Technology Khabar २९ कार्तिक २०८१, बिहीबार
काठमाडौं ।
विश्वको अग्रणी ई–कमर्स कम्पनी अमेजनले साइबर हमलाका कारण आफ्ना कर्मचारीको डाटामा कम्प्रोमाइज भएको अर्थात् गलत हातमा गएको बताएको छ। रिपोर्टका अनुसार यो आक्रमण तेस्रो-पक्ष विक्रेतामा भएको थियो। जसका कारण कर्मचारीहरुको इमेल, फोन नम्बर, भवनको स्थान आदि जस्ता सम्पर्क जानकारी लिक भएको छ ।
तर, कम्पनीले एडब्लुएस (AWS) अर्थात अमेजन वेब सर्भिसेज (Amazon Web Services) वा यसको मुख्य प्रणालीलाई आक्रमणले कुनै असर नपरेको बताएको छ। यो आक्रमण मूभईट ट्रान्सफर (MOVEit) सँग सम्बन्धित भनिएको छ, जसले गत वर्ष विश्वभरका धेरै संस्थाहरूलाई आफ्नो शिकार बनाएको थियो।
मूभईट ट्रान्सफर के हो
यो एक प्रकारको कमजोरी हो, जसले विश्वभरका कम्पनीहरूमा घुसपैठ गरी संवेदनशील डाटा प्राप्त गर्यो। यस प्रकारको जोखिम फाइल स्थानान्तरण मार्फत कम्पनीहरूको सर्भरमा प्रसारित हुन्छ।
मिडिया रिपोर्टका अनुसार नेम३एल३एसएस (Name3L3ss) नामक कथित ह्याकिङ समूहले चोरीको डाटा ब्रीचफोरममा लीक गरेको थियो। मूभईट ट्रान्सफरको शिकार हुने अमेजन पहिलो कम्पनी होइन।
रिपोर्टकाअनुसार एचपी र एचएसबीसी जस्ता कम्पनीहरूले पनि यससँग संघर्ष गरेका छन्।
अमेजनका प्रवक्ता एडम मोन्टगोमेरीले भनेअनुसार, यस उल्लंघनका कारण अमेजनका मुख्य प्रणालीहरू जस्तै अमेजन र एडब्लुएस प्रणालीहरूमा कुनै असर परेको छैन।
कम्पनीका अनुसार कामसँग सम्बन्धित सम्पर्क विवरणहरू मात्र साइबर आक्रमणकारीहरूमा पुगेको छ। यसको मतलब, अमेजनका कर्मचारीहरूको कार्यालयको इमेल, डेस्क फोन नम्बर र भवन ठेगानाहरू लीक भएका छन्। यद्यपि कम्पनीले आफ्ना कति कर्मचारी यस डाटा चोरीको सिकार भएका छन् भन्ने खुलाएको छैन।
प्रकाशित: २९ कार्तिक २०८१, बिहीबार