Technology Khabar ८ मंसिर २०८१, शनिबार
काठमाडौं ।
युरोपेली र जापानी अन्तरिक्ष एजेन्सीहरूले ग्रहहरूको रक्षा, चन्द्रमा, मंगल ग्रह र त्यसपछि हुने अनुसन्धानमा सहकार्य अगाडि बढाउनेबारे संयुक्त बयान जारी गरेका छन्।
जसाका अध्यक्ष हिरोशी यामाकावा र ईएसएका महासचिव जोसेफ एसबाखरले नोभेम्बर २० मा जापानको त्सुकुबामा एक संयुक्त बयानमा हस्ताक्षर गरेका छन्। यस बयानमा ग्रह सुरक्षा, पृथ्वी अवलोकन, आईएसएसपछि लो अर्थ अर्बिट (एलईओ) गतिविधि, अन्तरिक्ष विज्ञान, र मंगल ग्रह अन्वेषणका क्षेत्रमा नयाँ सहकार्यका योजना समेटिएका छन्।
दुवै एजेन्सीहरूले यी क्षेत्रहरूमा आफ्नो साझेदारीलाई अझ सुदृढ गर्ने र भविष्यका महत्वपूर्ण मिसनतर्फ अघि बढ्ने वाचा गरेका छन्।
बयानमा विशेष गरी ईएसएको “र्यापिड अपोफिस मिसन फर स्पेस सेफ्टी (आरएएमएसईएस)” मा सहकार्य गर्न अध्ययनलाई तीव्र बनाउने प्रतिबद्धता जनाइएको छ। यो मिसन २०२९ मा पृथ्वी नजिक आउने एस्टेरोइड अपोफिसको अध्ययन गर्न लक्षित छ। मिसनलाई २०२५ को अन्त्यतिर हुने ईएसएका मन्त्रीस्तरीय बैठकमा पूर्ण स्वीकृति आवश्यक हुनेछ, तर प्रारम्भिक काम सुरु भइसकेको छ।
मंगल ग्रह मिसन र आईएसइसपछि
दुवै एजेन्सीहरूले २०३० को दशकमा मंगल ग्रहमा साना ल्यान्डर मिसनहरूका लागि सम्भावित सहकार्यबारे छलफल गरिरहेका छन्। यी मिसनहरूले विद्युतीय प्रोपल्सन र प्रवेश, अवतरण तथा ल्यान्डिङका क्षेत्रमा दुवै पक्षको विशेषज्ञता उपयोग गर्नेछन्।
यस्तै आईएसइसपछि लो अर्थ अर्बिट (एलईओ) मा वैज्ञानिक, सामाजिक र आर्थिक लक्ष्यहरू पूरा गर्ने योजनाबारे पनि छलफल भइरहेको छ।
स्पेसन्युज डटकमका अनुसार दुवै एजेन्सीहरूले चन्द्र अनुसन्धानमा सहकार्य गर्न, संयुक्त परीक्षणहरू गर्न र रोबोटिक मिसनहरूलाई समन्वय गर्न सहमति गरेका छन्। ईएसए को नयाँ चन्द्र एनालग सुविधा जाक्सा का इन्जिनियरहरूको लागि खुला गरिनेछ। ईएसए को मूनलाइट कार्यक्रमलाई प्रयोग गर्दै चन्द्रमा सञ्चार र नेभिगेसन प्रणालीहरूलाई अन्तरक्रियाशील बनाउने प्रयास पनि हुनेछ।
अन्तरिक्ष विज्ञान
अन्तरिक्ष विज्ञानको क्षेत्रमा ईएसए र जाक्साले संयुक्त रूपमा ईएसएको एथिना नामक उच्च-ऊर्जा खगोल भौतिकी टेलिस्कोप मिसन र एम- एमएटीआईएसएसई तथा प्लाज्मा अब्जरभेटरीजस्ता अन्य मिसनहरूको लागि सहकार्य जारी राख्नेछन्।
ठूला मिसन योजनाहरू, जसले विशाल ग्रहका चन्द्रमाहरूलाई केन्द्रित गर्दछ, र जाक्साको लाइटबर्ड मिसनमा पनि निरन्तर संवाद हुनेछ।
दशकौं लामो सहकार्य र “नेक्स्ट बिग कोअपरेशन्स”
बयानले बिपीकोलम्बो (बेपीकोलम्बो) जस्ता संयुक्त मिसन र पृथ्वीको मौसमलाई असर गर्ने बादल र एयरोसोलको अध्ययन गर्ने अर्थकेयर मिसनजस्ता दशौं वर्षदेखि चलेका सहकार्यलाई झल्काएको छ।
ईएसए र जाक्साका अन्तरिक्षयात्रीहरूले आईएसएसमा सहकार्य गरेर काम गरेका अनुभवलाई पनि सराहना गरिएको छ।
‘नेक्स्ट बिग कोअपरेशन्स’ नामक यो नयाँ सहकार्यले समाजिक प्रगतिमा योगदान गर्ने, वैज्ञानिक नवप्रवर्तन अघि बढाउने, र दिगो अन्तरिक्ष अनुसन्धानलाई समर्थन गर्नेछ। यो सहकार्यले जलवायु परिवर्तन र ग्रहहरूको सुरक्षा जस्ता महत्त्वपूर्ण मुद्दाहरू समाधान गर्न केन्द्रित हुने बताइएको छ।
भविष्यका जाक्सा प्रयासहरू
जाक्साका उपनिर्देशक कोइची सुजुकीले नोभेम्बर २१ मा जर्मनीको ब्रेमेनमा आयोजित स्पेस टेक एक्स्पो युरोपमा भनेअनुसार, एसएलआईएम चन्द्र अवतरण,एडीआरएएस-जे र अर्थकेयरजस्ता हालैका उपलब्धिहरूलाई थप मजबुत बनाउँदै जापानले भविष्यमा नयाँ चन्द्र मिसनहरू सञ्चालन गर्नेछ।
भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) सँग साझेदारी गर्दै चन्द्रको दक्षिण ध्रुवमा ल्युपेक्स मिसन सञ्चालन गर्ने, आर्टेमिस कार्यक्रमको लागि मानवसहितको प्रेसराइज्ड रोभर निर्माण गर्ने र कक्षीय मलबा हटाउने प्रविधि प्रदर्शन गर्ने जाक्साका लक्ष्यहरू छन्। जाक्साले भविष्यमा एडिटिभ म्यानुफ्याक्चरिङ जस्ता प्रविधिहरूमा पनि ध्यान दिनेछ।
प्रकाशित: ८ मंसिर २०८१, शनिबार