Technology Khabar १६ मंसिर २०८१, आईतवार
काठमाडौं ।
विशाल कम्पनी एरिक्सनले भारतमा फाइभजी ग्राहकहरूको संख्या सन् २०३० सम्ममा तीन गुणा बढेर ९७ करोड पुग्ने अपेक्षा गरेको छ। एरिक्सन कन्ज्युमर ल्याबको अनुसन्धान प्रतिवेदनमा कुल मोबाइल ग्राहक आधारको ७४ प्रतिशत हुने अनुमान गरिएको हो।
प्रतिवेदनका अनुसार जेनेरेटिभ एआईसँग सम्बन्धित एप्लिकेसनहरूले फाइभजी विस्तार गर्न भूमिका खेलिरहेका छन्। एरिक्सन मोबिलिटीको रिपोर्टले अनुमान गरेको छ कि भारतमा ५जी ग्राहकहरूको संख्या २०२४ को अन्त्यसम्ममा २७ करोड भन्दा बढी हुनेछ, जुन देशका कुल मोबाइल ग्राहकहरूको २३ प्रतिशत हुनेछ।
रिपोर्टका अनुसार भारतमा ५जी प्रयोगकर्ताको संख्या यस दशकको अन्त्यसम्ममा करिब ९७ करोड पुग्ने अपेक्षा गरिएको छ। यो कुल मोबाइल ग्राहकको ७४ प्रतिशत हो।
प्रतिवेदनले सन् २०२४ को अन्त्यसम्ममा विश्वभर फाइभजी प्रयोगकर्ताको संख्या २.३ बिलियन हुने अनुमान गरेको छ, जुन कुल मोबाइल ग्राहकको २५ प्रतिशत हुनेछ। साथै, २०३० सम्ममा विश्वभर ५जी प्रयोगकर्ताको संख्या ६ अर्ब ३ करोड पुग्ने सम्भावना छ।
प्रतिवेदनमा भनिएअनुसार, सन् २०२७ मा विश्वमा ५जी प्रयोगकर्ताको संख्या फोरजी प्रयोगकर्ताभन्दा बढी हुने अपेक्षा गरिएको छ। प्रतिवेदनमा सन् २०३० को शुरुवातमा विश्वमा सिक्सजी नेटवर्क सुरु हुने अपेक्षा गरिएको छ।
रिपोर्टका अनुसार जेन एआई एप्स प्रयोग गर्ने स्मार्टफोन प्रयोगकर्ताको संख्या आगामी ५ वर्षमा बढ्ने अपेक्षा गरिएको छ। भारतमा ५जी स्मार्टफोन प्रयोगकर्ताहरू मध्ये लगभग ६७ प्रतिशतले आगामी पाँच वर्षमा जेनएआई एपहरू प्रयोग गर्न थाल्ने उल्लेख छ।
प्रकाशित: १६ मंसिर २०८१, आईतवार