Technology Khabar १३ मंसिर २०८१, बिहीबार
काठमाडौं ।
राष्ट्रिय सुरक्षण मुद्रण केन्द्रलाई अन्तःशुल्क स्टिकर छाप्ने प्रकृयामा परेको भ्रष्ट्राचारको मुद्दामा तत्कालिन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठलाई विशेष अदालतले ८ वर्षको कैद सजाय तोकेको छ।
अदालतका न्यायाधिश टेक बहादुर कुँवर खुशी प्रसाद थारु र रितेन्द्र थापाको संयुक्त इजलासले आज दुबैलाई कैद जरिवाना तथा बिगो बापतको रकम भराउने आदेश दिएको हो।
अदालतले दुबैलाई जनही ३ करोड ४२ लाख २२ हजार ८०० रुपैयाँ जरिवाना र सोही बराबर बिगो भराउने आदेश दिएको हो। दुबैलाई जनही ८ वर्षको जेल अवधि समेत तोकेको छ।
यसअघि कात्तिक १४ गते सो मुद्दामा फैसला गर्दै अदालतले दुई जना बाहेक पूर्व मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहितका सम्बद्ध कर्मचारीहरुलाई सफाई दिएको थियो।
अदालतले पूर्व मुख्यसचिव अर्यालसहित रितेश कुमार शाक्य, गणेश विक्रम शाही, टंक प्रसाद पाण्डेय र रविन्द्र प्रसाद पौडेललगायतलाई सफाई दिएको थियो।
यसैगरी केशव शर्मा र प्रिन्ट सेल प्रालिलगायतलाई समेत अदलतले सफाई दिएको थियो।
अदालतले दोषी ठहर भएका पौडेल र श्रेष्ठले आपसी मिलेमतोमा ६ करोड ८४ लाख ४५ हजार ६०० रुपैयाँ बदनियपूर्वक नोक्सानी गराई प्रिन्ट सेललाई अग्रीम भूक्तानी गरेको अदालतले ठहर गरेको थियो।
दुबैले जनही ३ करोड ४२ लाख २२ हजार ८०० रुपैयाँ बिगो बदनियतपूर्वक नोक्सानी गरेको देखिएको अदालतको ठहर छ।
सम्बन्धित समाचार-
सुरक्षण मुद्रण केन्द्र प्रकरण: डा. बैकुण्ठ अर्यालसहितलाई सफाई, विकल पौडेल र सफल श्रेष्ठ दोषी ठहर
प्रकाशित: १३ मंसिर २०८१, बिहीबार