इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामाग्रीहरुको प्रदर्शनी ‘फिन इलेक्ट्रो टेक २०२४’ कार्तिक २९ देखि आयोजना हुने

Technology Khabar २७ कार्तिक २०८१, मंगलवार

इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामाग्रीहरुको प्रदर्शनी ‘फिन इलेक्ट्रो टेक २०२४’ कार्तिक २९ देखि आयोजना हुने
Global IME Bank

काठमाडौं ।

विद्युतीय व्यवसायी महासंघको आयोजनामा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामाग्रीहरुको अन्तर्राष्ट्रिय स्तरको बृहत प्रदर्शनी एवं गोष्ठीको एघारौं संस्करण ‘फिन इलेक्ट्रो टेक २०२४’ प्रदर्शनी आयोजना हुने भएको छ।

ट्रान्सवेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित यो प्रदर्शनी कार्तिक २९ देखि मंसिर २ गतेसम्म काठमाडौंको भृकुटीमण्डप स्थित प्रर्दशनीहलमा आयोजना हुने आयोजकले जनाएको छ।

आम उपभोक्तालाई पनि नवीनतम र गुणस्तरीय सामग्री प्रयोगमा जनचेतना जगाउने उद्देश्यका साथ यस वर्ष ”प्रविधिको नयाँ आयाम, विद्युतीय सामग्रीमा सुरक्षा र गुणस्तर कायम“ को नारा लिएर ”फिन इलेक्ट्रो टेक २०२४“ को आयोजना हुन लागेको हो।

राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक उर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यवसायिक प्रवर्धन गर्नुको साथै यी उद्योगमा भएका नविनतम उपलब्धीहरू बारे सूचना आदान–प्रदान गर्ने तथा उपभोक्ता वर्गमा उर्जाको व्यवस्थित खपतको महत्वबारे जानकारी अद्यावधिक गराउन सहयोग पुर्याउने यो संस्करणको लक्ष्य रहेको आयोजकको भनाई छ।

कार्यक्रममा उद्योगी, व्यवसायी एंव उद्यमीहरू माझ अनुकुल व्यवसायिक वातावरणको सम्भावनालाई प्रस्तुत गर्नुको साथै उपभोक्ता हकहित सम्बन्धी जन चेतनामूलक कार्यक्रमहरु प्रदर्शनी अवधी भरी सञ्चालन गरिने छ।

आयोजकका अनुसार प्रदर्शनी हलभित्र ४४ वटा ब्लकहरु, २८ स्टलहरु रहेको एक प्याभिलिएन रहेको छ र हल बाहिर डोममा २६ वटा स्टलहरु रहेका छन्। यस पटक फिन इलेक्ट्रो टेक २०२४ मा भारतीय वाणिज्य विभागको सहयोगमा भारतीय चेम्बर अफ कमर्सले हलभित्रको २८ स्टलहरु रहेको प्याभिलिएनमा इन्डिया पावर शोको लागि भारतीय उद्योगी एवं व्यवसायीहरुले बुकिङ्ग गरेका छन्।

जम्मा ९८ वटा प्याभिलियन तथा स्टलहरु रहेको प्रदर्शनीमा नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीहरुको उत्पादनहरु, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामाग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनीक प्रकारका स्वीचहरु, एलिडी लाइटिङ्गसम्बन्धी सामग्री हुनेछन्।

यस्तै इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक उर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शन गरिनेछ।

प्रदर्शनीमा अधिकांश सहभागी संस्थाहरूले उपभोक्ताहरूसंग प्रत्यक्ष अन्तक्र्रिया गरी आफ्ना उत्पादनहरू बारे जानकारी दिनेछन् भने अवलोकन कर्ताको सहजता तथा खरिद गर्न रुचाउने आगन्तुकहरुका लागि छुट्टै सेल्स एरियाको व्यवस्था गरिएको छ।

प्रदर्शनीमा स्वदेशी लगायत भारत, चिन, जापान, ताइवान, फ्रान्स, स्पेन, मलेसिया, जर्मनी, इटाली, अष्ट्रेलिया आदिका विभिन्न इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सम्बन्धी ब्राण्डहरुको सहभागिता रहने छ।

प्रदर्शनीका क्रममा विभिन्न विषयमा गोष्ठी, कार्यपत्र प्रस्तुति तथा अन्तक्र्रिया कार्यक्रमहरू सञ्चालन हुने बताइएको छ।

 

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २७ कार्तिक २०८१, मंगलवार