Technology Khabar २३ कार्तिक २०८१, शुक्रबार
काठमाडौं ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँले अब राइड शेयरिङ क्षेत्रमा पनि हात हाल्ने भएका छन्। उनले आफ्नो नयाँ राइड शेयरिङ प्लेटफर्म सञ्चालनमा ल्याउने भएका हुन्।
केही वर्षअघि टूटलबाट शुरु भएको राइड शेयरिङ क्षेत्रमा हाल पठाओ र इनड्राइभ अग्रणी रुपमा रहेका छन्। पठाओ र इनड्राइभ दुवै विदेशी कम्पनीका राइड शेयरिङ प्लेटफर्म हुन्। राइडरहरुले पाउने रकमबाहेक उनीहरुले आम्दानी गरेको रकम सबै विदेशी कम्पनीमा पुग्छन्।
यसरी दैनिक यस्ता प्लेटफर्मले नेपालीहरुबाट आम्दानी गरेको करोडौं रुपैयाँ बिदेसिइरहेका कारण उक्त रकम नेपालमै रोक्ने उद्देश्यले प्रसाईँले स्वदेशी राइड शेयरिङ कम्पनी खोलेर सेवा शुरु गर्न लागेको बताइएको छ।
उनले ल्याउने राइड शेयरिङ प्लेटफर्मका चालकहरुले कमिशन तिर्नु नपर्ने उनको भनाई छ। नेपालका मोटरसाइकल तथा ट्याक्सी चालकहरूका लागि शून्य कमिसनको साथमा ‘दुर्गा’ राइड–शेयरिङ्ग प्लेटफर्मको सुविधा उपलब्ध हुने उल्लेख छ।
उनको राइड शेयरिङ प्लेटफर्म हाल नेपालमा चलिरहेको विशेषगरी पठाओ र इनड्राइभलाई टक्कर दिने उद्देश्य रहेको उनको प्लेटफर्मको नाराबाट प्रस्ट हुन्छ। उनको प्लेटफर्मको नारा छ, ‘अब PATHAO हो? होइन दुर्गा हो!!’
त्यसबाहेक उनले आफ्नो ब्यानरमा ‘दश हजार TAXI व्यवसायी र २ लाख BIKE RIDER हरुको लागी दुर्गा दाईको उपहार, गयर नाफामूलक LIFETIME ZERO REGISTRATION, ZERO COMMISSION’ उल्लेख गरेका छन्।
हाल नेपालमा चलेका इनड्राइभ र पठाओमा राइडरले रजिस्ट्रेशन गर्नुपर्ने र त्यसपछि प्रत्येक राइडमा निश्चित प्रतिशत सम्बन्धित कम्पनीमा कमिशनका रुपमा जाने व्यवस्थाको ठिक विपरीत दुर्गा एपमा भने रजिस्ट्रेशन गर्नु नपर्ने र कुनै पनि रकम कमिशन तिर्नु नपर्ने दाबी गरिएको छ।
प्रसाईँका अनुसार यो प्लेटफर्मको घोषणा आगामी मङ्सिर ७ गते काठमाडौँमा आयोजना हुने सभामा गर्ने तयारी गरिएको छ भने औपचारिक रुपमा अबको ४ महिनापछि शुरु हुनेछ। यसको मुख्य उद्देश्य नाफा कमाउनु नभई नेपाली ट्याक्सी चालक र बाइक राइडरहरूको सशक्तिकरण रहेको बताईएको छ।
प्रकाशित: २३ कार्तिक २०८१, शुक्रबार