लुनर कार्गो डेलिभरीको परियोजना ब्लू ओरिजिन र स्पेसएक्लाई दिने नासाको निर्णय

Technology Khabar ११ मंसिर २०८१, मंगलवार

लुनर कार्गो डेलिभरीको परियोजना ब्लू ओरिजिन र स्पेसएक्लाई दिने नासाको निर्णय
Global IME Bank

काठमाडौं ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले २०३० को सुरुवाततिर चन्द्रमाको सतहमा प्रेसराइज्ड रोभर र सतह आवास सर्फेस ह्याबिटाट (surface habitat) पुर्‍याउनका लागि ब्लू ओरिजिन र स्पेसएक्सद्वारा विकसित आर्टेमिस चन्द्र अवतरण यानका कार्गो संस्करण प्रयोग गर्ने योजना बनाएको छ।

स्पेस डटकमका अनुसार नासाले ब्लू ओरिजिन को ब्लू मून र स्पेसएक्स को स्टारशिपका कार्गो संस्करणहरू विकास गर्नका लागि हालका सम्झौताहरूमा थप काम समावेश गर्ने घोषणा गरेको छ। यसका लागि नासाले यस वर्ष जनवरीमा मानव अवतरण प्रणाली (एचएलएस) को कार्गो संस्करणमा काम गर्न दुवै कम्पनीहरूलाई निर्देशन दिएको थियो।

नासा का अनुसार स्टारशिपले जापानी अन्तरिक्ष एजेन्सी जाक्साद्वारा विकसित गरिएको प्रेसराइज्ड रोभरलाई आर्थिक वर्ष २०३२ भन्दा पहिले चन्द्रमामा पुर्‍याउनेछ। यस्तै ब्लू मूनले आर्थिक वर्ष २०३३ भन्दा पहिले चन्द्र सतह आवास पुर्‍याउनेछ।

नासाको एचएलएस कार्यक्रमकी व्यवस्थापक लिसा वाटसन-मोर्गनले नोभेम्बर १९ मा जारी गरेको विज्ञप्तिमा भनिन्, “दुवै क्रु र कार्गो अवतरण यानको हालको डिजाइन र विकास प्रगति तथा आर्टेमिस मिशनको तालिका हेर्दा नासाले स्पेसएक्स लाई प्रेसराइज्ड रोभर मिसन र ब्लू ओरिजिनलाई चन्द्र सतह आवास डेलिभरीको जिम्मा दिएको छ।”

नासाले यी मिसनहरूको लागि दुबै कम्पनीलाई दिने रकम खुलाएको छैन। तर, २०२५ को सुरुमा दुवै कम्पनीलाई प्रस्ताव अनुरोध पठाइने जनाएको छ। किन यो निर्णय धेरै अगाडि नै घोषणा गरिएको भन्ने कारण पनि खुलाइएको छैन।

नासाका सहायक उपप्रशासक स्टीभ क्रीचले भने, “क्रु र कार्गो अवतरण क्षमतामा फरक दृष्टिकोण भएका दुई चन्द्र अवतरण प्रदायकहरू हुनुले मिशनमा लचिलोपन प्रदान गर्छ र चन्द्रमामा निरन्तर अवतरणको तालिका सुनिश्चित गरी नयाँ खोज र वैज्ञानिक अवसरहरू प्रदान गर्छ।”

जनवरीमा नासाले ब्लू मून र स्टारशिपको कार्गो संस्करणमा काम गर्न दुवै कम्पनीहरूलाई निर्देशन दिएको थियो। यी अवतरण यानहरू कम्तिमा १२ देखि १५ मेट्रिक टन चन्द्र सतहमा पुर्‍याउन सक्षम हुने गरी डिजाइन गरिएका हुन्, जुन नासाका हालका कमर्सियल लुनर पेलोड सर्भिसेज (CLPS) कार्यक्रम अन्तर्गत प्रयोग हुने रोबोटिक अवतरण यानभन्दा धेरै बढी हो।

नासाले जनवरीमा भनेको थियो कि ब्लू मून र स्टारशिपका कार्गो संस्करणहरूमा प्रारम्भिक काम हालका एचएलएस सम्झौताहरू अन्तर्गत गरिनेछ र यसका लागि अतिरिक्त कोष आवश्यक पर्ने छैन।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ११ मंसिर २०८१, मंगलवार

ताजा समाचार