Technology Khabar २५ मंसिर २०८१, मंगलवार
काठमाडौं ।
दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसङले तीन गुणा फोल्ड हुने स्मार्टफोन सार्वजनिक गर्ने योजना बनाएको छ। फोल्ड गर्न मिल्ने स्मार्टफोनको बिक्री पछिल्ला केही वर्षमा तीव्र गतिमा बढेको छ। यस खण्डमा सामसङको सबैभन्दा बढी सेयर छ। कम्पनीलाई ट्राइ-फोल्ड स्मार्टफोनको साथ यस बजारमा आफ्नो स्थिति बलियो बनाउन सजिलो हुन सक्छ।
डिस्प्ले सप्लाई चेन कन्सल्टेन्ट्स (डीएससीसी) का विश्लेषक रोस यंगले यो स्मार्टफोन सन् २०२६ मा लन्च गर्न सक्ने सोसल मिडिया प्लेटफर्म एक्सको एक पोष्टमा बताएका छन् । यसमा तीनओटा डिस्प्ले र दुईओटा हिन्जहरू हुन सक्छन्। यो स्मार्टफोनले ह्वावेको मेट एक्सटी अल्टिमेट डिजाइनसँग प्रतिस्पर्धा गर्न सक्छ।
चिनियाँ स्मार्टफोन निर्माता ह्वावेले सेप्टेम्बरमा पहिलो ट्रिपल फोल्ड स्मार्टफोन सार्वजनिक गरेको थियो। तर, मेट एक्सटी अल्टिमेट डिजाइन अन्तर्राष्ट्रिय बजारमा लन्च भएको छैन। यसअघि, जेडीनेट कोरियाले स्मार्टफोन उद्योग स्रोतलाई उद्धृत गर्दै एउटा रिपोर्टमा सामसङले दुई पटक फोल्ड हुने स्क्रिन भएको ट्राइ-फोल्ड स्मार्टफोनसहितको एन्ट्री-लेभल क्ल्यामशेल शैलीको फोल्डेबल स्मार्टफोन ल्याउने योजना बनाएको बताएको थियो।
अर्कोतर्फ ह्वावेले चीनमा मात्र सार्वजनिक गरेको मेट एक्टी अल्टिमेट डिजाइन (Mate XT Ultimate Design) को लागि व्यापक माग प्राप्त गरिरहेको छ। १६ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको यो स्मार्टफोनको बेस भेरियन्टको मूल्य १९,९९९ चिनियाँ युआन तोकिएको छ। यो डुअल सिम स्मार्टफोनको स्क्रिन खोल्दा १०.२ इन्च (३,१८४ x २,२३२ पिक्सेल) हुन्छ।
प्रकाशित: २५ मंसिर २०८१, मंगलवार