नासाका डाक्टर भन्छन्: आईएसएसका सबै अन्तरीक्ष यात्रीको स्वास्थ्य राम्रो छ, हल्लाको पछि नलाग्नूस् !

Technology Khabar ३० कार्तिक २०८१, शुक्रबार

नासाका डाक्टर भन्छन्: आईएसएसका सबै अन्तरीक्ष यात्रीको स्वास्थ्य राम्रो छ, हल्लाको पछि नलाग्नूस् !
Global IME Bank

काठमाडौं ।

पछिल्ला केही दिनदेखि द न्यूयोर्क पोस्ट र द डेली मेलजस्ता मिडिया प्लेटफर्महरूलेअन्तर्राष्ट्रिय स्पेस स्टेशन (आईएसएस) का अन्तरिक्ष यात्रीहरू सुनीता विलियम्स र बुच विल्मोरको स्वास्थ्यबारे गलत अफवाहहरू फैलाइरहेका छन्।

यी अफवाहहरूमा विलियम्सको स्वास्थ्य बिग्रँदै गएको भनिएको थियो र हिजो नोभेम्बर १३ मा त्यस्तै अडकलहरू विलमोरका लागि पनि लगाइएको थियो।

नासा र स्वयं सुनीता विलियम्सले यी अडकलहरूको खण्डन गर्दै दुवैजना पूर्ण रूपमा स्वस्थ रहेको पुष्टि गरेका छन्। नासाका चिफ हेल्थ एन्ड मेडिकल अफिसर डा. जे.डी. पोल्कले नोभेम्बर १३ मा इमेलमार्फत पत्रकारहरूलाई जानकारी दिँदै भने, “आईएसएसमा रहेका सबै नासा अन्तरिक्ष यात्रीहरू स्वस्थ छन्। अफवाहहरू निरन्तर जारी रहनु दुर्भाग्यपूर्ण हो।”

सुनीता विलियम्सको स्वास्थ्यबारे अफवाहहरू

अफवाहहरू हालै नासाले जारी गरेका केही फोटोहरूमा आधारित थिए, जहाँ विलियम्सको गाला पातलो देखिएको भन्दै द डेली मेल र द न्यूयोर्क पोस्ट ले उनलाई बाथ देखिएको दावी गरेका थिए।

नासासँग सम्बन्धित नभएका डा. विनय गुप्ताले द डेली मेलमामा टिप्पणी गरेका थिए, उनले फोटोमा देखिएको अवस्था उच्च उचाइमा लामो समय बस्दा हुने प्राकृतिक तनावहरूको संकेत भएको बताएका छन्।

तर विलियम्सले नोभेम्बर १२ मा आईएसएसबाट दिएको भिडियो अन्तरवार्तामा भनिन्, “म यहाँ आएको समयदेखि मेरो तौल उस्तै छ।” उनले थप भनिन्, “म यहाँ नियमित रूपमा भारोत्तोलन अभ्यास गर्दैछु, जुन म सधैं गर्दिनँ, जसका कारण मेरो तिघ्रा र पछाडिको भाग अलि ठूलो भएको छ। तर मेरो तौल उस्तै छ।”

तस्बिर सौजन्य: नासा

द न्यूयोर्क पोस्टले आज एक लेखमा भन्यो, “नासाले साथी अन्तरिक्ष यात्री सुनीता विलियम्सको स्वास्थ्यबारे चिन्ता उठाएपछि बुच विलमोरको सम्भावित तौल घटिरहेको कुराको निगरानी गरिरहेको छ।” यद्यपि विल्मोर पनि पूर्ण रूपमा स्वस्थ छन्, र यसबारेका सबै अडकलहरू गलत हुन् भन्ने नासाले स्पष्ट पारिसकेको स्पेस डटकमले उल्लेख गरेको छ।

अन्तरिक्षमा रहने चुनौतीपूर्ण वातावरणका कारण अन्तरिक्ष यात्रीहरूमा शारीरिक परिवर्तनहरू देखिन सक्छन्, तर हालका रिपोर्टहरूमा दावी गरिएका स्वास्थ्य समस्या झूटा र आधारहीन रहेको  नासाको भनाइ छ।

गलत सूचना फैलाउने प्रयासको खण्डन

नासाले सार्वजनिक रूपमा अन्तरिक्ष यात्रीहरूको स्वास्थ्यबारे गलत सूचना फैलाउने प्रयासको खण्डन गरेको छ। द न्यूयोर्क पोस्ट र अन्य मिडिया आउटलेटहरूले दावी गरेअनुसार बुच विल्मोरले पनि शरीरको तौल घटाइरहेका नासाका नाम नखुलाइएका कर्मचारीले बताएका छन्।

ती स्रोतले भनेका छन्, “विल्मोरसँग मिशनको सुरुवातमा धेरै मास (बडी मास) भएकोले यो त्यति ठूलो समस्या होइन।” साथै, विलियम्सलाई “जबरजस्त पातलो” देखिएको भनेर फोटोमा उल्लेख गरिएको छ, जहाँ उनलाई वजन बढाउन सहयोग गरिरहेको दावी पनि गरिएको छ।

नासाका चिफ हेल्थ एन्ड मेडिकल अफिसर डा. जे.डी. पोल्कले नोभेम्बर १३ मा जारी बयानमा भनेका छन्: “नासा र हाम्रा साझेदारहरूले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा लामो अवधिसम्म सुरक्षित मिशनहरू सञ्चालन गरेका छन्।

यस क्रममा हामीले आगामी गहिरो अन्तरिक्ष अन्वेषणको तयारीस्वरूप मानव शरीरमा स्पेसको प्रभावबारे अध्ययन गर्दै आएका छौं।” उनले थप भने, “अन्तरिक्ष यात्रीहरूको स्वास्थ्य नियमित रूपमा पृथ्वीमा रहेका फ्लाइट सर्जनहरूले अनुगमन गरिरहेका छन्। उनीहरूका लागि व्यक्तिगत आहार र फिटनेस योजना तयार गरिएको छ, जसले उनीहरूलाई मिशनका क्रममा स्वस्थ राख्न मद्दत गर्दछ।”

अफवाहहरूको वास्तविकता: फसेका अन्तरिक्ष यात्री?

मिडिया रिपोर्टहरूमा विलियम्स र विलमोर लाई फसेका अन्तरिक्ष यात्री भनेर उल्लेख गरिएको छ, तर यो पूर्ण रूपमा सही छैन। दुवैजना बोइङ स्टारलाइनर मार्फत गत जून महिनामा आईएसएस  पुगेका थिए जुन क्रू फ्लाइट टेस्टको पहिलो मानवयुक्त मिशन थियो।

यो मिशन मूल रूपमा १० दिनको लागि योजना गरिएको थियो, तर स्टारलाइनरको प्रोपल्सन सिस्टममा समस्या आएपछि मिशन लामो समयसम्म लम्बिएको थियो।

नासाले तुरुन्तै वैकल्पिक योजना घोषणा नगरेकोले केही समयका लागि स्थिति अनिश्चित भएको थियो, जसले “फसेका अन्तरिक्ष यात्री” भन्ने अफवाहहरूलाई बल दिएको थियो। तर, अन्ततः उनीहरूको सुरक्षित फिर्ता योजना तय गरियो।

फिर्ता योजना

विलियम्स र विलमोर लेस्पेसएक्स क्रू ड्रागन मार्फत फेब्रुअरी २०२५ मा पृथ्वीमा फर्कने योजना छ। उनीहरूसँगै गत सेप्टेम्बरमा आईएसएसमा पुगेका क्रू-९ मिशनका दुई अन्तरिक्ष यात्रीहरू पनि हुनेछन्।

आईएसएसमा आवश्यक सबै आपूर्ति प्रशस्त मात्रामा उपलब्ध रहेको र जसले सबै अन्तरिक्ष यात्रीहरूको निर्धारित फिर्ता मितिसम्मको आवश्यकताहरू पूरा गर्न सक्ने नासाले यसअघि नै पुष्टि गरेको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ३० कार्तिक २०८१, शुक्रबार