Technology Khabar २८ मंसिर २०८१, शुक्रबार
काठमाडौं ।
गुगलको आगामी पिक्सेल ९ए को मूल्य र रङ्गहरूका साथै पूर्ण स्पेस शीट समावेश रहेको नयाँ लीक बाहिरिएको छ। यसको स्रोत कथित रूपमा एक वायरलेस क्यारियर भएको र यस बरेको जानकारीलाई दोस्रो स्रोतले पनि पुष्टि गर्दछ।
अन्य पिक्सेल ९ परिवार जस्तै पिक्सेल ९ए मा पनि टेन्सर जी४ चिपसेट समावेश गरिने बताइएको छ। साथै मध्य–दायराको यस फोनमा ८जीबी को एलपीडीडीआर५एक्स र्याम र १२८/२५६जीबी को यूएफएस ३.१ स्टोरेज (भण्डारण) हुने उल्लेख गरिएको छ।
त्यसैगरी पिक्सेल ९ए फोन १२० हर्ज रिफ्रेस दर, २४० हर्ज टच नमूना दर, २,७००–निट पिक ब्राइटनेस, १,८००–निट एचडीआर ब्राइटनेस र गोरिल्ला ग्लास ३ सहितको ६.२८५–इन्चको १०८०×२४२४ डिस्प्लेको साथ आउने बताइएको छ।
फोनको पछाडिको भागमा सामसङ आईएसओसेल जीएन८ सेन्सर प्रयोग गरिएको ४८ मेगापिक्सेलको एफ/१.७ मुख्य क्यामरा र सोनी आईएमएक्स७१२ सेन्सर प्रयोग गरिएको १३ मेगापिक्सेलको एफ/२.२ अल्ट्रावाइड हुनेछ। साथै अगाडिको क्यामराको लागि पनि उही सेन्सर प्रयोग गरिने बताइएको छ।
पिक्सेल ९ए फोनमा २३ डब्ल्यू (वाट) को वायर्ड चार्जिङ र ७.५डब्ल्यू (वाट) को वायरलेस चार्जिङलाई समर्थन गर्ने ५,१०० एमएएचको सेल (ब्याट्री) रहने बताइएको छ। त्यसका साथै पिक्सेल ९ए धुलो र पानी प्रतिरोधको लागि आईपी६८ मूल्याङ्कन गरिने थप उल्लेख गरिएको छ। फोनको नाप १५४.७×७३.३ ×८.९ मिमी र तौल १८५.९ ग्राम रहने बताइएको छ।
ह्यान्डसेटलाई ओब्सिडियन, पोर्सिलेन, आइरिस र पियोनी कलरवेज (रङ्गहरू) मा लन्च गरिने बताइएको छ। साथै १२८जीबी मोडेलको लागि ४९९ अमेरिकी डलर मूल्य हुनेछ भने एमएमवेभ फाइभजी समर्थन सहितको भेरिजोन संस्करणलाई ५४९ अमेरिकी डलर मूल्य कायम गरिने बताइएको छ।
पिक्सेल ९ए को बोर्डमा एन्ड्रोइड १५ रहने बताइएको छ भने ओएस र सुरक्षा अद्यावधिकहरूको साथ सात वर्षको लागि समर्थित हुने थप उल्लेख गरिएको छ। साथै अघिल्लो अफवाहहरू अनुसार पिक्सेल ९ए मार्च महिनामा आधिकारिक हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: २८ मंसिर २०८१, शुक्रबार