अमेरिकामा ट्रम्पको विजयपछि इलन मस्कको सम्पत्ति २६ अर्ब डलरले बढ्यो

Technology Khabar २५ कार्तिक २०८१, आईतवार

अमेरिकामा ट्रम्पको विजयपछि इलन मस्कको सम्पत्ति २६ अर्ब डलरले बढ्यो
Global IME Bank

काठमाडौं ।

अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको जितबाट इलेक्ट्रिक भेइकल (इभी) उत्पादन गर्ने ठूला कम्पनीहरू मध्ये एक टेस्ला तथा रकेट कम्पनी स्पेसएक्सका सीईओ इलन मस्कले धेरै फाइदा उठाएका छन्। ट्रम्पको विजयपछि मस्कको सम्पत्ति १२ प्रतिशतभन्दा बढीले बढेको छ । यस सम्पत्ति वृद्धिमा टेस्लामा रहेको उनको शेयरको ठूलो योगदान छ।

ब्लूमबर्ग बिलियनेयर इन्डेक्सलाई उद्धृत गर्दै मिडिया रिपोर्टमा मस्कको सम्पत्ति करिब २६.५ अर्ब डलरले बढेर २९० अर्ब डलर पुगेको बताइएको छ। ट्रम्पको चुनावी अभियानमा मस्कको महत्वपूर्ण भूमिका थियो। ट्रम्पलाई चन्दा दिनेहरूमा उनको प्रमुख स्थान थियो। यो जितपछि टेस्लाको शेयर मूल्य बढेको छ। चुनावमा ट्रम्पलाई समर्थन गरेका मस्कले यो जितबाट फाइदा लिन सक्ने लगानीकर्ताहरुको आशा छ।

अमेरिकामा नयाँ सरकारले ईभीहरुको लागि अनुदानमा कटौती गरेको अवस्थामा टेस्लाका प्रतिस्पर्धीहरूले ठूलो घाटा भोग्न सक्छन्। यसबाहेक ट्रम्पले चीनबाट आयात हुने सामानमा कर बढाउने योजना पनि बनाएका छन्। यसले अमेरिकामा चिनियाँ ईभी निर्माताहरूको बिक्रीमा ठूलो असर पार्न सक्छ।

ट्रम्पको विजयपछि गत बुधबार टेस्लाको स्टक १४ प्रतिशतभन्दा बढी बढेको छ। तर, अन्य इभी कम्पनीको शेयरमा भने भारी गिरावट आएको छ। टेस्ला अमेरिकाको ईभी बजारमा ४८ प्रतिशतभन्दा बढी हिस्साका साथ पहिलो स्थानमा छ।

टेस्लाले पछिल्ला केही त्रैमासिकहरूमा कठिनाइहरूको सामना गरेको छ। यो वर्षको पहिलो त्रैमासमा कम्पनीको बिक्री र नाफा दुवैमा कमी आएको छ। यसले चीनको बीवाईडी जस्ता इभी कम्पनीहरूबाट कडा प्रतिस्पर्धाको सामना गरिरहेको छ। तर, तेस्रो त्रैमासमा कम्पनीको नाफा करिब १७.३ प्रतिशतले बढेको छ।

टेस्लाको पूर्ण सेल्फ ड्राइभिङ सिस्टमको अमेरिकामा पनि अनुसन्धान भइरहेको छ। चुनावी अभियानका क्रममा ट्रम्पले आफू दोस्रो पटक अमेरिकाको राष्ट्रपति बनेमा मस्कलाई नयाँ विभागको जिम्मेवारी सम्हाल्न अफर गर्ने बताएका थिए, जसले कर्मचारीतन्त्रबाट आउने अवरोध न्यूनीकरण गर्न सकिन्छ।

मस्कले आफ्नो सम्पत्तिको ७५ प्रतिशत टेस्लाको सेयरबाट पाउँछन्। यससँगै मस्क स्पेसएक्स, सोसल मिडिया प्लेटफर्म एक्स (पहिलेको ट्विटर) र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सँग सम्बन्धित एक्सएआईका प्रमुख पनि हुन्।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २५ कार्तिक २०८१, आईतवार