साझेदारको रकम तिर्न नमानेपछि क्लासिक टेक विराटनगरको बैंक खाता रोक्का

Technology Khabar ६ पुष २०८१, शनिबार

साझेदारको रकम तिर्न नमानेपछि क्लासिक टेक विराटनगरको बैंक खाता रोक्का
Global IME Bank

काठमाडौं ।

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिकटेक बैंक खाता रोक्का हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङले उक्त कम्पनीको बैंक खाता रोक्का  राख्न राष्ट्र बैंकलाई पत्राचार गरेको बुटवल टुडे दैनिकको अनलाइन संस्करणमा उल्लेख छ।

गत मंसिर २६ गते राष्ट्र बैंक विराटनगर मोरङलाई क्लासिक टेकका बैंक खाता रोक्का राख्न पत्राचार गरिएको र राष्ट्र बैंक विराटनगर कार्यालयले आफ्नो केन्द्रीय कार्यालयलाई उक्त पत्र पठाएको जनाइएको छ।

क्लासिक टेकको व्यापारिक साझेदार कम्पनी बयरवन केवल नेट प्रालिबीच रकम भुक्तानीको विषयमा केही महिनायता विवाद रहँदै आएकोमा बयरवन केवल नेटले जिल्ला प्रशासन कार्यालय मोरङमा क्लासिक टेकले १८ लाख रुपैयाँ भुक्तानी नदिएको भन्दै निषेधाज्ञायुक्त परमादेश माग्दै निवेदन दिएको छ।

उक्त निवेदन पाएपश्चात् प्रशासनले क्लासिक टेक कम्पनी र त्यसका कर्मचारीलाई छलफलमा बोलाएको थियो तर क्लासिक टेक रकम तिर्न र छलफलमा आउन नमानेको बताइएको छ।

बरु क्लासिक टेकले जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय पथरीसमेतलाई विपक्षी बनाएर अदालतमा निवेदन दिएको थियो।

उक्त निवेदनको प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश विमल सुवेदीको इजलासले बयरवन केवल नेटलाई बाटोको म्यादबाहेक पन्ध्र दिनभित्र लिखित जवाफ पेश गर्न साथै निवेदनको टुंगो नलागेसम्म क्लासिक टेकको काम कारबाहीमा रोक नगराउन आदेश दिएको छ।

बयरवन नेटले भुक्तानी नपाएकोमा मुद्दा दायर गरेकोमा क्लासिक टेकले भने बयरवन नेटलाई सम्झौता अनुसार दिनुपर्ने रकम दिन तयार रहेको तर  सम्झौताविपरीतको रकम माग भएकाले नदिएको दाबी गरेको छ।

Sajilo Visa

प्रकाशित: ६ पुष २०८१, शनिबार

तपाइको प्रतिक्रिया