणिज्यिक अन्तरिक्ष निगरानी कम्पनीहरू, लियोल्याब्स र स्लिङशट एरोस्पेसले पनि यो घटनाको ट्र्याकिङ गरिरहेको जनाएका छन्। स्लिङशटका अनुसार घटना स्पेस फोर्सको अनुमानभन्दा करिब एक घण्टा अघि, साँझ ८:१५ बजे भएको हुनसक्छ। लियोल्याब्सका अनुसार उनीहरूले उपग्रहको टुक्रा हुने घटनाबाट ५० भन्दा बढी वस्तु ट्र्याक गरिरहेका छन्।
DMSP-5D2 F14 यो ७५० किलोग्राम तौलको उपग्रह सन-सिंक्रोनेस (सूर्य-समकालिक) कक्षमा १९९७ मा प्रक्षेपण गरिएको थियो। यो रक्षा मौसम विज्ञान उपग्रह कार्यक्रम (DMSP) अन्तर्गत सञ्चालनमा थियो र २०२० मा अवकाश गरिएको थियो।
DMSP-5D2 F14 यस्तै अन्य उपग्रहहरूको परिवारको हिस्सा हो, जसले अन्तरिक्षमा टुक्रिने घटना भोगेका छन्।
यस उपग्रह परिवारमा रहेको ब्याट्री एसेम्बलीमा रहेको डिजाइन दोषले यी उपग्रहहरू विस्फोटका लागि संवेदनशील बनाएको थियो।
एनओएएको समान डिजाइन
यस्तै डिजाइन एनओएए ( नेशनल ओशियनिक एण्ड एट्मस्फियरिक एडमिनिश्ट्रेशन) द्वारा सञ्चालन गरिएका नागरिक ध्रुवीय कक्षीय मौसम उपग्रहहरूमा पनि प्रयोग गरिएको थियो।
उपग्रहहरूको “पासिभेसन” प्रक्रिया, जसमा ब्याट्री र इन्धन ट्यांकको ऊर्जा हटाइन्छ, यस्तो घटनालाई रोक्न डिजाइन गरिएको हो। तर, पुराना उपग्रहहरूमा यो प्रक्रिया प्रभावकारी नहुन सक्ने उद्योग विशेषज्ञहरूले बताएका छन्। यसले अन्तरिक्षमा रहेको फोहर न्यूनीकरण प्रक्रियामा सुधारको आवश्यकता देखाएको छ।
प्रकाशित: ८ पुष २०८१, सोमबार