Technology Khabar ६ मंसिर २०८१, बिहीबार
काठमाडौं ।
नयाँ बजारहरूमा प्रवेश गर्दा २०२९ सम्म वार्षिक २२ अर्ब डलर थप आम्दानी गर्ने अपेक्षा गरेको क्वालकमले मंगलबार घोषणा गरेको छ। यस आम्दानीमध्ये करिब ४ अर्ब डलर पीसी अर्थात् पर्सनलाइज्ड कम्प्युटर चिप्सबाट आउने क्वालकमले आफ्नो मंगलबारको लगानीकर्ताको कार्यक्रममा बतायो।
कम्पनीले यसै वर्ष पीसी प्रोसेसरहरू प्रस्तुत गर्दै स्न्यापड्रागन एक्स विण्डोज उपकरणहरूको लागि सार्वजनिक गरेको थियो। नयाँ पूर्वानुमान क्वालकमका सीईओ क्रिस्टियानो आमनको लागि महत्त्वपूर्ण उपलब्धि हो जसले सन् २०२१ मा कम्पनीको नेतृत्व सम्हाल्दै स्मार्टफोनमाथिको निर्भरता हटाउने वाचा गरेका थिए।
आर्थिक वर्ष सन् २०२४ मा क्वालकमको ह्यान्डसेट व्यवसायले २४.८६ अर्ब डलर बिक्री रिपोर्ट गर्यो जुन यसको कुल चिप व्यवसायको करिब ७५% हो।
क्वालकमले मंगलबार नै अटोमोटिभ राजस्व सन् २०२९ सम्म करिब १७५% बढेर ८ अर्ब डलरमा पुग्ने र यसको ८०% हिस्सा पहिले नै सुरक्षित सम्झौताबाट आउने पनि थप बतायो।
“धेरै वर्षदेखि विकास गरेका प्रविधिहरू मोबाइलबाहेकका धेरै विभिन्न उद्योगहरूमा पनि निकै सान्दर्भिक हुन सक्छन् भन्ने कुरा हामीले महसुस गर्दै यस मार्गमा अघि बढिरहेका छौं,” आमनले लगानीकर्ता कार्यक्रममा बताएका छन्।
सीएनबीसीका अनुसार अर्को ४ अर्ब डलर आम्दानी औद्योगिक चिप्सबाट आउनेछ र ३ अर्ब हेडसेटका लागि चिप्सबाट आउनेछ जसलाई क्वालकमले एक्सआर भन्ने वर्गमा राखेको छ। अनुमानित आम्दानीमध्ये करिब ४ अर्ब डलर वायरलेस हेडफोन र ट्याब्लेटजस्ता अन्य चिप बिक्रीका लागि छुट्याइएको छ।
यस वर्ष क्वालकम को सेयर १६% ले बढेको छ जुन नास्दाकको २६% वृद्धिको तुलनामा कम हो। पछिल्लो दशकमा क्वालकम तीव्र रूपमा बढेको थियो, किनकि यसको मोडेम र प्रोसेसर विशेष गरी गुगल एण्ड्रोइड चलाउने हरूका लागिउच्च-गुणस्तरका स्मार्टफोनहरूको महत्त्वपूर्ण हिस्सा बनेका थिए। क्वालकमले एप्पललाई आईफोनहरुका लागि पनि मोडेम र सम्बन्धित पार्टहरू बेच्ने गर्छ।
आफ्नो मोबाइल चिप्सले हाल ठूलो सर्भर फार्महरूमा सीमित रहेको उन्नत एआई सञ्चालन गर्नसक्ने क्वालकमले दावी गरेको छ। यो प्रविधि अझ प्रभावकारी हुँदै गएपछि क्वालकम एआई बूमबाट लाभ लिन सक्ने सम्भावना देखिन्छ।
प्रकाशित: ६ मंसिर २०८१, बिहीबार