नविनतम प्रविधिमा आधारित ‘लेमिनार भेट्रिफाइड’ ब्राण्डमा टायल उत्पादन गर्दै लुम्बिनी सेरामिक्स

Technology Khabar १३ मंसिर २०८१, बिहीबार

नविनतम प्रविधिमा आधारित ‘लेमिनार भेट्रिफाइड’ ब्राण्डमा टायल उत्पादन गर्दै लुम्बिनी सेरामिक्स

काठमाडौं ।

लुम्बिनी सेरामिक्स लिमिटेडले अत्याधुनिक कारखाना र नविनतम प्रविधि मार्फत टायल उत्पादन सुरु गरेको छ। बर्दियाको गुलरिया नगरपालिका–८ मा अत्याधुनिक प्रविधिसहित लुम्बिनी सेरामिक्सले ‘लेमिनार भेट्रिफाइड’ टायल्सको ब्राण्डमा टायल उत्पादन सुरु गरेको हो।

लुम्बिनी सेरामिक्सका निर्देशक अभिनव चुरिवालले दिएको जानकारी अनुसार साढे १२ बिघा क्षेत्रफलमा फैलिएको यो उद्योग निर्माणमा करिब ४ अर्ब रुपैयाँ लगानी रहेको छ।

“यो नेपालको पहिलो भेट्रिफाइड टायल उद्योग हो जसले उच्च गुणस्तरको भेट्रिफाइड टायल उत्पादन गर्दछ,” उनले भने, ” यसले शून्य दशमलव शून्य ८ प्रतिशत भन्दा कममात्र पानी सोस्ने गर्छ। यस कारण टायल बिग्रने सम्भावना एकदमै कम हुन्छ।”

कम्पनीले भेट्रिफाइड टायलको मापदण्डअनुसार उत्पादन गर्न अत्याधुनिक मेसिन र उपकरणहरु जडान गरेको छ जसले टायलमा आवश्यक पर्ने माटोमा हुने मोइस्चर र स्ट्रेन्थ, कलर, साइज लगायतका विषयहरुमा सुक्ष्मरुपमा ध्यान दिन्छ।

“अहिले बजारमा भेट्रिफाइड टायलको नाममा धेरै पानी सोस्ने टायल बेचिने गरेको छ तर हामीले आफ्नो टायलको कच्चा पदार्थदेखिनै गुणस्तर र मापदण्डलाई ध्यान दिएका छौं,” उनले भने।

यसको लागि इटाली र स्पेनबाट केमिकल र आवश्यक रंगहरु आयात गर्नुका साथै उपकरणहरु पनि सोही अनुसार कम्पनीले जडान गरेको छ। जसअनुसार फरक फरक टेक्चर, डिजाइन र कलरमा टायल उत्पादन गर्न स्वचालित मेसिन समेत जडान गरिएको छ।

“फ्याक्ट्री भित्र टायल बनाउँदा उड्ने धुलोले टायलको गुणस्तर र माथिल्लो भागमा असर पर्ने हुँदा हाम्रो फ्याक्ट्री भित्र धुलो नउडोस् भनेर मेसिन नै जडान गरेका छौं,” निर्देशक चुरीवालले भने, त्यसैले हामी अन्य कम्पनीहरुको भन्दा गुणस्तर उत्पादन गर्न सक्षम छौं।”

 

यसका साथै कम्पनीले फ्याक्ट्रीमा प्रयोग भईरहेको पानीलाई आन्तरिक रुपमा शुद्धिकरण समेत गर्ने गरेको छ। यसको लागि छुट्टै प्लान्ट जडान गरिएको छ जसले प्रयोग भएको पानीमा रहेको माटो र पानीलाई अलग गरेर पुनः प्रयोग गर्ने गरिन्छ।

प्रयोग भएको शत प्रतिशत पानी पुनः प्रशोधन गर्दा पानी र लागत बचत हुने कम्पनीका एमडी आशुतोष खेतानले जानकारी दिए।

“हामीले उत्पादन मात्र नभई वातावरणीय पक्षलाई समेत ध्यान दिएका छौं। उद्योगभित्र प्रयोग हुने पानी शतप्रतिशत पुनः प्रशोधन हुन्छ। यसको लागि हामीले विशेष उपकरण नै जडान गरेका छौं,” एमडी खेतानले भने।

यसका साथै कम्पनीले उत्पादनको गुणस्तर कायम गर्न २ः५० केजीको “टू स्टेज” ग्यासीफायर प्रयोग गरिरहेको छ।

कम्पनीले टायल उत्पादनका लागि सिस्टम सेरामिक्सको सिस्टम मेशिन जडान गरेको छ भने प्रिन्टको गुणस्तर कायम राख्न र टायलमा लगाईने ग्लेजिङ्गको लागि स्पेनिस कम्पनी कोलोरोबियाको मेशिन जडान गरिएको छ। ६ कलर प्रिन्ट गर्नका लागि इटालीयन कलर प्रयोग गर्ने गरिएको खेतानले जानकारी दिए।

यस बाहेक कम्पनीले टाइलको साइजमा एकरुपता कायम गर्नका लागि इटालियन कम्पनी एपेल साइजर प्लानर मेशिन जडान गरेको छ।

“यो मेशिनले टायलको साइज र मोटाइमा एकरुपता कायम गर्दछ। यसैले गुणस्तर मापदण्ड कायम राख्न सकिन्छ। गुणस्तर नभएका टायलहरुलाई मेशिनले नै पहिचान गरेर अलग गर्दछ र हटाउन सकिन्छ,” एमडी खेतानले भने, “यसले गर्दा अन्य ब्राण्डका टायलहरु भन्दा हाम्रा टायलहरुलाई गुणस्तरीय बनाउन सकिएको छ।”

उनले फ्याक्ट्री र उत्पादन दुबैका लागि वातावरणीय स्वच्छता र नविनतम प्रविधिका साथसाथै उत्पन्न हुने ‘वेस्ट” वा अनावश्यक वस्तुलाई समेत पुनः प्रयोग गरिरहेको जानकारी दिए।

करिब ५०० भन्दा बढी आकर्षक डिजाइनमा उपलब्ध लेमिनार भेट्रिफाइड टायल घरभित्र र बाहिरका विभिन्न स्थानमा मात्रै नभएर पार्किङ स्थलका लागि पनि उपयुक्त हुने कम्पनीले जनाएको छ।

लेमिनार टायल्सले आईएसओ ९००१ः२०१५, वातावरणीय व्यवस्थापन प्रणालीको लागि आईएसओ १४००१ः२०१५ र व्यावसायिक स्वास्थ्य र सुरक्षा व्यवस्थापन प्रणालीको लागि आईएसओ ४५००१ः२०१८ गरी तीन गुणस्तर प्रमाणपत्र पाइसकेको छ।

आफ्नो उत्पादनको गुणस्तर परीक्षणका लागि लुम्बिनी टायल्सले छुट्टै प्रयोगशाला परीक्षण समेत गर्ने गर्दछ। जसमा विभिन्न स्थानमा प्रयोग हुने टायलहरुको अवस्थाअनुसार टायलको गुणस्तर, पानी सोस्ने स्तर, कडापन, लचकपना, खिईने, फुट्ने, आगोले पार्ने असर लगायतका परीक्षण प्रत्येक पटकमा गर्ने गरिएको जानकारी दिएको छ।

“हामी मापदण्ड र गुणस्तरमा रहेर उत्पादन गर्न प्रतिबद्ध छौं। र अन्य टायलको मूल्यमा नै बजारमा उत्पादन दिईरहेका छौं,” उनले भने।

कम्पनीले माटो र माटो जस्तै लाग्ने खनिज पदार्थलाई आवश्यकता अनुसार सिलिन्डर आकारको ठूलो मेशिनमा राखी घोल्ने गर्दछ।

सो मिक्स पदार्थलाई अर्को एक ट्यांकीमा तताएर स्प्रे ड्रायर मेशिनमा राखेपछि दानादार पाउडरमा परिणत हुन्छ। उक्त पाउडरलाई ‘साइलो’ मेसिनमा स्टोर गरी एकदमै गह्रुँगो मेशिनले करिब ५५ सय भारको क्षमताले थिचेपछि टायलको प्रारम्भिक रूपमा परिक्षण हुन्छ।

उक्त टायललाई क्रमशः धोएर, ग्लेजिङ, कलरिङ्ग वा प्रिन्टिङ्ग गरेपछि यसको स्ट्रेन्थ जाँच गरेर, प्रयोगशाला परीक्षण गरेपछि बजार पठाइने लुम्बिनी सेरामिक्सका निर्देशक चुरिवालले बताए।

 

यस बाहेक, टायल उत्पादनको लागि उपयुक्त गुणस्तरको माटो डडेलधुरामा भेटिएको जानकारी दिँदै कम्पनीका अध्यक्ष सुब्रत धितालले आगामी दिनमा स्वदेशी माटो र कच्चा पदार्थ नै प्रयोग गर्ने योजना बनाएको जानकारी दिए।

प्रकाशित: १३ मंसिर २०८१, बिहीबार

Sajilo Visa
तपाइको प्रतिक्रिया