मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राऊ, प्रधानमन्त्रीविरुद्ध विवादित अभिव्यक्ति दिएर सामाजिक सञ्जालमा भएका थिए भाइरल

Technology Khabar ४ मंसिर २०८१, मंगलवार

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राऊ, प्रधानमन्त्रीविरुद्ध विवादित अभिव्यक्ति दिएर सामाजिक सञ्जालमा भएका थिए भाइरल
Global IME Bank

काठमाडौं ।

आफूलाई नागरिक अभियन्ता भन्न रुचाउने मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राऊ परेका छन्। हालै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विदेशमा अर्बौं रुपैयाँ लगानी गरेको भन्ने विवादित अभिव्यक्ति दिएका कारण उनी पक्राऊ परेको बुझिएको छ।

उनलाई उक्त विवादित अभिव्यक्तियुक्त भिडियोका कारण नै पक्राऊ गरिएको प्रहरीको भनाई छ। सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राऊ गरी थप अनुसन्धानका लागि साइबर ब्यूरो भोटाहिटीमा पठाइएको सीआईबीका प्रवक्ता तथा सूचना अधिकारी होविन्द्र बोगटीले जानकारी दिए।

यसअघि पनि केही महिनाअघि सामाजिक सञ्जालमार्फत् अन्य राजनीतिक व्यक्तिहरुमाथि यस्तै विवादित अभिव्यक्ति दिएपछि उनी पक्राऊ परेका थिए।

केही समययता प्रधानमन्त्री ओलीविरुद्ध खनिँदै र सार्वजनिक कार्यक्रमहरुमा समेत तथानाम गाली गर्दै आएका प्रसाईँले हिजो आइतबार राति आफ्नो फेसबुक एकाउण्टमा पत्रकार सम्मेलनको निमन्त्रणाको पोस्ट राख्दै प्रधानमन्त्री ओलीले कम्बोडियाको आजियाटा कम्पनीमा अर्बौं रुपैयाँ लगानी गरेको अभिव्यक्ति दिएका थिए।

उनले हिजो आइतबार बिहान साढे ९ बजे आसपास एउटा भिडियो फेसबुकमा पोस्ट गर्दै यस्तो क्याप्सन लेखेका थिए:

‘ल हेर्नुहोस् केपी ओलीको कम्बोडियाको लगानी, हालका देशका प्रधानमन्त्रीको असली चरित्र ।

 

उक्त भिडियोमा कम्बोडियाको आजियाटामा लगानीका लागि प्रधानमन्त्री ओली र व्यवसायी शतिसलाल आचार्यको नामसहित हस्ताक्षर गरेको प्रमाणहरु देखाइएको छ। र भनिएको छ, ‘हाम्रा अभियन्ता दुर्गा प्रसाईँलाई कम्बोडियाको आजियाटा कम्पनीमा हाम्रै देशका प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी गरिएको प्रमाण प्राप्त भएको छ।’

तर प्रमाण भनिएको समझदारी पत्रको शुरुको नाममा भने खड्गप्रसाद ओलीको स्पेलिङ गलत लेखिएको छ। यसबाट उक्त प्रमाण भनिएको कागजात ‘फेक’ रहेको देखिन्छ। उक्त समझदारीपत्रमा प्रधानमन्त्री ओलीले सन् २०१९ मा शेयरहोल्डरका रुपमा हस्ताक्षर गरेको देखाइएको छ। उक्त कम्पनीमा प्रम ओलीको २१ करोड अमरिकी डलर अर्थात् नेपाली ३२ अर्ब रुपैयाँ हाराहारी लगानी भएको दावी गरिएको छ।

प्रम ओलीसँगै एनसेल नेपालका प्रमुख शतिसलाल आचार्य पनि रहेको र अर्कोतर्फबाट कम्बोडियाको आजियाटा कम्पनीका थोमस हुण्ड्टले हस्ताक्षर गरेको देखाइएको छ। तर यी कागजात सक्कली नै हुन् र यही आधिकारिक स्रोतबाट प्राप्त भएको भन्ने कुनै प्रमाण दिइएको छैन।

यसैगरी आइतबार बिहान १० बजेर १० मिनट जाँदा यस प्रकारको पोस्ट राख्दै पत्रकार सम्मेलनमा आउन आग्रह गरेका थिए:

‘पत्रकार साथीहरु हार्दिक निमन्त्रणा।
नेपालका गद्धार नेताहरु जसले बिदेशमा लगानी गरेका छन् उनिहरुको प्रमाण सहित आज दिउसो ३ः३० बजे आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर प्रमाणहरु सार्वजनिक गर्दै छु सबै पत्रकार साथीहरुलाई उपस्थितिका लागि अनुरोध गर्दछु । आम नेपालीजनमा देश बन्छ भनेर भ्रम छर्ने आफैले आफैलाई देश बन्ने कुरामा विश्वास नलागेर यहाँ भ्रष्टाचार गरेको रकम बिदेशमा लगानी गर्ने देशका यस्ता कुलंगारलाई ईतिहासले सराप्ने छ । मैले प्रमाण ल्याउन मेरो तन, मन,धन, समयको लगानी गरेको छु, यो प्रमाण ल्याएको यी भ्रष्टले थाहा पाएपछि राज्यसत्ताको दुरुपयोग गरेर मलाई सिध्याउन खोजिरहेका छन् आम नागरिक चनाखो रहनुहोला । बाँकी पत्रकार सम्मेलनमा खोल्नेछु।’

 

यी दुवै पोस्टहरुमा प्रधानमन्त्री केपी ओली तथा नेताहरुप्रति विवादित आक्षेप लगाइएको छ भने गालीगलौजको भाषासमेत प्रयोग भएको छ। यसैकारण पनि उनी आफ्ना अभिव्यक्तिका कारण सामाजिक सञ्जालमा भाइरल भएका थिए।

यसैबीच बिहान साढे १० बजे हाराहारी आफूलाई पक्रने तयारी भइरहेको र आन्दोलनका लागि तयार रहन आग्रह गर्दै अर्को यस प्रकारको पोस्ट गरेका थिए:

हिँजो मैले कम्बोडीयामा केपी ओलीको लगानी रहेको बिषय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरे संगै मलाई यो राज्य सत्ताले फेरी झुटो मुद्धा लगाई पक्राउको तयारी गरेको छ । मलाई साईवर क्राईम, राज्यद्रोह वा अन्य जुनसुकै मुद्धामा पक्राउ गरेपनी सचेत र चनाखो रहन आग्रह गर्दछु । देशभक्त सम्पुर्ण नागरिकहरु, राष्ट्रवादि राजनितिक दल कांग्रेस, रास्वपा, राप्रपा, एकिकृत समाजवादी भित्रका असल नेता कार्यकर्ताहरु हामी चुप लागेर बस्दा सम्म यी र यस्ता सामन्त शासकले हामीलाई जेल कोच्ने र देश लुट्ने काम गरिरहनेछन् । राजधानी केन्द्रित रही आन्दोलनको आँधिवेहरीका लागी तयार रहनुहुन सबै देशभक्त नागरिकमा हार्दिक अपिल गर्दछु।’
Nepal Telecom
Sajilo Visa

प्रकाशित: ४ मंसिर २०८१, मंगलवार