‘इन्टरनेट सेवा प्रदायकहरु आ-आफैं लड्दा दरबारमार्ग क्षेत्रमा तार भूमिगत गर्न कठिन’

Technology Khabar १६ मंसिर २०८१, आईतवार

‘इन्टरनेट सेवा प्रदायकहरु आ-आफैं लड्दा दरबारमार्ग क्षेत्रमा तार भूमिगत गर्न कठिन’
Global IME Bank

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले दरबारमार्ग क्षेत्रमा राखिएका इन्टरनेटका तारहरु काटिदिँदा सेवाग्राहीहरु मर्कामा परेका छन्।

इन्टरनेटमा आधारित रहेर सो क्षेत्रमा काम गर्नेहरुले बिगत ३ दिनदेखि समस्या भोगिरहेको गुनासो गरेका छन्। यसले इन्टरनेट सेवा प्रदायकहरु बिच रहेको अकर्मण्यता समेत प्रष्ट झल्काएको छ।

महानगरपालिकाले सो क्षेत्रमा रुखहरुमार्फत लगिएको तारहरु गत बिहिबारदेखि हटाईदिएको थियो। जसले गर्दा सो क्षेत्रमा इन्टरनेट सेवा करिब-करिब ठप्प जस्तै भएको छ।

यसअघि महानगरपालिकाले सो क्षेत्रमा भूमिगतरुपमा तारहरु लैजाने पाइलट योजना र तयारी गर्दै इन्टरनेट सेवा प्रदायकहरुको छाता संस्था इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)सँग छलफल समेत गरेको थियो।

उक्त छलफलमा आइस्पानले भूमिगत गर्ने प्राविधिक योजना तयार पार्ने र त्यसलाई महानगरपालिकाले आफ्नै खर्चमा नमूनाको रुपमा अगाडि बढाउन सहमति गरिएको थियो। तर आइस्पान र कम्पनीहरुले उक्त योजनानै दिन सकेका थिएनन्।

यसले गर्दा महानगरपालिकाका नगरप्रहरीहरुले शुक्रबार नेपाल टेलिकमसहित सबै आइएसपीहरुको तार हटाईदिँदा सेवाग्राही मर्कामा परेका हुन्।

दरबारमार्गमा आयात निर्यातको कार्यालय राखेका एक व्यवसायीले इन्टरनेट नहुँदा समस्या नै भोगेको गुनासो गरे।

तर यसमा इन्टरनेट सेवा प्रदायकहरुले सहयोग र समन्वयन नगर्दा समस्या आएको महानगरपालिका मेयरको सचिवालयमार्फत इन्टरनेट र तार व्यवस्थापन हेरिरहेका एक अधिकारीले बताए।

“हामीले यसअघि आइस्पानसँग बसेर सल्लाहनै गरेका थियौं। तर उहाँहरुले अहिलेसम्म भूमिगत गर्न सक्नुभएको छैन्,” उनले टेक्नोलोजीखबरसँग भने, “नेपाल टेलिकमले तार भूमिगत गर्ने काम गरिरहेको छ तर उहाँहरुले टेर्नुभएन्। एक वर्षसम्म पनि यसैमा कुर्न र रोकिराख्न सकिँदैन्।”

उनकाअनुसार महानगरपालिकाले सबै आईएसपीहरुलाई भूमिगत गर्न समय तोकेरै भनेको तर अहिलेसम्म कामै नगरेको हुँदा तार काटिदिएको जानकारी दिए।

“अहिले केहिले भूमिगत गरेका छन र नगरेकाहरुले पनि आगामी दिनमा गर्नुपर्ने हुन्छ। नत्र हामी भद्रगोल भएका तारहरु काटिदिन्छौं,” उनले भने।

ती अधिकारीकाअनुसार सेवा प्रदायकहरु आफैं-आफैंमा लड्ने गर्दा पनि तार भूमिगत गर्न समस्या भएको छ। “आइएसपीहरु मिलेर आएनन, एकले अर्कोलाई दोष देखाउने गरे, अब फेरी अर्को बैठक बोलाएका छौं। मिलेर आउन दबाब दिनेछौं।”

महानगरपालिकाले आगामी दिनमा महानगरभित्रका अन्य स्थानहरुमा समेत तार व्यवस्थापन र भूमिगत गर्ने योजना लिएको छ।

हाल न्यूरोड र दरबारमार्गमा तार व्यवस्थापन र भूमिगत गरिरहेकोमा वसन्तपुरमा काम भइरहेको जानकारी दिएको छ। यसपछि असन, पुतलीसडक, नक्साल लगायतका स्थानहरुमा समेत तार व्यवस्थापन गर्ने तयारीमा छ।

यस बारेमा जानकारी माग्दा आइस्पानका सिईओ सुभाष खड्काले बोल्न अस्विकार गरे। “आइस्पानको विषयमा म केहि बोल्दिन,” उनले टेक्नोलोजीखबरसँग भने।

आइस्पानका एक सदस्यले भने सेवा प्रदायकहरुको आफ्नै कमजोरीका काण न्यूरोड र दरबारमार्गमा समस्या देखिएको बताए।

“महानगरपालिकाले सेवा प्रदायकहरुलाई समेत बोलाएर छलफल गरेको थियो, तर आइस्पानले त्यसमा नेतृत्व लिन सकेन्,” उनले भने।

यस बारेमा सोध्दा आइस्पानका महासचिव नविन श्रेष्ठले यसअघि तार व्यवस्थापन बारेमा छलफल भएको मात्र आफूलाई जानकारी भएको भन्दै भने, “मलाई अन्य विषयमा जानकारी छैन्। यसअघि आइस्पानका अध्यक्ष र सीईओले पहल गरिरहनुभएको बुझेको छु।”

उनले दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरण भएको हुँदा त्यसमार्फत महानगरपालिका आउनुपर्ने जिकिर गरे।

महानगरपालिकाले भने नियामक दूरसञ्चार प्राधिकरणका साथसाथै नेपाल विद्युत प्राधिकरणसँग पनि समन्वयन र सहकार्यका लागि छलफल गरिसकेको जानकारी दिएको छ।

“हामीले दुबै निकायहरुसँग मिलेर जाने बारेमा छलफल गरेका छौं। इन्टरनेट सेवा अत्यावश्यक सेवा भएको हुँदा सकेसम्म अवरोध नहुनेगरि काम गर्नेछौं,” महानगरपालिकाका ती अधिकारीले भने।

महानगरपालिकाले गत साता मंसिर १० गते दूरसञ्चार प्राधिकरणसँग पनि यस विषयमा छलफल गरिसकेको जानकारी दिएको छ।

यसअघि, महानगरपालिकाले २०८१ जेठ २८ गते यस विषयमा सेवा प्रदायकहरुका प्राविधिक सहितको बैठक बसेर पहिलो चरणमा दरबारमार्गलाई ताररहित बनाउने तयारी गरेको थियो। यसको लागि केबुल अन्डरग्राउण्डिङ्ग कार्य गर्ने र एकीकृतरुपमा व्यवस्थित रुपले सेवा प्रवाह गर्ने सम्बन्धमा छलफल भएको थियो।

उक्त बैठकले १५ दिनभित्र आइस्पानले कन्सेप्टच्यूएल डिजाइन ड्रइङ्ग पेश गर्ने सहमति गरेको थियो।

यसैगरी आवश्यक परेमा दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणसँग पनि बैठक बसेर छलफल गर्ने निर्णय गरेको थियो।

त्यस समयमा, महानगरपालिकाका सहायक प्रवक्ता दिपक अधिकारीले यसलाई नमूनाको रुपमा शुरु गर्ने योजना लिईएको जानकारी दिएका थिए।

“यसका लागि युटिलिटी डकिङ्ग गर्ने योजना हो। पहिलो चरणमा दरबारमार्गबाट गर्ने र सफल भएमा महानगरभित्र सबै मुख्य बाटोहरुमा गरिनेछ,” उनले टेक्नोलोजीखबरसँग भनेका थिए।

तर हाल आइस्पानले सहयोग र समन्वयन नगर्दा समस्या उब्जिएको महानगरपालिकाको ठहर छ।

Sajilo Visa

प्रकाशित: १६ मंसिर २०८१, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार