साइबर क्राइम अभियोगमा पक्राऊ परेका प्रसाईंलाई अदालतमा उपस्थित गराइयो, नियमित पेसी आज

Technology Khabar १२ मंसिर २०८१, बुधबार

साइबर क्राइम अभियोगमा पक्राऊ परेका प्रसाईंलाई अदालतमा उपस्थित गराइयो, नियमित पेसी आज
Global IME Bank

काठमाडौं ।

साइबर क्राइम अभियोगमा पक्राउ परेका व्यसायी दुर्गा प्रसाईलाई मङ्गलबार अदालतमा उपस्थित गराइएको छ। सर्वोच्च अदालतको आदेश अनुसार प्रसाईंलाई अदालतमा उपस्थित गराइएको हो।

एकल इजलासबाट गत शुक्रबार भएको आदेश अनुसार प्रसाईंलाई अदालतमा उपस्थित गराई आवश्यक प्रक्रिया पूरा गरी फिर्ता पठाइएको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले बताए।

मङ्सिर ९ गते न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश गरेको थियो। प्रसाईंको हकमा उनका छोरा नीराजन प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चले दुई दिनभित्र बन्दीसहित उपस्थित गराउन आदेश गरेको थियो। मुद्दाको नियमित पेसी भने अदालतले आज बुधबारका लागि तोकिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकम कम्पनीमा लगानी रहेको भन्दै किर्ते लगत कागजात तयार पारी अफवाह फैलाएको आरोप प्रसाईंमाथि लगाइएको छ। उक्त आरोपमा प्रसाईंलाई मङ्सिर ४ गते प्रहरीले पक्राउ गरेको थियो। जिल्ला अदालत काठमाडौंको म्यादबाट प्रसाईमाथि प्रहरोले अनुसन्धान गरिरहेको छ।

प्रसाईं यसअघि पनि साइबर क्राइम मुद्दामै धरौटीमा रिहा भएका थिए। प्रसाईंका छोराले नियमित कानुनी प्रक्रियासमेत पूरा नगरी पक्राउ गरिएको दावी गर्दै रिट दर्ता गरेका छन्। पक्राउ पुर्जीसमेत नदिएको, अदालतबाट समेत दूरारायपूर्वक म्याद थप गरिएको जिकिर रिटमा रहेको छ।

आजको गोरखापत्रबाट

Nepal Telecom
Sajilo Visa

प्रकाशित: १२ मंसिर २०८१, बुधबार