Technology Khabar ७ पुष २०८१, आईतवार
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सञ्चार क्षेत्र व्यवस्थित रुपमा सञ्चालन हुनुपर्ने बताएका छन।
नेपाल पत्रकार महासङ्घ कास्कीको नवनिर्वाचित कार्यसमिति, प्रदेश तथा राष्ट्रिय परिषद् सदस्यहरु आज शपथ तथा पदस्थापन समारोहको उद्घाटन गर्दै उनले देशमा स्थिरता र सुशासन स्थापनाका लागि सञ्चार जगत्ले सरकारलाई सहयोग गर्नुपर्ने बताए।
सञ्चारमन्त्री गुरुङले भने, “वर्तमान सरकार बनेको भोलिपल्टदेखिनै अस्थिरताको कुरा भइरहेको छ । सरकार ढल्छ भनेर लेखिरहेका छन्, सञ्चार क्षेत्रबाट प्रचार भइरहेको छ । यसबाट सुशासन कायम गर्ने कुरामा समस्या हुन्छ। सञ्चार क्षेत्र व्यवस्थित नभए सरकारलाई सुशासन कायम गराउन समस्या हुन्छ।”
सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरुङले अनलाइन सञ्चारमाध्यममा अराजकता बढेकाले नियमनका लागि कानुन निर्माण गर्न लागिएको उनले जानकारी दिए।
अनलाइनको मिडियाको प्रयोग, सञ्चालन र नियमन गर्ने विधेयक मन्त्रिपरिषद्बाट पारित भएको र अबको सदनमा प्रस्तुत हुने उनले बताए।
“डिजिटल प्लेटफर्म सञ्चालन गर्नेहरु मर्यादित बन्न आवश्यक छ। संस्कार र संस्कृतिमाथि हमला गर्नुहुँदैन। समाजलाई अमर्यादित बनाउने काम अनलाइन सञ्चार माध्यमबाट गर्नुहुँदैन। अनलाइन मिडियाको स्थापना, सञ्चालन र प्रयोगका लागि नियमन गर्नु आवश्यक छ भनेर सञ्चार मन्त्रालय लागिपरेको छ”, सञ्चारमन्त्री गुरुङले भने।
विद्युतीय अपराध बढेकाले सोको नियन्त्रणका लागि साइबर सुरक्षा विधेयक र प्रेस काउन्सिलको नियमनकारी भूमिका विस्तारका लागि मिडिया काउन्सिल विधेयक यही हिउँदे अधिवेशनमा पारित गर्ने योजना रहेको उनले जानकारी दिए।
प्रकाशित: ७ पुष २०८१, आईतवार