Technology Khabar ५ मंसिर २०८१, बुधबार
काठमाडौं ।
मेटा प्लेटफर्म्सले मंगलबार भारतको प्रतिस्पर्धा नियामकले दिएको आदेशसँग असहमति जनाउँदै कानुनी चुनौती दिने बताएको छ।
रोयटर्सका अनुसार भारतको कम्पिटिशन कमिशन अफ इण्डिया (सीसीआई) ले सोमबार मेटाको स्वामित्वमा रहेका अन्य एपहरूलाई विज्ञापन उद्देश्यका लागि व्हाट्सएपबाट प्रयोगकर्ताको डाटा साझेदारी नगर्न पाँच वर्षको लागि निर्देशन दियो। साथै २०२१ को गोपनीयता नीतिसम्बन्धी प्रतिस्पर्धा विरोधी उल्लङ्घनका कारण मेटालाई २५.४ मिलियन डलर जरिवाना गर्यो।
सीसीआईले २०२१ मा सुरु भएको व्हाट्सएपको गोपनीयता नीतिमा अनुसन्धान थालेको थियो। उक्त नीतिले मेटा र यसको अन्य एकाइहरू बीच डाटा साझेदारीलाई अनुमति दिएको थियो जसले विश्वव्यापी विरोध निम्त्याएको रोयटर्सले उल्लेख गरेको छ।
सोमबार सीसीआईले भनेको थियो, “व्हाट्सएप सेवा प्रदान गर्न बाहेक अन्य उद्देश्यका लागि व्हाट्सएपबाट सङ्कलित प्रयोगकर्ता डाटा मेटाका अन्य कम्पनीहरूसँग साझेदारी गर्नु भारतमा प्रयोगकर्ताहरूलाई व्हाट्सएप सेवा उपयोग गर्नका लागि सर्त बनाइनु हुँदैन।”
मंगलबार मेटाका प्रवक्ताले भने, ‘२०२१ को अपडेटले मानिसहरूको व्यक्तिगत सन्देशको गोपनीयता परिवर्तन गरेको थिएन। हामीले यो सुनिश्चित गरेका थियौँ कि यस अपडेटका कारण कसैको खाता बन्द हुने वा व्हाट्सएप सेवाको कार्यक्षमता गुम्ने थिएन।’
प्रकाशित: ५ मंसिर २०८१, बुधबार