Technology Khabar ५ पुष २०८१, शुक्रबार
काठमाडौं ।
कम्प्युटर हाम्रो दैनिक जीवनको अभिन्न अङ्ग बनिसकेको छ। लेखपढ, काम वा मनोरञ्जनका लागि पनि हामी हिजोआज कम्प्युटरमा बढी नै निर्भर हुन थालेका छौं।
सामान्यतया कम्प्युटर डेस्कटप र ल्यापटपका रुपमा आउने गर्छन्। यी दुवैको आफ्ना ठाउँमा छुट्टै महत्व छ। डेस्कटप घर वा कार्यालयमा स्थायी रुपमा राख्नका लागि हुन्छ भने ल्यापटप जुनसुकै बेला जहाँसुकै बोकेर लैजानका लागि बनेको हुन्छ। यसरी हेर्दा आजको व्यस्त दैनिकीमा केही अवस्थाहरुलाई छोड्ने हो भने डेस्कटपभन्दा ल्यापटप व्यवहारिक हुन्छ।
यसको मुख्य कारण यसको पोर्टेबलिटी अर्थात् बोकेर सजिलै एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिनु हो। ल्यापटप सजिलै बोक्न मिल्ने भएकाले यसमा घर, अफिस, कलेज वा यात्रा गर्दा पनि काम गर्न सकिन्छ। यसले काम गर्ने स्थानमा स्वतन्त्रता दिन्छ, जसले उपयोगकर्ताको उत्पादकता समेत बढाउँछ।
डेस्कटपको तुलनमा अर्को महत्त्वपूर्ण पक्ष ऊर्जा खपत हो। ल्यापटपले डेस्कटपको तुलनामा कम बिजुली खपत गर्छ र ब्याट्रीमा चल्न सक्ने भएकाले लोडसेडिङ वा विद्युतीय समस्यामा पनि काम निरन्तर गर्न सकिन्छ।
तर डेस्कटप ठूलो स्क्रीन र पावरफुल हार्डवेयरका लागि उपयुक्त छ भने सामान्य प्रयोगकर्ता वा चलायमान जीवनशैली भएका व्यक्तिहरूका लागि ल्यापटप अत्यधिक व्यावहारिक र सुविधाजनक हुन्छ।
हामी बजारमा विभिन्न कम्पनी र अपरेटिङ सिस्टमयुक्त ल्यापटपहरुको विकल्प पाउन सक्छौं। विशेषगरी विण्डोज, म्याकओएस, क्रोमओएस, स्टिमओएस, लिनक्सजस्ता अपरेटिङ सिस्टम ल्यापटपमा पाइन्छ।
यीमध्ये माइक्रोसफ्टको विण्डोज र एप्पल इंकको म्याकओएस धेरै जनसमुदायमा चर्चित छन् भने लिनक्स डेभलपरहरुमा, स्टिमओएस गेमरहरुमा र क्रोमओएस क्रोमबुक चलाउने सबैखाले प्रयोगकर्ताबीच चर्चित छ।
यीमध्ये यदि तपाईँ एप्पल इंकको म्याकबुक किन्ने सोचमा हुनुहुन्छ र यसबारे पर्याप्त जानकारी छैन भने तलको टिप्सले तपाईँलाई सही छनौटमा मद्दत गर्न सक्छ:
१. डिजाइन र पोर्टेबलिटी:
म्याकबुक एयर हल्का र पातलो छ, जसले गर्दा यो यात्रा गर्नेहरू र दैनिक कलेज/अफिसका कामका लागि अत्यन्त उपयुक्त छ। म्याकबुक प्रो केही गह्रुँगो भए पनि, यसको बलियो निर्माणले पेशागत र उच्च-क्षमताका कामलाई प्राथमिकता दिन्छ।
२. प्रदर्शन :
म्याकबुक प्रो मा शक्तिशाली प्रोसेसरहरू (एम२ प्रो, एम२ म्याक्स) र र्याम छ जसले गहन कम्प्युटिङ, भिडियो एडिटिङ, कोडिङ, र थ्रीडी ग्राफिक्सका लागि उत्कृष्ट प्रदर्शन दिन्छन्। म्याकबुक एयरमा पनि एम२ चिप छ जसले राम्रो प्रदर्शन गर्छ तर साधारण कार्यालय काम, वेब ब्राउजिङ, वा हल्का फोटो एडिटिङका लागि पर्याप्त छ।
३. डिस्प्ले:
म्याकबुक प्रो मा उच्च ब्राइटनेस,एचडीआर समर्थन र प्रोमोशन टेक्नोलोजीसहितको लिक्विड रेटिना एक्सडीआर डिस्प्ले छ। यसले भिडियो सम्पादन वा ग्राफिक डिजाइनको लागि उत्कृष्ट सटीकता दिन्छ। म्याकबुक एयरमा रेटिना डिस्प्ले छ, जुन राम्रो देखिन्छ तर प्रो जस्तो उन्नत छैन।
४. ब्याट्री लाइफ:
म्याकबुक एयर लामो ब्याट्री लाइफसहित आउँछ, सामान्य प्रयोगकर्ताहरूका लागि अत्यन्त उपयोगी। म्याकबुक प्रो ले भारी काम गर्दा धेरै पावर खपत गर्ने भएकाले यसको ब्याट्री लाइफ केही कम हुन सक्छ।
५. पोर्ट र कनेक्टिभिटी:
म्याकबुक प्रो मा थण्डरबोल्ट पोर्टहरूको संख्यामा विविधता हुन्छ, र यसले एसडी कार्ड र एचडीएमआई पोर्ट जस्ता सुविधाहरू पनि दिन्छ। म्याकबुक एयर मा सीमित पोर्टहरू हुन्छन्, तर साधारण कामका लागि पर्याप्त छन्।
६. मूल्य:
म्याकबुक एयर तुलनात्मक रूपमा सस्तो छ र मूल्य-प्रदर्शन अनुपात राम्रो छ। म्याकबुक प्रो महँगो भए पनि, यसको प्रदर्शन र विशेषताले लागतलाई न्याय गर्छ।
कस्तो कामका लागि कुन छान्ने?
टिप्स:
१. तपाईंको आवश्यकता पहिचान गर्नुहोस्—के तपाईँ हल्का काम गर्नुहुन्छ कि हेभी ड्युटी?
२. बजेट निर्धारण गर्नुहोस्।
३. यदि भविष्यमा अपग्रेड गर्न चाहनुहुन्न भने, लामो समय टिक्ने प्रो मा लगानी गर्नु उपयुक्त हुन सक्छ।
४. यदि यात्रा धेरै गर्नुपर्ने काम छ भने म्याकबुक एयर छनोट गर्नुहोस्।
यस हिसाबले हेर्दा साधारण प्रयोग र पोर्टेबलिटीका लागि म्याकबुक एयर भने पेशागत कार्य र गहन प्रदर्शनका लागि म्याकबुक प्रो उत्कृष्ट छन् भन्ने मान्न सकिन्छ।
प्रकाशित: ५ पुष २०८१, शुक्रबार