के इलन मस्कले साँच्चै ‘पाई फोन’ नामक स्मार्टफोन ल्याउन लागेका हुन्? यस्तो छ तथ्य

Technology Khabar १३ मंसिर २०८१, बिहीबार

के इलन मस्कले साँच्चै ‘पाई फोन’ नामक स्मार्टफोन ल्याउन लागेका हुन्? यस्तो छ तथ्य
Global IME Bank

काठमाडौं ।

स्पेसएक्सका मालिक अर्बपति ईलन मस्कले पाई नामक चार्ज गरिरहनु नपर्ने र अन्तरिक्षको इन्टरनेटमा सधैं जोडिइरहने स्मार्टफोन सार्वजनिक गर्ने हल्ला चलेको केही समय भयो। हिजोआज इन्टरनेट र सामाजिक सञ्जालमा पनि यो कुरा केही समयदेखि चर्चामा रहँदै आएको छ।

तथापि सत्य, झूट, र तथाकथित “पाइ फोन” वरिपरिका हल्लाहरूको वास्तविकता पत्ता लगाउन हामीले गहिरो अध्ययन गरेको साइबर मिडिया सीआईओएल ले जनाएको छ। इन्टरनेट र अफवाहहरू एकअर्काका लागि बनेका हुन्।

जब कुरा ईलन मस्कको आउँछ, उनी चर्चा र विवाद सिर्जना गर्न कुनै नौलो नाम होइनन्। अन्तरिक्ष यात्रा र स्याटेलाइट प्रविधिलाई पुनर्परिभाषित गरेका मस्क टेस्लाका सीईओको रूपमा वा स्पेसएक्सका संस्थापकको रूपमा सधैं परम्परागत सीमाहरू पार गर्न खोज्ने साहसी उद्यमी हुन्।

मस्कले ट्विटर (अहिलेको “एक्स”) किनेपछि धेरैलाई आश्चर्यचकित बनायो। अहिले ‘एक्स’ मस्कको इकोसिस्टमसँग मिसफिट अर्थात् ‘अमिल्दो’ जस्तो देखिन्छ। यसैकारण पनि अब मस्कले अर्को नयाँ कदम चाल्ने समय आएको हुन सक्छ, तर यो पूर्ण रूपमा अडकलमात्र हो।

युट्युबमा अहिले चर्चामा रहेका भिडियोहरूमध्ये एउटा भिडियोलाई लिने हो भने मस्कले चाँडै “पाइ” नामक स्मार्टफोन ल्याउँदैछन् जसले नयाँ उद्योग खण्ड सिर्जना गर्नेछ भन्ने विश्वास दिलाउन खोजेको छ। यसअनुसार यसले न त एप्पलसँग प्रतिस्पर्धा गर्नेछ, न सामसङसँग नै। बरु आफ्नै नयाँ उद्योग खण्ड सिर्जना गर्नेछ जहाँ तत्कालै कोही प्रतिस्पर्धी रहन सक्ने सम्भावना देखिँदैन।

तर गहिरो अध्ययन गर्दा यो पूर्ण रूपमा अफवाह भएको देखिन्छ। किनकि मस्कले आफैंले स्मार्टफोन निर्माणमा कुनै चासो नरहेको बारम्बार भन्दै आएका छन्। टेस्लाले “पाइ फोन” ल्याउने हल्ला धेरै वर्षदेखि फैलिएको छ, तर टेस्ला स्मार्टफोन बजारमा प्रवेश गर्दैछ भन्ने कुनै आधिकारिक संकेत छैन।

अफवाहको स्रोत कहाँ छ?

ईलन मस्कले केही ठूला टेक कम्पनीहरूले सेन्सरसिप वा प्रतिबन्ध लगाएको अवस्थामा मात्र स्मार्टफोन विकास गर्ने सम्भावना रहेको सुझाव यसले सुझाउँछ। तर हाल यस्तो कुनै परिदृश्य छैन।

सीआईओएलका अनुसार युट्युब र सामाजिक सञ्जालमा फ्यानहरूले बनाएको कल्पनाबाट यो अफवाह आएको देखिन्छ जसमा टेस्लाको फोनमा स्पेसएक्सको स्टारलिंकमार्फत स्याटेलाइट कनेक्टिभिटीजस्ता विशेषताहरू हुनेछन् भन्ने खालका जानकारी राखिएका छन्।

एक हिसाबले हेर्दा विश्वका मोबाइल फोन प्रयोगकर्ताहरु अब आउने मोबाइल फोनमा यी नयाँ विशेषताहरु होउन् भन्ने चाहने देखाउँछ।

यदि टेस्लाले साँच्चै यस्तो फोन ल्यायो भने कस्ता सम्भावनाहरू रहलान्?

एप्पलजस्तै, तर अझ ठूलो इकोसिस्टमको निर्माण?

टेस्लाले मस्कका अन्य परियोजनाहरूसँग निर्बाध रूपमा काम गर्न सक्ने फोन बनाउन सक्छ। जसमा यसप्रकारका विशेषता रहन सक्लान्:

  • स्टारलिंक नेटवर्कमार्फत उच्चगुणस्तरीय स्याटेलाइट कनेक्टिभिटी।
  • टेस्ला इलेक्ट्रिक गाडीहरुसँग सहज रूपमा जडान हुने क्षमता।
  • उन्नत ऊर्जा-दक्षता र ठूलो ब्याट्री लाइफको वाचा।
  • यसले मुख्यत: हालका टेस्ला प्रयोगकर्ताहरूलाई लक्षित गर्ने सम्भावना छ।
नयाँ अपरेटिङ सिस्टमको उदय?

के हामी आईओएस र एण्ड्रोइडको द्विध्रुवीय अर्थात् द्वैध अधिकारलाई तोड्दै टेस्लाको नयाँ अपरेटिङ सिस्टम देख्न पाउनेछौं?

यो भनेको टेस्लाका लागि एकदमै ठूलो चुनौती हुनेछ। यसका लागि टेस्लाले समर्पित डेभलपर समुदायलाई प्रोत्साहन गर्नुपर्नेछ, जुन सहज कार्य होइन।

उत्कृष्ट कनेक्टिभिटी?

अर्को अडकल भनेको यो फोनले परम्परागत मोबाइल नेटवर्कको सट्टा पूर्णतयास्टारलिंकको विश्वव्यापी स्याटेलाइट कनेक्टिभिटीलाई उपयोग गर्न सक्छ।

यसले प्रयोगकर्ताहरूलाई संसारभर सहज रूपमा घुम्न सक्षम बनाउनेछ। परम्परागत मोबाइल नेटवर्कलाई ठुलो चुनौती दिने सम्भावना छ।

निर्माण चुनौती र क्षमताको अभाव

सबैभन्दा ठूलो चुनौती भनेको यसको निर्माण हो। किनकि गुगल र एप्पललाई पूर्ण मोबाइल इकोसिस्टम बनाउन वर्षौं लागेको थियो। टेस्लाले यो क्षेत्रमा उस्तै सफलता पाउन ठूलो लगानी र क्षमताको विकास गर्नुपर्नेछ।

समग्रमा यस्तो फोनको सम्भाव्यता रोमाञ्चक देखिन्छ, तर यसको व्यावहारिकता र चुनौतीहरूलाई सम्बोधन गर्नु त्यत्तिकै जटिल हुने सीआईओएलले उल्लेख गरेको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: १३ मंसिर २०८१, बिहीबार

ताजा समाचार