Technology Khabar २६ कार्तिक २०८१, सोमबार
काठमाडौं ।
स्पेसएक्सले आफ्नो अर्को स्टारशिप परीक्षण उडान नोभेम्बर १८ मा गर्ने योजना बनाएको छ जसमा अघिल्लो अक्टोबर उडानपछि केही सुधार गरिएको छ। कम्पनीले नोभेम्बर ६ मा यो छैंठौं संयुक्त स्टारशिप/सुपर हेभी उडानलाई टेक्सासको बोका चीका स्थित स्टारबेसबाट नोभेम्बर १८ को दिउँसोमा सुरु गर्ने योजना बनाएको घोषणा गरेको हो।
यो घोषणासँगै संघीय उड्डयन प्रशासन (एफएए) ले उक्त उडानका लागि हवाई क्षेत्रको प्रतिबन्धको जानकारी पनि सार्वजनिक गरेको थियो।
स्पेसएक्सले आउँदो उडानलाई “जहाज र बूस्टरको क्षमताहरूलाई विस्तार गर्दै सम्पूर्ण प्रणालीको पुन:प्रयोगलाई सम्भव बनाउन नजिक पुग्ने” उद्देश्य राखेको बताएको छ। यो उडानले अक्टोबर १३ को अघिल्लो उडान जस्तै उपकक्षीय मार्ग अनुसरण गर्नेछ जसमा सुपर हेभी बूस्टरलाई लन्च साइटमा “क्याच” गर्ने प्रयास गरिने स्पेसन्युज डटकममा उल्लेख छ।
यस पटकको उडानमा नयाँ परीक्षण समावेश गरिएको छ जहाँ स्टारशिप को एउटा र्याप्टर इन्जिनलाई उडानका क्रममा पुन: प्रज्वलित गरिनेछ, जसले भविष्यका कक्षीय मिसनहरूमा ‘डीअर्बिट बर्न’ प्रदर्शन गर्न सक्ने क्षमता देखाउनेछ।
समाचारका अनुसार स्पेसएक्सले यसअघि मार्चमा तेस्रो उडानमा यस्तो परीक्षण गर्ने योजना बनाएको थियो तर त्यसबेला इन्जिन रोलको कारणले गर्दा परीक्षण नगर्ने निर्णय गरेको थियो।
स्पेसएक्सले स्टारशिप को थर्मल प्रोटेक्सन प्रणालीमा पनि सुधार गर्नेछ। “फ्लाइट परीक्षणले नयाँ थर्मल प्रोटेक्सन सामग्रीहरूको मूल्यांकन गर्नेछ र जहाजको दुवै छेउमा केही गर्मी प्रतिरोधक टाइलहरू हटाइनेछ, जसले भविष्यका जहाजहरूमा क्याच-सक्षम हार्डवेयरको अध्ययन गर्नेछ” कम्पनीले बताएको छ। स्पेसएक्स को योजना अन्ततः स्टारशिप लाई सुपर हेभी बूस्टर जस्तै लन्च टावरबाट “क्याच” गरेर पुन:प्रयोग गर्न सक्ने बनाउने हो।
स्टारशिप अन्तिम अवतरणको क्रममा उच्च कोणमा उडान गर्नेछ, जसले भविष्यका अवतरण प्रोफाइलहरूको लागि डेटा सङ्कलन गर्ने उद्देश्यले फ्ल्याप नियन्त्रणको क्षमताको परीक्षण गर्नेछ।
यस पटकको पुन:प्रवेश अवलोकनलाई सुधार गर्न स्पेसएक्सले यस उडानको लन्च समय परिवर्तन गरेको छ। अघिल्ला उडानहरू बिहान भएको भए पनि, यस पटक ५ बजे ईटी बाट ३०-मिनेटको लन्च विन्डोमा सुरु गरिनेछ। यसले गर्दा स्टारशिपको अन्तिम अवतरण अघिल्लो उडानको जस्तै रातमा नभएर हिन्द महासागरमा दिउँसोको समयमा हुने बताइएको छ।
स्पेसन्युज डटकमका अनुसार स्पेसएक्सले सुपर हेभी बूस्टरमा पनि सुधार गरेको छ। कम्पनीले बूस्टरको प्रोपल्सन प्रणालीलाई मजबुत बनाउँदै संरचनात्मक बलमा सुधार गरेको र पुन: प्रयोग पछि इन्धन निकाल्ने प्रक्रियाको समय घटाएको जनाएको छ। इन्जिनियरहरूले बूस्टरको लन्च र पुन:प्रवेशका लागि सफ्टवेयर नियन्त्रण र निर्णय मापदण्डमा पनि परिवर्तन गरेका छन्।
स्पेसएक्स का प्रमुख कार्यकारी इलन मस्क ले अक्टोबर २५ मा पोस्ट गरेको एक छोटो अडियो रेकर्डिङमा स्पेसएक्स अधिकारीहरूले अघिल्लो सुपर हेभी क्याचको क्रममा र्याप्टर इन्जिनको मिसकन्फिगरेसनका कारण एक सेकेन्डको अन्तरमा रद्द गर्न पुगेको बताएका थिए।
क्याच प्रयासमा नयाँ रद्द गर्ने मापदण्ड र निर्णय मापदण्डहरू समावेश गरिएका थिए, जसलाई उडान अघि पूर्ण रूपमा परीक्षण गर्न सकिएको थिएन। अब उक्त उडानको डाटा समीक्षा गरी आवश्यक परिवर्तन गरिएको छ।
यदि आगामी उडान वर्तमान तालिकामा कायम रह्यो भने स्टारशिप/सुपर हेभी परीक्षण उडानहरूको बीचको सबैभन्दा छिटो अर्थात जम्मा पाँच हप्ताभन्दा थोरै बढी समयमा पुनरागमन हुनेछ।
स्पेसएक्स यसरी छिटो अगाडि बढ्न सक्ने कारण एफएएले अक्टोबरमा जारी गरेको पाँचौं उडान अनुमतिले छैठौं उडानको लागि पनि अनुमति दिनु रहेको जनाइएको छ।
“स्पेसएक्स स्टारशिप/सुपर हेभी फ्लाइट५ अनुमतिले एफएए द्वारा फ्लाइट६ को मिसन प्रोफाइलको पनि स्वीकृति दिएको एफएएले अक्टोबर १२ मा घोषणा गरेको थियो।
एफएएले स्पेसएक्सले छैठौं उडानका लागि अनुरोध गरेको परिवर्तनहरू पहिल्यै विश्लेषण गरेको बताएको छ। एफएएले त्यो समयमा स्पेसएक्स ले अनुरोध गरेको परिवर्तनहरूको विस्तृत जानकारी भने खुलाएको थिएन।
प्रकाशित: २६ कार्तिक २०८१, सोमबार