एक्स (ट्विटर) चलाउन झर्को लाग्यो? यसरी गर्नुहोस् एकाउन्ट डिलिट वा डिएक्टिभेट

Technology Khabar ६ मंसिर २०८१, बिहीबार

एक्स (ट्विटर) चलाउन झर्को लाग्यो? यसरी गर्नुहोस् एकाउन्ट डिलिट वा डिएक्टिभेट

काठमाडौं ।

अमेरिकी अर्बपति ईलन मस्कको स्वामित्वमा रहेको एक्स (पहिलेको ट्विटर) मा हाल ठूलो मात्रामा प्रयोगकर्ताहरूको पलायन भइरहेको छ।

मस्कको डोनाल्ड ट्रम्पको अमेरिकी सरकारसँगको सम्बन्धलाई लिएर आलोचना भएपछि यस प्लेटफर्मको सामग्री व्यवस्थापन र भविष्यको सञ्चालनप्रति प्रयोगकर्ताहरू चिन्तित भएका छन्। यदि तपाईं पनि एक्स छोड्ने योजना बनाउँदै हुनुहुन्छ भने आफ्नो खाता हटाउन यो उपयुक्त समय हो।

तर एक्सले सीधै आफ्नो खाता स्थायी रूपमा मेटाउने विकल्प प्रदान गर्दैन। त्यसैले तपाईंले आफ्नो खाता अस्थायी रूपमा निष्क्रिय (डिएक्टिभेट) गर्नुपर्नेछ। यो प्रक्रिया स्थायी रूपमा खाता मेटाउने पहिलो चरण हो।

खातालाई निष्क्रिय गर्दा ३० दिनको समयावधि सुरु हुन्छ, जसले तपाईंलाई आफ्नो निर्णय पुनःविचार गर्ने मौका दिन्छ। यस अवधिमा तपाईंको प्रयोगकर्ता नाम र सार्वजनिक प्रोफाइल एक्स डटकम,आईओएसको लागि एक्स, वा एण्ड्रोइड एपमा नदेखिने न्युज१८ले उल्लेख गरेको छ।

आफ्नो एक्स खाता निष्क्रिय गर्ने (डिएक्टिभेट) वा मेटाउने तरिका

१. आफ्नो एक्स खातामा लगइन गर्नुहोस्।

२. एक्स एपको माथिल्लो दायाँ कुनामा रहेको आफ्नो प्रोफाइल तस्वीरमा क्लिक गर्नुहोस्।

३. ड्रपडाउन मेनुबाट सेटिङ्स एण्ड प्राइभेसी मा ट्याप गर्नुहोस्।

४. योर अकाउन्ट सेटिङमा जानुहोस्।

५. तल स्क्रोल गरी डिएक्टिभेट योर एकाउन्ट विकल्पमा क्लिक गर्नुहोस्।

६. खातालाई निष्क्रिय गर्न एक्सले पुष्टि माग्नेछ, त्यसमा क्लिक गर्नुहोस्।

७. आफ्नो पासवर्ड प्रविष्ट गरी प्रक्रिया प्रमाणित गर्नुहोस्।

८. अब तपाईंको एक्स खाता निष्क्रिय गरिएको छ।

निष्क्रिय भएपछि के हुन्छ?

तपाईंको एक्स खाता, पोस्टहरू, र फलोअर्सहरू अन्य व्यक्तिले हेर्न सक्दैनन्। तर ३० दिनको अवधिमा आफ्नो खातामा पुनः लगइन गरेर तपाईं खाता पुनः सक्रिय (रिएक्टिभेट) गर्न सक्नुहुन्छ।

तर यदि ३० दिनको अवधिमा तपाईंले आफ्नो खातामा लगइन गर्नुभएन भने तपाईंको खाता स्थायी रूपमा मेटाइनेछ। यस समयावधिमा लगइन नगर्नु तपाईंको खाता स्थायी रूपमा हटाउन चाहनुभएको संकेत रहेको न्युज१८ले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: ६ मंसिर २०८१, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार