Technology Khabar २ मंसिर २०८१, आईतवार
काठमाडौं ।
राष्ट्रिय अपाङ्ग महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णुप्रसाद शर्माले अपाङ्गमैत्री सूचना आ–आफ्नो मन्त्रालयको ‘वेबसाइट’ मा ‘अपलोड’ गर्न आग्रह गरेका छन्।
कर्णाली प्रदेश सरकारका मन्त्रालय तथा आयोगमा कार्यरत कम्प्युटर अधिकृतहरूसँग महासङ्घले ‘अपाङ्गमैत्री सूचना तथा सञ्चार प्रणाली विकास’ शीर्षकमा शनिबार आयोजना गरेको अन्तक्रियामा अध्यक्ष शर्माले अपाङ्गता भएका व्यक्तिहरूले समेत पढ्न र देख्न सक्नेगरी वेबसाइटमा सूचना ‘अपलोड’ गर्न अनुरोध गरे।
अध्यक्ष शर्माले भने, “हरेक लिखित फाइल प्रीतिलगायत अन्य ‘फन्ट’ मा होइन, युनिकोडमा लेख्नूहोस् । ती तयार गरेका फाइल स्क्यानिङ मात्र होइन, पिडिएफ गरेर आफ्नो वेबसाइटमा ‘अपलोड’ गर्नुहोस् जहाँ कि नेत्रहीन अपाङ्गता भएका व्यक्तिलगायत सबैले सजिलै पढ्न सक्छन्। यसो हुन सकेमा मात्र सबैका लागि सही सञ्चार हुन्छ । यो व्यवस्था गर्नु राज्यको दायित्व पनि हो।”
अध्यक्ष शर्माले अपाङ्गतालाई समस्याका रूपमा नहेर्न सुझाउँदै अपाङ्गता भएका व्यक्ति सेवाग्रही मात्र नभएर सेवा प्रदायक पनि हुन भन्ने बुझाई राख्न अनुरोध गरे।
महासङ्घका प्रदेश व्यवस्थापक आनन्दबहादुर विष्टले मन्त्रालयका सबै प्राविधिकहरूले आफ्नो जिम्मेवारी पूरा गर्न सकेमात्र अपाङ्गता भएका व्यक्ति पहुँच सञ्चारबाट वञ्चित नहुने बताए। उनले भवन संहिताअनुसार अब बन्ने संरचना अपाङ्गमैत्री बनाउन प्रदेश सरकारलाई ध्यानाकर्षण गराइएको जनाए।
अन्तक्रियामा दृष्टिहीन शिक्षक उत्तम विश्वकर्माले कर्णाली प्रदेश सरकारको वेबसाइटमा अपाङ्गमैत्री सूचना नभएको र आगामी दिन पहुँचयुक्त सञ्चारमा जोड दिन मन्त्रालयका प्राविधिक कर्मचारीलाई सुझाए।
सहभागी प्राविधिक कर्मचारीहरूले अपाङ्गतामैत्री सूचना सञ्चार हुनेगरी वेबसाइटमा युनिकोडमा लेखी हरेक डकुमेन्ट पिडिएफ बनाएर अपलोड गर्ने प्रतिबद्धता जनाएका छन्।
अन्तक्रियामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आर्थिक मामिला तथा योजना, सामाजिक विकास, भौतिक पूर्वाधार तथा सहरी विकास, आन्तरिक मामिला तथा कानुन, भूमि व्यवस्था, कृषि तथा सहकारी, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कर्णाली प्रदेश योजना तथा लोक सेवा आयोग र कर्णाली प्रदेश प्रहरी कार्यालयका कम्प्युटर प्राविधिकहरूको सहभागिता रहेको थियो। रासस
प्रकाशित: २ मंसिर २०८१, आईतवार