Technology Khabar २८ कार्तिक २०८१, बुधबार
काठमाडौं ।
संसारलाई सहज बनाएको इन्टरनेट र मोबाइलले बालबालिकाको शिक्षण सिकाइमा प्रतिकूल असर गरिरहेको छ। धेरै जसो समय मोबाइलमा रमाउँदा बालबालिकाको आफ्नो सिर्जनशीलता घट्दै गएको हो।
अहिले हात हातमा स्मार्ट मोबाइल छ, घर घरमा वाइफाई जोडिएका छन्। त्यसले आधुनिक सञ्चारलाई सहज बनाए पनि बालबालिकाको सिकाइ उपलब्धिमा भने हास ल्याइरहेको शिक्षकको बुझाइ छ।
सिक्ने उमेरमा बालबालिका मोबाइलमा रमाउँदा उनोहरूको आफ्नो सिर्जनशीलता घटिरहेको धनगढीस्थित नवज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक खगेन्द्र भण्डारीले बताए। उनले भने, “मोबाइलले विद्यार्थीको शिक्षण सिकाइमा निकै नकारात्मक असर गरिरहेको छ। यो गम्भीर र ठूलो चुनौतीको विषय हो।”
घरघरमा वाइफाई पुग्न थालेपछि बालबालिकाले आआफ्नो अभिभावकको मोबाइलसँग समय बिताउन थालेका छन्। खाना खाने बेलासमेत बालबच्चाले मोबाइल हेर्ने, गेम खेल्नेक्रम बढ्दो छ। बालबालिकाले मोबाइलमा ध्यान दिन थालेपछि शिक्षकले सिकाएका कुरा मात्रै नभई गृहकार्य गर्नसमेत बिसने गरेको शिक्षकको बुझाइ छ।
प्रधानाध्यापक भण्डारी भन्छन्, “पहिले हामो गृहकार्य सकेर घरमा किताब पढ्ने गर्दथ्यौँ तर अहिले त्यस्तो छैन, विद्यार्थी घर पुग्नेबित्तिक्कै मोबाइल खोज्ने गर्छन्। यहाँसम्मको निबन्धलगायत विभिन्न कुरा गुगलमा खोजेर कपोमा सार्न थालेका छन्।”
अहिले कसैको बालबालिका मोबाइल खेलाउनबाट अछुतो छैनन्। कतिपय बालबालिका मोबाइल बोकेर विद्यालय नै पुग्ने गरेका छन्। विद्यालयमा मोबाइल लिएर आएका विद्यार्थीको मोबाइल थुतेर उनीहरूका अभिभावकको जिम्मा लगाउने र सम्झाउने कार्य पनि गर्ने गरेको भण्डारोले बताउनुभयो।
मोबाइलसँग रमाउने बानीका कारण बालबालिकाले घरमा पुस्तक पल्टाउ नै छोडिसकेको कैलारी गाउँपालिकाका शिक्षा शाखा प्रमुख गणेशप्रसाद मिश्र बताउँछन्। उनले थपे, “मोबाइल हेर्दा पनि उनीहरूले दुरुपयोग गरिरहेका छन् । अहिले कसैको बच्चा मोबाइलबाट टाढा छैनन्। हामी सबैको बच्चाले मोबाइल खेलाइरहेका छन्।”
इन्टरनेट, सञ्चार, प्रविधिका कुरा सिक्नका लागि कक्षा ११ र १२ का विद्यार्थीका लागि मोबाइल उपयुक्त रहे पनि त्योभन्दा तल्लो कक्षाका विद्यार्थीलाई मोबाइल दिनै नहुने मिश्रको बुझाइ छ। उनले आफ्नो पालिकाका सबै विद्यालयमा विद्यार्थीले मोबाइल बोक्न निषेध गरेको जानकारी दिए।
उनले भने, “कसैले लुकाएर ल्याउँछ भने त्यो बेग्लै कुरा हो। होइन भने विद्यालयमा विद्यार्थीले मोबाइल ल्याउन हामीले बन्देज गरेका छौं तर लुकोछिपी घर गएर चलाइरहेका छन्। त्यो कन्ट्रोल गर्न सकिने अवस्था छैन।”
अदूरदृष्टिको समस्या बढ्दो
बालबालिकाको स्क्रिन समय बढ्दा शिक्षण सिकाइमा मात्रै नभई उनीहरूको आँखामासमेत गम्भीर असर परिरहेको छ। स्क्रिन हेरेकै कारण अहिले बालबालिकामा अदूरदृष्टिको समस्या बढ्दो रहेको सुदृष्टि आँखा उपचार केन्द्र धनगढीका वरिष्ठ दृष्टि विशेषन डा. सावित्री भट्टले बताइन्।
उनले लामो समय स्क्रिन हेर्नु बालबच्चालाई धेरै घातक रहेको उल्लेख गरिन्। उनले थपिन्, “विशेष गरेर कोभिडको समयमा भर्चुअल कक्षा सुरु भयो। त्यस बेलादेखि बालबच्चाको स्क्रिन समय अलि बढेको देखिन्छ। त्यसले बच्चामा अदूरदृष्टि, आँखा सुक्खा हुने, पढ्न मन नलाग्ने समस्या बढ्दो देखिएको छ। सानो सानो बच्चामा अझ बढो समस्या छ।”
विशेषज्ञका अनुसार जन्मेदेखि सात वर्षसम्म बालबालिकाको आँखाको विकास हुने समय हो। यो बेला स्क्रिनमा बढी समय बिताए आँखाको विकासमा नै असर पर्ने गर्छ।
आधुनिक युगमा प्रविधिबाट पछाडि हट्न नसकिने भएकाले विशेषज्ञबाट आँखाको सुरक्षा गर्ने लेन्स सबैले लगाउन आवश्यक रहेको वरिष्ठ दृष्टि विशेषन भट्टको जोड छ।
आजको गोरखापत्रबाट
प्रकाशित: २८ कार्तिक २०८१, बुधबार