Technology Khabar १३ मंसिर २०८१, बिहीबार
काठमाडौं ।
नेपाल सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नयाँ अनुमतिपत्र अर्थात ‘पुनः अनुमतिपत्र’ (लाइसेन्स) पाएको छ। दूरसञ्चार ऐन २०५२ अनुसार, यसअघिको २५ वर्षे अनुमतिपत्रको अवधि पुरा भएसँगै कम्पनीले आज नयाँ लाइसेन्स पाएको हो।
गत साता बसेको प्राधिकरण बोर्ड बैठकले गरेको निर्णयअनुसार कम्पनीले आजै नयाँ अनुमति पत्र पाएको हो।
नयाँ अनुमति पत्रको लागि वर्ल्डलिंकले २५ वर्ष अवधि पुरा नहुँदै दूरसञ्चार ऐनअनुसार निवेदन दिएको भएपनि कानुनी अस्पष्टता नहुँदा पुनः अनुमतिपत्र पाउन सकेको थिएन्। कात्तिक १२ गते सरकारले दूरसञ्चार नियमावली २०५४ लाई दशौं पटक संसोधन गर्दै २५ वर्ष पुरा भएका सेवा प्रदायकहरुका लागि पुनः अनुमतिपत्र दिने प्रावधान ल्याएको थियो।
सोहीअनुसार कम्पनीले नयाँ अनुमति पत्र पाएको हो।
यसका साथै कम्पनीले यसअघिको अनुमति पत्र अविधमा सरकार र नियामकलाई बुझाउनुपर्ने बाँकी बक्यौता रकम तिरेसँगै नयाँ अनुमति पत्र हात पारेको हो।
पछिल्लो समय विवादमा रहेको मर्मत संभार शुल्कमा देखिएको बाँकी बक्यौता रकम बेरुजु भएको भन्दै सर्वोच्च अदालतले तिर्नुपर्ने आदेश दिएसँगै कम्पनीले पुरै बक्यौता रकम एकमुष्ठ तिरेको थियो।
दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलकाअनुसार कम्पनीले रोयल्टी बापत १ अर्ब ३८ करोड ९० लाख १२ हजार २२५ रुपैयाँ ५४ पैसा र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) तर्फ ७६ करोड २३ लाख ९५ हजार ३२७ रुपैयाँ ३२ पैसा तिरेको थियो।
कम्पनीले सरकारलाई कुल २ अर्ब १५ करोड १४ लाख ७ हजार ५५२ रुपैयाँ ८६ पैसा भुक्तानी गरेसँगै नियामकले अनुमति पत्र जारी गर्ने प्रकृया अगाडि बढाएको थियो।
सम्बन्धित समाचार-
प्राधिकरण स्रोतकाअनुसार कम्पनीले आज बिहिबार मात्र नयाँ अनुमति पत्र लगेको छ।
“बोर्डले गत साता निर्णय गरेपनि एक जना सदस्यले माइन्यूटमा हस्ताक्षर गर्न ढिलाई गर्दा अनुमति पत्र दिन ढिला भएको हो। आजै लाइसेन्स लगेको छ।” प्राधिकरण स्रोतले टेक्नोलोजीखबरलाई भन्यो।
नयाँ अनुमति पत्र ५ वर्षका लागि दिईएको छ र उक्त अवधिपछिका लागि कम्पनीले लाइसेन्स नविकरणको लागि आवेदन दिनुपर्ने दूरसञ्चार ऐनको दफा २५ को उपदफा २ मा व्यवस्था छ।
सबैभन्दा पहिलो इन्टरनेट सेवा प्रदायक रहेको र सबैभन्दा पहिले २५ वर्षे अवधि पुरा भएको मर्कन्टायल कम्युनिकेसन्स प्रालिको सरकारलाई तिर्न बुझाउन बाँकी बक्यौता रकम अझै रहेको हुँदा उक्त कम्पनीले पुनः अनुमतिपत्र पाउन सकेको छैन्। जसले गर्दा, वर्ल्डलिंक कम्युनिकेसन्सले २५ वर्ष पुरा भएपछि पुनः अनुमतिपत्र पाउने पहिलो इन्टरनेट सेवा प्रदायक हुन सफल भएको हो।
प्रकाशित: १३ मंसिर २०८१, बिहीबार