Technology Khabar ५ पुष २०८१, शुक्रबार
काठमाडौं ।
ओपनएआईले हालैका दिनहरूमा च्याटजीपीटीको लागि धेरै नयाँ फिचर्स (सुविधाहरू) र इन्हान्समेन्टको घोषणा गरेको छ।
ओपनएआईले अब सेलुलर डाटाको आवश्यकता बिना नै तपाईंको फोन लाइन प्रयोग गरेर च्याटजीपीटी मा/लाई कल गर्न सकिने एउटा चाखलाग्दो सुविधा प्रस्तुत गरेको हो।
च्याटजीपीटीको अब आफ्नै फोन नम्बर
यो घोषणा ओपनएआईले युट्युबमा लाइभ स्ट्रिम मार्फत गरेको र यो प्रविधिलाई कार्यमा देखाएको बताइएको छ। अमेरिकामा जो कोहीले अब च्याटजीपीटीमा कुरा गर्न १–८००–च्याटजीपीटी (१–८००–२४२–८४७८) मा कल गर्न सक्ने र वेबमा च्याटबोटबाट प्राप्त गर्न सक्ने जस्तै समान किसिमको जवाफहरूमा पहुँच प्राप्त गर्न सक्ने उल्लेख गरिएको छ।
टेलिफोन मार्फत च्याटजीपीटीले प्रयोगकर्तासँग नेचुरल कन्भर्सेसन (प्राकृतिक कुराकानी) प्रदान गर्न एड्भान्स्ड भ्वाइस मोड प्रविधि प्रयोग गर्नेछ।
नियमित फोन लाइन मार्फत च्याटजीपीटीमा पहुँच प्रदान गर्नुको मुख्य उद्देश्य भनेको मानिसहरूलाई इन्टरनेट कनेक्सन बिनाको क्षेत्रमा हुँदा च्याटबोटमा कुराकानी गर्न दिनु भएको बताइएको छ।
डेमोमा, ओपनएआईले फोटो वा भिडियो अपलोड नगरिकन आफूले देखेको कुराको बारेमा थप जान्न चाहने सडक यात्रामा रहेका मानिसहरूको उदाहरण दिएको थियो।
बाँकी विश्वका प्रयोगकर्ताहरूका लागि, ओपनएआईले च्याटजीपीटी अब ह्वाट्सएपमा पनि उपलब्ध भएको घोषणा गरेको छ र प्रयोगकर्ताहरूले मेटाको मेसेजिङ प्लेटफर्मबाट सिधै टेक्स्टद्वारा च्याटबोटसँग कुराकानी गर्न सक्नेछन्। ओपनएआईले प्रयोगकर्ताहरूलाई व्हाट्सएप बोटको साथमा उनीहरूको च्याटजीपीटी खाताहरूमा लग इन गर्न दिने तर्फ काम गरिरहेको छ।
यस हप्ताको सुरुमा, ओपनएआईले च्याटजीपीटी सर्च सबैका लागि निःशुल्क उपलब्ध गराएको थियो। च्याटजीपीटी सर्चको साथ, प्रयोगकर्ताहरूले प्रश्नहरू सोध्न सक्ने र रियल टाइम (वास्तविक समय) मा वेबबाट सङ्कलन गरिएको डाटाबाट जवाफहरू प्राप्त गर्न सक्नेछन्।
ओपनएआईले च्याटजीपीटीको एड्भान्स्ड भ्वाइस मोडमा भिडियो समर्थन पनि थपेको बताइएको छ जसले गर्दा प्रयोगकर्ताहरूले भिडियो च्याट मार्फत च्याटबोटसँग प्राकृतिक कुराकानी गर्न सक्नेछन्।
प्रकाशित: ५ पुष २०८१, शुक्रबार