एआईमा प्रयोग हुने चिप चीनमा निर्यात नगर्न टीएसएमसीलाई अमेरिकाको निर्देशन

Technology Khabar २६ कार्तिक २०८१, सोमबार

एआईमा प्रयोग हुने चिप चीनमा निर्यात नगर्न टीएसएमसीलाई अमेरिकाको निर्देशन
Global IME Bank

काठमाडौं ।

संयुक्त राज्य अमेरिकाले सोमबारदेखि ताइवान सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) लाई उन्नत चिपहरू चिनियाँ ग्राहकहरूलाई पठाउन रोक्न आदेश दिएको छ। यी चिपहरू प्रायः कृत्रिम बुद्धिमत्ता (एआई) को लागि प्रयोग हुन्छन्।

अमेरिकी वाणिज्य विभागले टीएसएमसीलाई चीनतर्फ पठाइने केही ७ न्यानोमिटर वा अझ उन्नत डिजाइन भएका एआई एक्सेलेरेटर र ग्राफिक्स प्रोसेसिङ युनिट्स (जीपीयू) चिपहरूमाथि निर्यात प्रतिबन्ध लगाउँदै पत्र पठाएको छ।

यो आदेश पहिलो पटक सार्वजनिक गरिएको हो र यो टीएसएमसीले वाणिज्य विभागलाई ह्वावेको एआई प्रोसेसरमा आफ्नो चिप फेला परेको जानकारी दिएको केही हप्तापछि आएको हो।

रोयटर्सका अनुसार गत महिनामा टेक अनुसन्धान कम्पनी टेक इन्साइट्सले उक्त उत्पादनको अध्ययन गर्दा टीएसएमसीको चिप फेला पारेको थियो जसले निर्यात नियन्त्रणको उल्लङ्घन भएको संकेत गर्छ।

अमेरिकी प्रतिबन्ध सूचीमा रहेको ह्वावेलाई कुनै पनि प्रविधि आपूर्ति गर्न आपूर्तिकर्ताहरूले इजाजत लिनुपर्छ। हुवावेको एआई प्रयासलाई सहयोग गर्नसक्ने कुनै पनि इजाजत प्रायः अस्वीकृत गरिने सम्भावना छ।

टीएसएमसीले चीनस्थित चिप डिजाइन कम्पनी सोफगोलाई चिप आपूर्ति रोकेको छ किनभने उक्त चिप ह्वावेको एआई प्रोसेसरमा फेला परेको चिपसँग मेल खाएको स्रोतहरूले गत महिनामा रोयटर्सलाई बताएका थिए।

रोयटर्सले ह्वावेको एसेन्ड ९१०बी प्रोसेसरमा २०२२ मा रिलिज गरिएको चिप कसरी पुग्यो भन्ने पत्ता लगाउन नसकेको उल्लेख गरेको छ। यो चिपलाई चीनको सबैभन्दा उन्नत एआई चिप मानिन्छ।

यस पछिल्लो कदमले थप कम्पनीहरूलाई प्रभावित गर्नेछ र अमेरिकी अधिकारीहरूलाई अन्य कम्पनीहरूले हुवावेका लागि चिप आपूर्ति गरिरहेका छन् कि छैनन् भन्ने आकलन गर्न सहयोग गर्नेछ।

यस पत्रको परिणामस्वरूप टीएसएमसीले प्रभावित ग्राहकहरूलाई सोमबारदेखि चिपहरू पठाउन रोकेको जानकारी दिएको ती व्यक्तिले बताएका छन्। अमेरिकी वाणिज्य विभागले यसबारे कुनै प्रतिक्रिया दिएको छैन।

“टीएसएमसीले निर्यात नियन्त्रण सम्बन्धी सरकारसँग नियमित छलफल गर्दै आएको छ र घरेलु तथा अन्तर्राष्ट्रिय नियमहरूको पालना गर्नेछ भनेर स्पष्ट पारेको छ,” ताइवानको अर्थ मन्त्रालयले रोयटर्सलाई दिएको एक विज्ञप्तिमा भनेको छ। थप प्रश्नहरू टीएसएमसीलाई सोध्न भनिएको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २६ कार्तिक २०८१, सोमबार