Technology Khabar १ मंसिर २०८१, शनिबार
काठमाडौं ।
न्यूयोर्कका एक प्रविधि उद्यमीलाई बिहीबार पाँच वर्षको जेल सजाय सुनाइएको छ। उनले विश्वकै ठूला क्रिप्टोकरेन्सी एक्सचेन्जमध्ये एक बिटफाइनेक्सबाट चोरी गरिएको सम्पत्ति शुद्धिकरण गरेको आरोपमा गत वर्ष दोषी ठहरिएका थिए।
रोयटर्सका अनुसार यो अपराधमा उनको पत्नीको पनि सहयोग थियो। ३५ वर्षीय इल्या लिचेन्स्टाइनले सन् २०१६ मा बिटफाइनेक्सको नेटवर्कमा प्रवेश गर्न उन्नत ह्याकिङ उपकरण र प्रविधिको प्रयोग गर्दै करिब १ लाख २० हजार बिटक्वाइन चोरी गरेका अमेरिकी न्याय विभागले एक वक्तव्यमा जनाएको छ।
उनलाई र उनकी पत्नी हिदर मोर्गनलाई सन् २०२२ को फेब्रुअरीमा पक्राउ गरिएको थियो। हेदर आफ्नो संगीतलाई प्रवर्द्धन गर्न “र्याजलखान” नामक हिप-हप उपनाम प्रयोग गर्थिन्।
चोरी भएको बेला ती बिटक्वाइनको मूल्य ७१ मिलियन डलर थियो, तर उनीहरूको गिरफ्तारीको समयमा यसको मूल्य ४.५ बिलियन डलरभन्दा बढी भएको थियो।
उपमहान्यायाधिवक्ता लिजा मोनाकोले त्यतिबेला भनेकी थिइन् कि अभियोजनकर्ताहरूले दम्पतीबाट बरामद गरेको ३.६ बिलियन डलर सम्पत्ति अमेरिकी न्याय विभागको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो वित्तीय बरामद हो।
हिदर मोर्गनले पनि गत वर्ष सम्पत्ति शुद्धीकरणको षड्यन्त्रमा दोषी ठहरिएकी थिइन्। उनलाई नोभेम्बर 18 मा सजाय सुनाइनेछ। लिचेन्स्टाइनलाई जेल सजायका अतिरिक्त तीन वर्षको निगरानीमा रिहाईको आदेश पनि दिइएको रोयटर्सले उल्लेख गरेको छ।
प्रकाशित: १ मंसिर २०८१, शनिबार