फीन इलेक्ट्रो टेक –२०२४ सफलतापूर्वक सम्पन्न, ४० हजारले गरे अवलोकन

Technology Khabar ३ मंसिर २०८१, सोमबार

फीन इलेक्ट्रो टेक –२०२४ सफलतापूर्वक सम्पन्न, ४० हजारले गरे अवलोकन
Global IME Bank

काठमाडौं ।

नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको ‘फीन इलेक्ट्रो टेक –२०२४’ प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएको छ। भृकुटीमण्डपमा कार्तिक २९ गतेबाट सञ्चालित फीन इलेक्ट्रो टेक हिजो अर्थात् मंसिर २ गते भव्यताका साथ समापन भएको हो।

ट्रान्सवेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित ११औं संस्करणको फीन इलेक्ट्रो टेकमा अवलोकनकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। महासंघले आयोजना गरेको यो प्रदर्शनीको पहिलो दिन ७ हजार, दोस्रो दिन ९ हजार, तेस्रो दिन १७ हजार र चौथो दिन ७ हजारले गरी जम्मा ४० हजारले अवलोकन गरे।

इलेक्ट्रिक र इलेक्ट्रोनिक्स सामग्रीहरूको प्रयोगमा आएको महत्वपूर्ण परिवर्तनले  दैनिक जीवनमा आएका सहजता र प्रभावकारी बारे उपभोक्तालाई बुझ्न यस मेलाले थप सहज बनाएको महासंघले विश्वास लिएको छ। मेलामा इलेक्ट्रिक मोटर, जेनरेटर, विद्युत ट्रान्समिशन लाइनका उपकरण, ट्रान्सफर्मर, घरमा प्रयोग गर्ने विद्युतीय सामग्रीहरू मेलाको आकर्षणमा थिए। यस पटकको मेला महासंघले “प्रविधिको नयाँ आयाम, विद्युतीय सामग्रीमा सुरक्षा र गुणस्तर कायम” भन्ने नाराका साथ आयोजना गरेको हो।

मेलामा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव, भारतीय राजदूतावासका उच्च पदस्थ व्यक्तिहरु, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ एवं नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरूका साथै नेपाली क्रिकेटरहरु, कालाकारहरु, कन्सल्टिङ्ग, आर्किटेक्चर, इलेक्ट्रीकल इन्जीनियर, इन्टेरियर डेकोरेटर, प्राविधिककर्मी, नेपाल भरका उद्योगी एवं व्यवसायीहरुले पनि अवलोकन गरेका थिए।

मेलालाई थप प्रभावकारी बनाउनको लागि मेला अवधिभर विभिन्न विधामा रहेर विज्ञहरूको समूहद्वारा छलफल भएको थियो।

यस पटकको फीन इलेक्ट्रो टेकमा हल भित्र र बाहिर गरी ८२ वटा प्याभिलियन तथा स्टलहरू रहेका थिए । जसमा नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीहरूको उत्पादनहरु, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामाग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्विचहरू, एलईडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक ऊर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शनी गरिएको थियो।

इलेक्ट्रोनिक्स उद्योगका उत्पादन प्रदर्शन गर्न, नयाँ उत्पादनको परिचय दिन, उद्योगका पेशेवरहरूलाई नेटवर्किङ गर्ने र उपभोक्ताहरूलाई नयाँ प्रविधिको बारेमा जानकारी दिने उद्देश्यका साथ महासंघले मेलाको आयोजना गर्दै आएको छ।

 

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ३ मंसिर २०८१, सोमबार