ओपनएआईका कर्मचारीहरूले डेढ अर्ब डलरको सेयर बिक्री गर्न पाउने, जापानको सफ्टबैंक प्रमुख लगानीकर्ता

Technology Khabar १४ मंसिर २०८१, शुक्रबार

ओपनएआईका कर्मचारीहरूले डेढ अर्ब डलरको सेयर बिक्री गर्न पाउने, जापानको सफ्टबैंक प्रमुख लगानीकर्ता
Global IME Bank

काठमाडौं ।

माइक्रोसफ्ट र अन्य लगानीकर्ताको समर्थनमा आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिमा उल्लेखनीय प्रगति गरिरहेको ओपनएआईले आफ्ना कर्मचारीहरूलाई करिब डेढ अर्ब डलरको सेयर बिक्री गर्ने अनुमति दिएको छ।

यो प्रक्रिया जापानको सफ्टबैंक ग्रुपसँगको नयाँ लगानी प्रस्तावमा सम्पन्न हुने र सफ्टबैंकका प्रमुख कार्यकारी मासायोशी सोनले ठूलो हिस्सेदारी लिन खोजेको जानकारी दुई स्रोतले रोयटर्सलाई दिएका छन्।

ओपनएआईले अक्टोबरमा १५७ अर्ब डलरको मूल्याङ्कनमा ६.६ अर्ब डलर संकलन गरेको थियो जसमा सफ्टबैंकले ५०० मिलियन डलर लगानी गरेको थियो। कर्मचारीहरूले आगामी डिसेम्बर २४ सम्म यो सेयर बिक्री प्रक्रियामा सहभागी हुने निर्णय गर्नुपर्नेछ। यो लगानी सफ्टबैंकको भिजन फण्ड २ बाट गरिने कम्पनीले जनाएको छ।

सफ्टबैंकका सीईओ मासायोशी सोन एआई प्रविधिमा आफ्नो स्थान मजबुत बनाउन ओपनएआईमा लगानी वृद्धि गर्न र अन्य प्रविधि कम्पनीहरूमा हिस्सेदारी विस्तार गर्न प्रयासरत छन्।

रोयटर्सका अनुसार उनले भर्खरै चिप स्टार्टअप ग्राफकोर अधिग्रहण गरेका थिए र आगामी ठूला लगानीका लागि रकम सुरक्षित गरिरहेको बताएका छन्। ओपनएआईले च्याटजीपीटीजस्ता उत्पादनमार्फत विश्वभर ठूलो लोकप्रियता कमाएको छ।

यसले साप्ताहिक २५ करोड सक्रिय प्रयोगकर्ता आकर्षित गरिसकेको छ। यसको उत्पादन र मूल्यांकनमा देखिएको वृद्धिले लगानीकर्ताहरूको ध्यान खिचेको छ।

सफ्टबैंक र ओपनएआईले यसबारे हालसम्म कुनै औपचारिक टिप्पणी गरेका छैनन्। तथापि, यो नयाँ सम्झौताले एआई उद्योगमा थप गतिशीलता ल्याउने अपेक्षा गरिएको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: १४ मंसिर २०८१, शुक्रबार